अफगानिस्तानबाट उद्धार भएर विभिन्न मुलुकका पारगमन (ट्रान्जिट)मा रहेका ३२ जना नेपाली बुधबार स्वदेश फर्केका छन् । अहिलेसम्म अफगानिस्तानबाट ८९५ जना स्वदेश फर्केका छन् । काबुलमा रहेका ३४ जना भने उद्धारको पखाईमा छन् ।
काबुल छाडेका करिब १ हजारजना मध्ये अब १ सयजना बाटोमा छन् । ‘काबुलमा उद्धारको पर्खाइमा रहेका थप नेपाली नागरिकहरूलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको छ,’ परराष्ट्र मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।
काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल अहिले ठप्पजस्तै छ । तालिवानले अफगानिस्तान नियन्त्रणमा लिएपछि अमेरिकाले ९ दिनअघि आफ्ना सबै फौज र स्टाफ फिर्ता गरेसँगै काबुल विमानस्थल ठप्प छ ।
‘काबुलमा नागरिक उडानहरू सञ्चालन भएपछि ३४ जना नेपाली स्वदेश फर्किने सुनिश्चित भएको छ,’ नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले टेलिफोनमा भने, ‘संयुक्त राष्ट्रसंघमा सुरक्षाकर्मीका रूपमा कार्यरत सयजना नेपालीहरूलाई काठमाडौं ल्याउँदा बाँकी ३४ जनालाई पनि ल्याउने ग्यारेन्टी सुरक्षा कम्पनीले गरेको छ । अहिले ३४ जना संयुक्त राष्ट्रसंघीय हाताभित्र सुरक्षित रूपमा बस्नुभएको छ । उहाँहरूलाई स्वदेश नफर्कुन्जेल खानपिन र बस्ने राम्रो व्यवस्था छ ।’
स्वदेश आउने पर्खाइमा रहेका ३४ जनामध्ये १२ जना नेपाली सेनाबाट अवकाशप्राप्त र २२ जना भारतीय सेनाबाट अवकाशप्राप्त नेपाली नागरिक छन् । सुवेदीका अनुसार ३४ जनाको पिसिआर परीक्षणसमेत भइसकेको छ । उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको छ ।












