Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नरेन्द्रजंग पिटर
२०७८ भदौ २२ मंगलबार १०:१९:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नेपाली कम्युनिस्टको नियति अर्थात् गाली

Read Time : > 3 मिनेट
नरेन्द्रजंग पिटर
२०७८ भदौ २२ मंगलबार १०:१९:००

सहरजस्तै गाउँबस्तीमा पनि राजनीतिको खेती फेरि फस्टाइरहेको छ । हलक्कै गाली–बाली मौलाएको छ । अर्थहीन बनाइएका कार्यकर्तालाई महाधिवेशन आँउदा, पार्टी फुट्दा र चुनाव लाग्दा सोधखोज हुन्छ । आस र त्रास फैलाउँदै तानातान भइरहेको छ । नेताले कार्यकर्ताको सोधखोज गर्न थालेका छन् । मिटिङ चलिरहेको छ, प्रशिक्षण भइरहेको छ । तर, प्रशिक्षण केको हुन्छ ? प्रशिक्षक कस्ता छन् त ? सूचना र प्रविधिको भरपूर उपयोग गर्दै समूह बैठक चलिरहेका छन् । प्रविधिले भूगोललाई त खुम्च्यायो, तर राजनीतिक संस्कृतिमा खुम्चिएको दिल र दिमागलाई भने चौड्याउन सकेन । टिभीमा चल्ने गालीशास्त्र नेताका दरबारबाट गाउँबस्तीमा छताछुल्ल भइरहेका छन् । 

मन नमिल्नासाथ ‘कम्युनिस्टहरू’ सजातीयलाई गाली गर्न बुर्जुवाभन्दा पोख्त हुन्छन् । हरेक विषयलाई सैद्धान्तीकरण गर्दै रौँका चिरा त पार्थे नै, अब त निजी जिन्दगीमै छिरेर आक्रमण गर्न थालेका छन् । संशोधनवादी, जडसूत्रवादी, मध्यपन्थी धेरै शब्द भए पनि कम्युनिस्टलाई ‘दलाल’ र ‘गद्दार’ सबभन्दा प्रिय लाग्छन् । पुष्पलाल र तुल्सीलालबीचको टकराहटमा ‘कुन बाटो ?’ र ‘मूलबाटो’ पुस्तक निक्लिए, तर मोहनविक्रम सिंहले त ‘गद्दार पुष्पलाल’ नै लेखे । त्यसपछि संस्थापक महासचिवलाई गद्दार पुष्पलाल भन्नेको लर्को नै लाग्यो । सिकार गरिएको बाघको शरीरबाट गोली निकालिएजस्तै गाली फिर्ता लिइयो । तर, आज उनकै विचारको हकवाला भन्दै मूलबाटो बनाउनेले जीवनकालमै गाली सुधारेको पुष्पलालले भने थाहा पाएनन् । उनी ‘गद्दार’ बनेरै मर्नुपर्‍यो । घटनाक्रम फेरिँदै जाँदा शक्तिमा उतारचढाव भइरहन्छन् । सार्वजनिक जीवनमा ‘गद्दारसँग’ फेरि भेट हुँदा, सहकार्य गर्नुपर्दा कस्तो हुँदो हो ! के हिजोका गाली फच्चे हुन्छन् ! यसले सामाजिक सम्बन्धलाई के कस्तो असर पार्ने हो ? 

राजनीति व्यवसाय बनेपछि नेता र कार्यकर्ताले घाटा–नाफाको हिसाबकिताब गर्नु स्वाभाविकै हुन्छ । पार्टी फुट, चुनाव र माहाधिवेशनलाई नेता, कार्यकर्ताले पार्टी वा गुट फेर्ने अवसर बनाउँछन् । एकअर्कालाई बात लगाउँदै गाली बर्सिन्छन् । नेपाली राजनीतिशास्त्रका विद्यार्थीलाई पुस्तक र विश्वविद्यालयभन्दा बितेको १५ वर्ष व्यावहारिक ज्ञानको पाठशाला बन्यो । ‘आदर्श’ नेताका चाल, चरित्र र चेहराले छर्लंग प्रशिक्षण दियो– सक्छौ जित्नेको पछाडि लाग, तर हार्नेको पछाडि किमार्थ नलाग । संकट पर्‍यो नै भने तटस्थताको सुख भोग । फड्को मार र भाग्य चम्काऊ !’ 

