मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ भदौ २८ सोमबार ०९:५६:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अफगानिस्तानमा जहाज कुर्दैै, नेपालमा परिवार बाटो हेर्दै

Read Time : > 3 मिनेट
२०७८ भदौ २८ सोमबार ०९:५६:००

अफगानिस्तानमा अलपत्र कैलाली फूलबारीका सूर्यबहादुर जिसीकी श्रीमती पार्वती  तिवारी भन्छिन्– दलालले पैसा खाएर अलपत्र पारे, अहिले ज्यान फर्किन पनि समस्या भयो

आकर्षक कमाइ हुने भनेपछि पाल्पा माडीका फत्तबहादुर थापा ६ महिनाअघि गत फागुनमा दुबई हुँदै अफगानिस्तान पुगे । काबुलमा पाइला टेक्न ऋण काढेर ११ लाख सकाए । केही महिनामै ऋणको बोझ घटाउने सपना देखेका उनी तब बेचैन भए, जब काम नै पाएनन् । 

उता फत्तबहादुर देश फर्किने निश्चित नहुँदा त्रासले निदाउन सकेका छैनन् । यता ११ लाख ऋणको ब्याज मात्रै बढिरहेको छैन, परिवारका सदस्यमा डरको ढुकढुकी बढिरहेको छ । तालिबानको नियन्त्रणमा रहेको काबुलबाट श्रीमान् घरका लागि छुटेको सुन्न आतुर छिन् हेमा । 

‘ऋणधन गरेको ११ लाख बुझाएर जानुभयो । हाम्रा पनि सुखका दिन आउलान्, केही त गरौँला भन्ने थियो,’ हेमाले भनिन्, ‘सोचेजस्तो हुने रै’नछ, ज्यान जोगाएर आइदिए यहीँ दुःख गरेर ऋण तिरौँला भन्ने भएको छ ।’ उनका अनुसार फोनमा फत्तबहादुरले भन्ने गर्छन्– सुरक्षित छु, अब फाट्टफुट्ट जहाज चल्न थालेका छन्, केही दिनमा आउन पाइन्छ होला, चिन्ता नलिनू । ‘तर, कहाँ ढुक्क हुन्छ र मन ? नआउँदासम्म ढुक्क हुन सकिँदो रहेनछ,’ हेमाले लामो सास फेरिन् । 

थापादम्पतीका दुई छोरी छन् । कक्षा ९ र ६ मा अध्ययनरत उनीहरू पनि अफगानिस्तानको पछिल्लो घटनाक्रमबारे जानकार रहेको र बुबाबारे बारम्बार चिन्ता र चासो राख्ने गरेको हेमाले बताइन् । तनहुँका मनबहादुर गुरुङले अफगानिस्तान जान १५ लाख खर्चिए । उनलाई पनि आकर्षक कमाइ हुने आश्वासन थियो । आठ महिनाअघि पुगेका उनले केही महिना राम्रै काम पनि पाए । तर, अफगानिस्तानमा विकसित राजनीतिक परिस्थितिले जागिर मात्रै जोखिममा परेन, ज्यान जोगाउनु मुख्य चुनौती बनेको छ ।

 तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि विदेशी नागरिक धमाधम स्वदेश फर्किएका छन् । तर, मनबहादुरलगायत केही नेपाली जहाज चलेपछि फर्किने पर्खाइमा छन् । उता जहाज कुरेर बसेका मनबहादुर र यता श्रीमान् आउने बाटो हेरेर बसेकी अनिताबीच दिनमै पटक–पटक कुरा हुने गरेको छ । ‘कुरा त भइरहेकै छ । केहीबेरअघि पनि भएको हो । ठिकै छु, जहाज खुलेपछि आउँछु भन्नुहुन्छ,’ शुक्रबार अनिताले नयाँ पत्रिकासँग भनिन्, ‘तर, उता केही अप्ठ्यारो परे पनि हामीलाई लुकाउनुभयो कि भन्ने लाग्छ । आवाज सुनेपछि केहीबेर भए पनि मन अलि शान्त हुन्छ, नत्र श्रीमान्कै पिरले सताउँछ ।’१५ लाख ऋणको बोझ सामान्य होइन । तर, जीवनको अगाडि ऋण मामुली हो । अनिता भन्छिन्, ‘उहाँ (श्रीमान्) छिट्टै आइदिए ढुक्क हुन्थ्यो, ऋण त बरु तिर्दै गरौँला ।’ 

