ब्रेक्जिट । बेक्जिट ? बेक्जिट ! नर्वे प्लस ! क्यानडा माइनस ? कुपर संशोधन ! माल्टहाउस सम्झौता ? केली विल्सन संशोधन ! हार्ड ब्रेक्जिट ! सफ्ट बे्रक्जिट ! ब्रेक्जिटर ! बे्रक्जिट !!??
युरोपियन युनियन (इयू)बाट बेलायत अलग हुने समयसीमा अर्थात् मार्च २९ आउन केही हप्ता मात्रै बाँकी रहँदा बेलायतमा यस्ता मिश्रित आवाज जोडतोडका साथ गुन्जिरहेका छन् । ‘बे्रक्जिट’ शब्दजालको पक्षमा झन्डै तीन वर्षअघि मतदान हुँदा यसको अनियन्त्रित भुमरीले यसरी सबैलाई गाँज्यो, जसकारण विश्वमा भइरहेका अन्य मुद्दा बेलायती राजनीतिमा प्रवेश गर्न सकेनन् । ब्रेक्जिटबारे बेलायतका ठूला राजनीतिक दल यतिवेला विभाजित छन् । सबै अन्योलमा फसेका छन् । अब के हुन्छ भन्ने संकेत यतिवेला कोहीसँग छैन ।
सन् २०१६ मा इयूबाट बेलायत अलग हुनुपर्ने अभियान चलाएका राजनीतिज्ञहरूले ‘सम्पूर्ण समस्याको एक मात्र अचुक समाधान ब्रेक्जिट हो’ भनी वकालत गरे । युरोपेली जन्जिरबाट निस्किएपछि बेलायतमा पैसाको खोलो बग्छ, समस्या हट्छ, बालबच्चा झनै सुन्दर हुन्छन्, माटो अझै समृद्ध हुन्छ, बेलायत अझै बलियो हुन्छ भनी जोडतोडका साथ अनेक सपना बेलायती नागरिकलाई बाँडिए । आजसम्म आइपुग्दा कल्पनाले भरिएको यो सपना नागरिकको बुझाइभन्दा बाहिर पुगेको छ । बे्रक्जिटको वकालत गर्नेले बोलेका शब्द अहिले बुझ्न सकिने अवस्थामा छैनन् । यद्यपि, बे्रक्जिट शब्दजालको अन्त्य अझै भइसकेको छैन ।
‘छाडेर हिँड्नु र कतै जानु एउटै कुरा होइन,’ बेलायती प्रधानमन्त्री थेरेसा मेको सरकार छाडेका कन्जर्भेटिभ पार्टी सदस्य तथा मे मन्त्रिमण्डलका तत्कालीन मन्त्री साम गाइमाले मलाई भने, ‘हामी कहाँ जाने भन्नेमा कोही पनि सहमत हुन सकेको छैनौँ ।’ गत महिना संसद्बाट अस्वीकृत भएको प्रधानमन्त्री मेको बे्रक्जिट प्रस्ताव केबल भ्रामक तथा कच्चा थियो । युरोप र इयूको सम्बन्ध कस्तो हुने भन्ने विषय आउँदो दुई वर्षभित्र टुंगो लगाइने उनको प्रस्ताव छ । यसैगरी, इयूसँगको व्यापार तथा कर व्यवस्था, एकल बजार, आयरल्यान्ड–बेलायत सीमाजस्ता मुद्दा मेको प्रस्तावले सुल्झाउन सकेन ।
अहिले यी मुद्दा समेट्न उनी ठूलो कसरत गरिरहेकी छन् । मेले प्रस्ताव गरेको ब्रेक्जिट सम्झौताको धारा ७ अनुसार युरोपेली युनियन कानुनलाई संयुक्त अधिराज्य बेलायतलाई पनि समावेश गरेर बुझ्नुपर्ने उल्लेख छ । इयूको निर्णय लिने, इयूका निकाय तथा कार्यालय सञ्चालनमा मात्र बेलायत सरिक नहुने सो धारामा उल्लेख छ । अर्को शब्दमा भन्नुपर्दा, बेलायतले आफ्नो आवाज, हैसियत, मत तथा भिटो गुमाए पनि इयूकै नियममा बाँधिने भन्ने अर्थ मेको प्रस्तावले दिन्छ ।
इयूकै परिधिमा बाँधिने हो भने इयूबाट बाहिरिने नाममा गरिने सम्झौताको वास्तविक अर्थ के हो त ? ब्रेक्जिटको विपक्षमा रहेका लेबर पार्टीका सांसद प्याट मिकफडेनका अनुसार मेको यस्तो सम्झौताले बेलायतको सम्प्रभूता स्वेच्छाले इयूलाई हस्तान्तरण गरेको ठहरिनेछ ।
इयूमाथि दबाब दिने उद्देश्यले सन् २०१६ मा ब्रेक्जिटरहरूले बेलायतले आफ्नो निणन्त्रण फिर्ता लिनुपर्ने भन्दै नारा लगाए । वास्तवमा, अहिलेको स्थितिमा मे सरकारले इयूसँगको कुनै सम्झौताविनै बाहिरिनुपर्ने विषम परिस्थितिमा बेलायतलाई फस्न नदिन कुनै वैकल्पिक प्रस्ताव लिएर आउन सक्नुपथ्र्यो । बेलायतको सम्पूर्ण राजनीतिक शक्ति बे्रक्जिटले लिइरहँदा बेलायतलाई यस्तो विकल्पको खाँचो छ ।