नेकपा मालेसँग वार्ता गर्न पठाएका प्रतिनिधि नै (हर्के अर्थात् डा. डिबी सिंह र केशव बडाल) उतै बिलाएपछि रूपलालजीहरूले साथी हर्के कता ? भनेर मुखपत्र श्रमिकमा रोचक कथा छापे । कथाको सार थियो– निहुँ खोज्न तथ्य र प्रमाण चाहिँदैन, कुतर्क गरेर पनि नियत लुकाउन सकिन्छ । समयसँगै पात्र त फेरिन्छन्, तर प्रवृत्ति भने दोरिरहन्छन् ।

अवसरवाद शक्तिको सिँढी चढ्ने अत्यन्तै राम्रो कला हो । अवसरवादले चुनौती झेल्नैपर्दैन, उपलब्धिको पहिलो अधिकार राख्छ । ऊसँग स्वाभिमान र इख भन्ने शब्दकोशमा हुँदैन । बजारजस्तै अवसरवाद पनि नाफामा चल्छ, मूल्य र आदर्शमा हैन । मित्र र दुस्मनका परिभाषा ०६२/६३ पछि फेरिँदै जाँदा राजनीतिका गाली पनि फेरिए । ‘कम्युनिस्टहरू’ लडाकु हुन्छन् । अरू नपाउँदा आफ्नैभित्र नक्कली शत्रु खोज्न सिँगौरी खेलिन्छ । माओवादीका अन्तरविरोध र टुटफुट, डबल नेकपादेखि एमाले विभाजन, ‘दोस्रो पुस्ता, तेस्रो धारसम्म’ त्यो अझ छरपस्ट भयो । कम्युनिस्ट दुस्मनले नभई आफैँ मारामार गरेर सकिएका छन् । 

पुष्पलाल र तुल्सीलालबीचको टकराहटमा ‘कुन बाटो ?’ र ‘मूलबाटो’ पुस्तक निक्लिए, तर मोहनविक्रम सिंहले त ‘गद्दार पुष्पलाल’ नै लेखे । त्यसपछि संस्थापक महासचिवलाई गद्दार पुष्पलाल भन्नेको लर्को  नै लाग्यो ।

जुन शब्दले लक्षित व्यक्ति वा समूहलाई उत्तेजित बनाउँदा वक्ताले मानसिक तुष निकाल्दै सन्तुष्टि लिन्छ, ऊर्जा पाउँछ, त्यही नै गाली हो । सामाजिक, सांस्कृतिक र बौद्धिक स्तर गालीले किटान गरिरहेको हुन्छ । राजनीतिकर्मीले पहिलाका तर्क विरुद्ध नयाँ तर्क कोरल्नुपर्ने हुन्छ । इतिहासले धकेल्दै जाँदा कुनैवेला असिनाझैँ गाली बर्साएको पात्रलाई नै पुज्नुपर्ने नियति हुन्छ । प्रतिक्रियाको राजनीति मौलाएपछि कार्यकर्ताको योग्यताको कसौटी पनि कसले, कति गाली गरेर आवेग भर्न सक्छ, त्यसैअनुसार हैसियत नापिन्छ । हरेक शक्ति वा गुटपछाडि औचित्य साबित गर्न तर्क उत्पादन गर्ने स्वार्थी ‘बुद्धिजीवी’ हुन्छन् । कुतर्कलाई तथ्य र अनुसन्धान आवश्यक नभई आवेग र घृणा भए पुग्छ ।