तनहुँकै प्रकाश थापा पनि अफगानिस्तानमा छन् । उनले आफू सुरक्षित रहेकाले चिन्ता नलिन परिवारलाई भनिरहेका छन् । तर, दैनिक पढिने र सुनिने अफगानिस्तानको समाचारले परिवारका सदस्य ढुक्क हुन सक्दैनन् । ‘बम पड्कियो । यति मारिए, उति मारिए भन्छन् । उहाँ सञ्चै छु, समस्या छैन, तिमीहरू आत्तिनुपर्दैन भन्नुहुन्छ,’ प्रकाशकी श्रीमती मनु भन्छिन्, ‘अब चार–पाँच दिनमा आउँछु भन्नुभएको छ, तर कहिले आउनुहुन्छ थाहा छैन ।’ 

कैलाली फूलबारीका सूर्यबहादुर जिसी अफगानिस्तानस्थित युएन कार्यालयमा सेक्युरिटी गार्डको काम पाइयो भन्दै परिवारसँग बिदा भएर गत माघमा उडेका थिए । दलालको विश्वासमा लागेर १५ लाखभन्दा बढी बुझाएर उडेका उनी अफगानिस्तान त ओर्लिए, तर काम नपाएर अलपत्र परे । ६ महिनासम्म काम नपाएर अलपत्र उनी अहिले जोखिमपूर्ण अवस्थामा समेत घर फर्किन पाएका छैनन् । यता परिवार बेचैन छ ।

‘काठमाडौंको शिखर म्यानपावरले दुबई हुँदै अफगानिस्तान पठाएको हो । म्यानपावर कम्पनीलाई बुझाउन भनेर घरबाट १० लाख रुपैयाँ लिएर जानुभएको थियो । उसले मासिक एक लाख २० हजार रुपैयाँ तलब र ६–६ महिनामा कम्पनीकै टिकटमा घरबिदामा आउन पाइने भनेको रहेछ । तर, अफगानिस्तान पुगेपछि काम नै पाउनुभएन । अलपत्र उहाँ काबुलको रोसन प्लाजा होटेलमा बस्नुभयो,’ श्रीमती पार्वती तिवारीले नयाँ पत्रिकासँग भनिन्, ‘दलालले काम पाइन्छ भनेर झुलाइरह्यो । त्यहीबीचमा उताको दलालले चार लाख रुपैयाँ मागेपछि मैले गत चैतमा आफन्तसँग ऋण सापटी मागेर पठाइदिएँ, तर अझै पनि काम पाउनुभएन । त्यसपछि मैले विदेश पठाउने थानेश्वर पोखरेललाई फोन गरेर बरु नेपालमै फिर्ता ल्याइदिनू भनेँ । तर, उनले काम पाइन्छ, नआत्तिनु भनिरहे । गत जेठमा थप पैसा मागेपछि फेरि एक लाख ७० हजार पठाइदिएँ, तैपनि काम पाउनुभएन । अति भएपछि मैले कानुनी प्रक्रिया सुरु गर्छु भनेपछि उनले जे पनि हुन सक्छ भन्दै धम्क्याउन थाले । 

१५ लाख ७० हजार खर्च भइसक्दा पनि काम नपाएपछि र काबुल अशान्त बन्दै गएपछि सूर्यबहादुरले घर फर्किने निधो गरे । जहाज पाइने आसमा १० भदौमा काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा पुगे, तर जहाज पाएनन् । धन्न, उनीसहित नेपाली टिम त्यही दिन विमानस्थलबाट केही पर धर्मशालामा फर्किएकाले सम्भावित दुर्घटनाबाट जोगिए । किनभने उनीहरू फर्किएको केही घन्टापछि विमानस्थल परिसरमा विस्फोट भएको थियो । विस्फोटमा करिब दुई सयले ज्यान गुमाएका थिए । 

