सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)ले संसदीय मर्यादा कायम गर्न एमालेलाई चेतावनी दिएको छ । बुधबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले संसद्मा उत्ताउलो नबन्ने, संयमतापूर्वक आरोपको प्रतिवाद गर्ने निर्णय गरेको छ ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा सांसद विरोध खतिवडाले ओलीको कारबाहीमा परेका १४ जना एकीकृत समाजवादीका सांसद संसद्मा उपस्थित भए संसद् चल्न नदिने भन्नु मिडिया खपतको लागि मात्रै भएको बताए । उनले एउटा दलको नेतालाई संसद्मा उपस्थित भए संसद् नै चल्न नदिने भन्ने उनी को हुन् ? भन्दै प्रश्नसमेत गरे ।
उनले भने, ‘आज संसद्मा हामी १४ जना उपस्थित भए संसद् चल्न नदिने भनेर नेकपा एमालेका अध्यक्ष केपी ओलीले भन्नुभएको रहेछ, यस्तो भन्ने उनी को हुन् ? एउटा दलको नेतालाई उपस्थित भए संसद् चल्न नदिने भन्ने उनी को हुन् ? जब कि संसद्को नियमावली २१, संविधानको धारा १०५ ले के भन्छ भने अदालतमा चढेको विचाराधीन मुद्दामा संसद्मा बहस गर्न पाइँदैन भन्ने स्पष्ट छ, उनीहरू नै मुद्दामा गएका हुन्, केपी ओलीलाई कानुन, नियम, संविधान, विधि, पद्धति, लोकतान्त्रिक सरोकार योसँग कुनै सम्बन्ध छैन, सत्तापक्षको हैसियतले उनीहरूले उठाएका कुराको प्रतिवाद गर्छौँ, सभामुखसँग आज्ञा लिएर । यो संसद् चल्न नदिने कुरा मिडियाबाजी खपतका लागि हो, टाइँटाईँ फिस हुने कुरा हो, तैपनि संसद्मा हामी उत्ताउलो हुँदैनौँ, संयमतापूर्वक प्रतिवाद गर्दछौँ, संयमतालाई उल्लंघन गर्ने काम गरे जस्तालाई त्यस्तै गर्नका लागि मान्य मान्यज्यूहरू नै जम्मा भएका हौँ, कोही बहादुर र कोही कमजोर भन्ने हुँदैन, कोही दाह्रासिंह र कोही बंगारासिंह भन्ने हुँदैन, त्यसकारण हामी संसद्भित्र संसदीय मर्यादालाई पालन गर्ने प्रयत्न गर्नेछौँ ।’
सांसद खतिवडाले संसद्मा तोकिएको ठाउँमा बस्ने बताउँदै एमालेका नेताहरूले उठाएका कुराहरूको प्रतिवाद गर्ने बताए । उनले एमाले अध्यक्ष ओलीका सबै षड्यन्त्र असफल भइरहेको पनि बताए ।