मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
लालबहादुर राना
मुना कुँवर काठमाडौ
२०७८ भदौ २८ सोमबार ०७:२१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

२२ वर्षपछि भारत हिमाञ्चलको जेलबाट रिहा भए लालबहादुर

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडौ
२०७८ भदौ २८ सोमबार ०७:२१:००

हत्या अभियोगमा भारतको हिमाञ्चल प्रदेशको नाहन जिल्ला सिरमुरस्थित मोडेल सेन्ट्रल जेलमा रहेका नेपाली नागरिक लालबहादुर राना २२ वर्षपछि रिहा भएका छन् । दिल्लीस्थित सामाजिक संगठन नेपाली एकता मञ्चले पाँच वर्षको प्रयासपछि ७१ वर्षीय रानालाई ३ भदौमा रिहा गरेको हो ।

जेलबाट रिहा भएका राना अहिले जेलनजिक रहेको ढावामा काम गर्न थालेको दिल्लीस्थित सामाजिक संगठन नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले बताए । राना १० वर्षदेखि परिवारसँग सम्पर्कविहीन रहेको सचिव खड्काले बताए । रानाको पहिचान खुल्ने कुनै कागजपत्र नभएको र नेपाली राम्ररी बोल्न नसक्ने अवस्थामा रहेको उनले बताए ।

‘सुरुमा घरपरिवारबारे केही बताउन सकेका थिएनन् । अहिले ओखलढुंगाको कटुन्जे गैरीगाउँ घर भएको बताइरहेका छन् । श्रीमतीको नाम सुनमाया, छोराको बमबहादुर र छोरीको लीलामाया रहेको बताउँछन्,’ खड्काले भने, ‘उनले दिएको ठेगानाका आधारमा सोमबार परिवारसँग सम्पर्क गर्छौँ ।’

सोही जेलमा रहेका रोल्पा जेलबाङका नरेन्द्र रोका पनि मञ्चको सक्रियतामा गत वैशाखमा रिहा भएका थिए । झुटा मुद्दामा जेल परेका ४६ वर्षीय रोकाले २४ वर्ष जेलजीवन बिताएका थिए । मञ्चले सोही जेलमा रहेका मोरङ बेलबारीका अर्जुन नाम गरेका नेपालीको मुद्दामा पनि पाँच वर्ष लडेर गत २७ असारमा जितेको थियो । कैदीहरूको झडपमा उनको जेलमै मृत्यु भएको थियो । उनको परवारिलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिलाइएको थियो । सोही क्रममा लालबहादुरको विषयमा जानकारी प्राप्त भएको र मुद्दा लडेको खड्काले बताए । 

भारतका विभिन्न प्रदेशमा करिब १५ हजार नेपाली जेलमा रहेका उनले बताए । विभिन्न झुटा आरोपमा नेपालीहरू भारतका जेलमा पर्ने गरेको उनको भनाइ छ । कतिपय अवस्थामा भारतीय रोजगारदाताले नै नेपाली नागरिकलाई जेलमा पु¥याउने गरेको उनको आरोप छ । ‘लामो समयसम्म काममा लगाउने अनि पारिश्रमिक दिनुपर्छ भनेर विभिन्न चोरी, हत्या, डकैतीजस्ता आरोप लगाएर जेल पु¥याउने गरेका घटना पनि छन्,’ उनले भने ।