‘उहाँ फर्किएको केही घन्टापछि काबुल विमानस्थलमा विस्फोट भएछ । भाग्यले जोगिनुभयो । अहिले युएनले उद्धार गरेर ५२ नेपालीलाई एउटा क्याम्पमा राखेको छ रे,’ श्रीमान्ले उताबाट दिएको जानकारी सुनाउँदै पार्वतीले भनिन्, ‘आफ्ना अलपत्र नागरिकलाई सरकारले नै उद्धार गरेर ल्याउनुपर्ने हो । त्यहाँ लडाइँ भइरहेको छ । के पो होला भनेर हामी चिन्तामा छौँ ।’ 

श्रीमान् आर्थिक समस्यामा पनि रहेको उनले बताइन् । ‘त्यत्रो पैसा बुझाइयो, तर काम पाइनुको साटो उल्टै स्वदेश फर्कनसमेत नपाउने अवस्था आयो । श्रीमान्सँग कहिलेकाहीँ कुराकानी भइराख्छ । आज बिहान पनि कुरा भएको थियो । उहाँसँग पैसा नभएपछि साउदीमा रहेका हाम्रै गाउँका भाइहरूले मोबाइलमा रिचार्ज गर्दिनुहुन्छ र कुराकानी हुन्छ ।’ 


कास्कीको पोखरा– १७ बिरौटाका दुर्गाप्रसाद श्रेष्ठ पाँच महिनादेखि अगफानिस्तानमा छन् । ऋणधन गरेर गएका उनलाई पनि सोचेजस्तो भएन । अहिले देश कसरी फर्किने भन्ने चिन्ता छ । परिवारका सदस्य धेरै बोल्न धक मान्छन् । सरकारले के नै गर्छ र भन्छन् । 

‘उहाँ (श्रीमान्) गएको धेरै भएको छैन । ऋणधन गरेर जानुभयो । अहिले पैसाभन्दा पनि उहाँ सुरक्षित रूपमा छिटो गरेर आइदिए हुन्थ्यो । श्रीमान् रहेको भूमिमा बम पड्किरहेको छ, घरपरिवारमा कसरी शान्ति हुन्छ र ?’ लक्ष्मी श्रेष्ठले भनिन्, ‘पीडा सुनाउँदैमा पनि कसैले केही गरिदिने होइन क्यारे ।’

पोखराका लालबहादुर रानामगर र रमेश गुरुङ पनि अफगानिस्तानबाट देश फर्किन जहाजको प्रतीक्षामा छन् । उनीहरूले पनि सुरक्षित रहेको खबर परिवारलाई गरिरहेका छन् । तर, घर नफर्केसम्म आफन्तको मनबाट चिन्ता हट्न सकेको छैन । सबैका परिवारका सदस्यको एउटै शंका छ– उता गाह्रो–अप्ठ्यारो परे पनि हामीलाई चिन्ता पर्ला भनेर राम्रो छ भनिरहेका पो हुन् कि ? 

करिब नौ सय फर्किए,  सयजना बाटोमा 
अफगानिस्तानबाट उद्धार भएर अहिलेसम्म करिब नौ सय नेपाली स्वदेश फर्केका छन् । परराष्ट्रका अधिकारीहरूका अनुसार सयजना भने विभिन्न मुलुकका पारगमन बिन्दु (ट्रान्जिट प्वाइन्ट)मा छन् । करिब एक हजार नेपालीले काबुल छाडेका छन् । ‘काबुलमा उद्धारको पर्खाइमा रहनुभएका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको छ,’ परराष्ट्र मन्त्रालयद्वारा जारी पछिल्लो विज्ञप्तिमा भनिएको छ । काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल अहिले ठप्पजस्तै छ । अमेरिकाले ११ दिनअघि आफ्ना सबै फौज र स्टाफ फिर्ता गरेसँगै काबुल विमानस्थल सहज रूपमा सुचारु भएको छैन ।