गद्दारी हैसियतवालाले नै गर्छन् 
सामान्य जनले युगलाई, राष्ट्रलाई, आन्दोलनलाई र पार्टीलाई धोका दिन सक्दैन । ठूलो रूख ढल्दा कम्पन पनि ठूलै हुन्छ । ओहोदावालले गरेको गद्दारी युगले व्यहोर्नुपर्छ । सामान्य जनले गद्दारी गर्न चाहँदा पनि केही हुँदैन । पूर्व र पश्चिम मोर्चामा सेना भयंकर लडाइँमा थियो, तर सुगौलीमा वार्ता गर्न पठाइएका चन्द्रशेखर उपाध्याय र रंगनाथ मिश्रले जिम्दारी र खान्कीकै लागि अंग्रेजको सुविधाअनुसार सन्धि गरिदिए । भारतमा अंग्रेज भित्र्याउने घटनामा बंगालको नवाब सिराजुद्दौलालाई धोका दिएर अंग्रेजलाई साथ दिएर श्रीपेच लगाउन उनकै ज्वाइँ मिरजफर संलग्न भयो ।

स्वतन्त्र राष्ट्र सिक्किमलाई भारतको पाउमा टक्र्याउने लेन्डुप दोर्जे थियो । अहमद चलावीले गौरवशाली इराकलाई अमेरिकाका पाउमा चढायो, अफगानिस्तानमा जति अमेरिकी दलाल बने पनि असरफ घानीलाई अमेरिकाले रक्षा गर्न सकेन । तर, गद्दारी गर्नेलाई कालान्तरमा स्वयं मालिकले नै पत्याउँदैन । जसले आफ्नो स्वार्थका लागि देशकै गद्दारी गर्छ, बीसौँ वर्षको मित्रलाई धोका दिन सक्छ भने ऊबाट नयाँ मालिक पनि विश्वस्त हुन सक्दैनन् । कस्तै रामभक्तले पनि दुस्मनको पक्ष लिएर राष्ट्र र वंश नाश गर्ने विभीषण आफ्नो सन्तानको नाम राख्दैनन् । अलोचना पनि व्यक्तिको नभई उसको भूमिकाको हुन्छ । व्यक्ति चरित्रको वाहक भएकाले त्यो गुण र दोष बनेर कालान्तरमा प्रतीकमा फेरिन्छ । प्रशंसा गरेर कुनै पनि मान्छेलाई मूर्खतापूर्ण काम गराउन सकिन्छ । मूर्खशक्ति भने कसले उसको हितमा दुस्मनविरुद्ध कति धारिलो गाली गर्छ भन्ने हिसाब गरिरहन्छ । 

विश्वास गुमेका धोकेबाजलाई कसैले पत्याउँदैन । नयाँ थलोमा मेरो स्वर्गमा राँको झोस्ने तिमी नै हौ भनेर अवसर खोसिएकाहरूले चिमोटी–चिमोटी मानमर्दन गर्दै नयाँ थलोमा बसिनसक्नु पार्छन् । नवनायकलाई पुराना अनुयायीसँग नयाँलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ता हुन्छ । पुराना वा नयाँ कसको भर पर्ने, उसका चुनौती बन्छन् । अनुयायी, कट्टर समर्थक, अझ अन्य पार्टीबाट आएकाको संरक्षण गरिएन भने अन्य विभीषण बन्न तयार हुँदैनन् । शक्ति जहिले पनि नयाँ दास खोज्छ, पुराना त यसै छन् नि । आफ्नै गोठका पाल्तु सोच्छ । अन्तमा, घटनाहरू नयाँ–नयाँ रूप, पात्र र प्रवृत्ति बनेर आइरहन्छन् । इतिहासको शिक्षा भनेकै जसले सिक्दैन, ऊ या त साँच्चैको गद्दार बन्नुपर्छ या स्वयंको मलामी ।