मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २७ आइतबार ०७:१५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दैनिक औसत कारोबार ३० प्रतिशतले घट्यो : सेयर बजारमा अनिश्चय कायमै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २७ आइतबार ०७:१५:००

गत साताको सोमबार नेप्सेले उच्च अंकको बाउन्स ब्याक लिए पनि त्यसपछिका दिन क्रमशः घट्दो क्रममा छ । साताभरमा नेप्से करिब ५१ अंकले घटेको छ । सातागत आधारमा कारोबार रकम ११ प्रतिशतले घटेर ४२ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । तर, अघिल्लो साता चार दिन खुलेको बजारमा यस साता पाँच दिन नै सेयर किनबेच भए पनि औसत दिनको कारोबार रकम भने २९ प्रतिशतले घटेको हो । अघिल्लो साता दैनिक औसत ११ अर्ब ९४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा गत साता आठ अर्ब ४५ करोडमा सीमित भएको छ । 

जलविद्युत् समूहमा पुनः लगानीकर्ता झुम्मिन थालेसँगै साताभरमा यो समूहको मात्रै ३२ प्रतिशत कारोबार भएको छ । साताभरमा जलविद्युत् समूहमा दुई सय ४१ अंकको वृद्धि देखियो । कारोबार रकम र संख्या दुवैका आधारमा अरुण भ्याली हाइड्रो अग्रस्थानमा छ । कम्पनीको दुई अर्ब २८ करोड रुपैयाँको सेयर किनबेच भएको हो । गत साता बजारमा ऋणपत्र मात्रै सूचीकृत भएका छन् ।  

 प्रवृत्ति बियरिस 
प्राविधिक विश्लेषणहरूले केही समयदेखि सेयर बजारको प्रवृत्ति बियरिस रहेको संकेत गरेको छ । लगातार घटेको बजारमा सोमबार उच्च अंकले बाउन्स ब्याक भए पनि त्यसपछिका दिनमा पुनः बजार घट्दो क्रममा देखिएको छ । मैनबत्ती चित्रले सोमबार लामो हरियो आकृति बनाएको भए पनि त्यसपछिका दिनमा रातो मैनबत्ती बनाएको छ । अन्तिम दिन बनेको सुटिङ स्टार डोजीले बजार घट्न थामिन सक्ने संकेत गरिरहे पनि यो दरिलो संकेत भने होइन । 

मुभिङ एभरेज रेखाले पनि बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गरिरहेको छ । नेप्सेको सातदिने मुभिङ रेखालाई काटेर २१ दिने मुभिङ रेखा माथि लागेको छ । यो डेथ क्रस ओभर भएको देखिन्छ । यद्यपि, छोटो–छोटो अवधिमा यसको प्रवृत्तिमा समेत परिवर्तन देखिएकाले यसमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । सातदिने रेखा माथि हुँदा बजार बुलिस रहेको मानिन्छ भने यदि २१ दिने रेखा माथि रहेमा बजार बियरिस प्रवृत्तिमा रहेको विश्लेषण गरिन्छ । 

१४ दिने आरएसआई सूचकले बजार अधिक बिक्रीको अवस्थामा नै रहेको संकेत गर्छ । गत साता यो सूचक करिब १६ स्केलमा पुगेपछि बढेर ३४ सम्म पुगेको थियो । तर, हाल यो पुनः ३० हाराहारी आएको छ । स्केल ३० मुनि रहे बजारमा अधिक बिक्री भइरहेको, ३० देखि ७० मा रहे माग र आपूर्ति सन्तुलित र ७० माथि रहे अधिक खरिद क्षेत्रमा आएको विश्लेषण गरिन्छ । 

सातामा दुई हजार सात सय ७९ को न्यून बिन्दुबाट बढेको नेप्सेको पिभट विश्लेषणअनुसार आगामी एक सातामा दुई हजार सात सय ६९ मा पहिलो टेवा पाउनेछ र यस टेवाका कारण नेप्से बढ्न थालेमा दुई हजार नौ सय ९१ मा पहिलो प्रतिरोध 
परीक्षण गर्नेछ ।