इयूसँगको सम्झौताको अभाव वा ढिलाइले गर्दा मार्च २९ मा बेलायत दुर्घटनाग्रस्त भएर इयूबाट बाहिरिनुपर्ने हुन्छ । मे पार्टीका कट्टरपन्थी टोरीहरू यस्तै अकल्पनीय दुर्घटना निम्त्याउने पक्षमा देखिन्छन् । यीमध्ये धेरै युरोपेली रिसर्च ग्रुपका सदस्य छन् भने ब्रेक्जिटको वकालतमा पहिले देखिएको उत्साह अहिले यिनीहरूमा छैन । यसैबीच, बहुराष्ट्रिय कम्पनीले चालेको पछिल्लो कदमलाई पनि टोरी समूहले देखेको छैन ।
होन्डाले हालै मात्र बेलायतको विन्डनस्थित आफ्नो उत्पादन प्लान्ट बन्द गर्ने घोषणा गरेको छ । बन्द गर्नुको कारण उसले ब्रेक्जिटलाई देखाएको छ, जसबाट तीन हजार पाँच सयको रोजगारी गुमेको छ । यसैगरी, घट्दो नाफा र लगानीलाई देखाउँदै निसानले पनि खर्च कटौती गरेको छ । यी कम्पनीको घोषणाले पनि बेलायत अनिश्चिततातर्फै मोडिएको संकेत गर्दछन् । यस्तो स्थितिमा इयूसँग कुनै सम्झौताविनै बेलायत अलग्गिने हो भने ठूलो संकटको सामना बेलायतले गर्नुपर्ने स्थितिको सिर्जना हुनेछ । आफ्नो प्रस्तावको बचाउका लागि आयरल्यान्डसँगको खुला सीमा राख्न उनले प्रस्ताव गरेको बिमा नीतिबाट कट्टरपन्थी बे्रक्जिटरहरू आक्रोशित भएका छन् ।
अर्कोतर्फ, लेबर पार्टीका नेता जेरेमी कोर्बिन बे्रक्जिट मुद्दाबाट पन्छिने प्रयास गरिरहँदा उनको पार्टीका बहुमत सदस्य बेलायत इयूमै रहनुपर्ने पक्षमा उभिएका छन् । यसैगरी, उनका पार्टीका आठजना सांसदले पार्टी त्यागेर कोर्बिनको नीतिको विरोध गर्न संसद्मा स्वतन्त्र समूह नै बनाएका छन् । वास्तवमा, लेबर पार्टी पनि विभाजित भएको छ । लेबर पार्टीका वरिष्ठ नेता भेटी कुपरले मार्च २९ को बे्रक्जिट समयसीमा सार्ने प्रस्ताव गरेका छन् । यस पार्टीका अन्य दुईजना सांसद पेटर केल र फिल विल्सनले दोस्रो जनमतसंग्रह गर्ने सर्तमा प्रधानमन्त्री मेको प्रस्तावलाई हाउस अफ कमनर्सले स्वीकृत गर्न सक्ने पक्षमा छन् ।
बेलायतको पछिल्लो राजनीतिक विकासक्रम हेर्दा यसको बटमलाइन सामान्य छ । संकट बनेको ब्रेक्जिट भविष्यमा पनि संकट नै बन्नेछ । सन् २०१६ को जनमत झुटको बलमा आएको थियो, अर्थात् झुटा आश्वासनमार्फत बे्रक्जिट पक्षधरले जनमत आफ्नो पक्षमा पारे । ४६ वर्षदेखि इयूमा रहेर लाभ लिएको मुलुकलाई अहिले आफ्नै खुट्टामा बन्चरो हानेर देशलाई अस्तव्यस्ततातर्फ धकेलिरहेको छ ।
जनमतसंग्रहअनुसार युवापुस्ता ब्रेक्जिटको विपक्षमा देखिएको अवस्थाबाट अहिलेको अवस्थामा आइपुग्दा ब्रेक्जिट नचाहने बेलायती बहुमतको संख्यामा पुगेका छन् । अब बेलायती राजनीतिमा केही सम्भावना छन् । मेको संशोधित ब्रेक्जिट सम्झौतालाई बेलायती संसद्ले स्वीकृत गर्ने, मार्च २९ को समयसीमा बढाउने, कुनै सम्झौताविनै बेलायत इयूबाट बाहिरिने वा दोस्रो जनमतसंग्रह गर्ने विकल्प बेलायती राजनीतिमा छ । यी विकल्पमध्ये पनि बेलायतको वास्तविक भविष्य तय गर्ने जिम्मा दोस्रो जनमतसंग्रहलाई दिनु सबैभन्दा उपयुक्त र सुरक्षित हुनेछ ।
लेखक द न्युयोर्क टाइम्सका स्तम्भकार हुन् ।
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य