भदौ २४ देखि अवकाशमा जान लागेका प्रधानसेनापति पूर्णचन्द्र थापालाई आइतबार नेपाली सेनाले औपचारिक रूपमा बिदाइ गरेको छ । रक्षासचिव बेगेन्द्रराज शर्मा पौड्याल, कामु प्रधानसेनापति प्रभुराम शर्मालगायत सेनाको उच्च अधिकारीको उपस्थितिमा प्रधानसेनापति थापाको बिदाइ कार्यक्रम भएको हो ।
कार्यक्रममा रक्षासचिव पौड्यालले प्रधानसेनापति थापाले ४२ वर्ष लामो सैनिक जीवनको दौरान सेनाको सर्वोच्च पदमा पुगेर संस्थाको श्रीवृद्धि गर्न अतुलनीय योगदान पु¥याएको चर्चा गरे । उनले आगामी दिनमा रक्षा मन्त्रालय र नेपाली सेनाबीच साझा लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि सहकार्य हुने प्रतिबद्धता व्यक्त गरे ।
का.मु. प्रधानसेनापति प्रभुराम शर्माले प्रधानसेनापति थापाको तीनवर्षे कार्यकालमा नेपाली सेनामा सांगठनिक सुदृढीकरण, आधुनिकीकरण तथा पद्धति र प्रणालीको विकासमा भएका आमूल परिवर्तन आएको बताए । शर्माले २४ भदौदेखि नेपाली सेनाको नेतृत्व सम्हाल्दै छन् । थापाले नेपाली सेनालाई थप सक्षम र सबल बनाउन सफल भएको पनि उल्लेख गरे ।
प्रधानसेनापति थापाले पद्धति र प्रणालीलाई आत्मसात् गर्ने आधारभूत चरित्र निर्माणले नेपाली सेना आधुनिक र व्यावसायिक सेनाको रूपमा कायम हुने विश्वास व्यक्त गरे । प्रधानसेनापति थापाले का.मु. प्रधानसेनापति शर्मालाई नेपाली सेनाको झन्डा, प्रधानसेनापतिको झन्डा तथा छडी हस्तान्तरण गरेका थिए ।