१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २६ शनिबार २१:०१:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

तालिवानको मन्त्रिपरिषद् छनोटमा चीन किन असन्तुष्ट ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २६ शनिबार २१:०१:००

अफगानिस्तानले हालै गठन गरेको अन्तरिम सरकारमा परेका कार्यबाहक मन्त्रीहरूको छनोटप्रति विश्वका अन्य ठूला मुलुकसँगै चीन पनि असन्तुष्ट रहेको देखिएको छ । दुईदशक लामो युद्धबाट प्रभावित अफगानिस्तानमा तालिवानले समावेशी सरकार गठन गर्ने अपेक्षा गरेकामा मन्त्रिमण्डलको रूप र आकार चीनको समेत अपेक्षाविपरीत भएको छ । 

चिनियाँ विज्ञहरूलाई उद्धृत गर्दै अल अरेबिया पोस्टमा प्रकाशित समाचारअनुसार अन्तरिम सरकार समावेशी नभएको, मुख्य पद तालिवानका सदस्यले लिएको, महिला नभएको मात्र नभएर सबैजसो पस्तुन जातीय समूहका मात्रै रहेकामा चीन असन्तुष्ट छ । यसैगरी पुराना गार्डहरूको वर्चस्व रहेको भन्दै यसले चीनका लागि पनि सुरक्षा खतरा पैदा गर्ने चीनको चिन्ता छ । 

तालिवानका संस्थापक मुल्लाह उमरका निकट सहयोगी मोहम्मद हसन अखुन्द कार्यबाहक प्रधानमन्त्री भएका छन् । मुल्लाह अब्दुल गनी बरादर र अब्दुल सलाम अनाफी कार्यबाहक उपप्रधानमन्त्री नियुक्त भएका छन् । यसैगरी हक्कानी नेटवर्कका संस्थापकका छोरा साराजुद्दिन हक्कानी आन्तरिक मामिलामन्त्री नियुक्त भएका छन् जो अमेरिकी प्रतिबन्धित सूचीमा छन् । तालिवानका संस्थापक उमरका छोरा मोहम्मद याकुब कार्यबाहक रक्षामन्त्री छन् । 

‘तालिवानले समावेशी सरकार गठन गर्ने र सबै पक्षलाई समेट्ने प्रतिबद्धता चीनसमक्ष जनाएको थियो, तर तालिवानले प्रतिबद्धता उल्लंघन गरेको छ,’ चिनियाँ कूटनीतिज्ञलाई उद्धृत गर्दै अल अरेबिया पोस्टले जनाएको छ । ‘यसले अफगानिस्तानमा हिंसाको राजनीतिले निरन्तरता पाउने स्थिति देखिएको छ । चीन यसबाट विश्वस्त हुने स्थिति छैन ।’ 

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को कालोसूचीमा रहेका समूहका नेता मन्त्रिपरिषदमा समावेश गरिएका छन् । सुरक्षा परिषद्को सदस्यका रूपमा चीन तालिवानको मन्त्री छनोटप्रति असन्तुष्ट छ । ‘प्रतिबिन्धित व्यक्तिहरूको मन्त्रिपरिषदमा उपस्थिति विश्व समुदाय र चीनका लागि पनि प्रमुख चिन्ताको विषय हो, अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय मान्यता पाउन र सामान्य अन्तर्राष्ट्रिय आदानप्रदान पुनस्र्थापना गर्न निकै कठिन छ,’ एकजना चिनियाँ विश्लेषकले भनेका छन्, ‘यो स्थितिलाई चीनले ध्यान दिनेछ । तालिवानले वचनबद्धता पूरा गर्नुपर्छ भन्नेमा चीन स्पष्ट छ ।’ जानकारहरूको भनाइमा तालिवानले चीन वा अन्य मुलुकहरूको अपेक्षाको परबाह गर्ने स्थिति देखिएको छैन । चीनका लागि  पूर्वी तुर्कस्तान इस्लामिक आन्दोलन चिन्ताको एक प्रमुख कारण भएको छ । तालिबानलाई चीनको चिन्ताबारे जानकारी छ ।