मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ भदौ १९ शनिबार ०८:४०:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोभिड महामारीका नाममा अन्तर्राष्ट्रिय वायुसेवाको ठगी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ भदौ १९ शनिबार ०८:४०:००

- यात्रुको विवरणसँगै लिएको भाडादरको जानकारी पनि बुझाउन वायुसेवा कम्पनीहरूलाई क्यानको निर्देशन

- अलपत्र यात्रुको उद्धारमा खटिएका जहाजको टिकट ट्राभल एजेन्सीहरूले गरे मनपरी मूल्यमा बिक्री

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई यात्रुको विवरणसँगै भाडादर पनि अनिवार्य बुझाउन निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय उडानमा यात्रुसँग महँगो भाडा असुलेर ठगी गरेको गुनासो आएपछि प्राधिकरणले वायुसेवालाई भाडाको विवरण पनि बुझाउन निर्देशन दिएको हो । 

अहिलेसम्म वायुसेवाले आवधिक रूपमा यात्रुको विवरण मात्र बुझाउँदै आइरहेको थियो । कोभिड महामारीमा अन्तर्राष्ट्रिय वायुसेवाले गरेको नियमित तथा चार्टर्ड उडानको टिकटमा यात्रुसँग महँगो शुल्क लिएर ठगी गरेको गुनासो आइरहेको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा गठित हवाई भाडा छानबिन समितिको अध्ययनले पनि अन्तर्राष्ट्रिय वायुसेवाले यात्रुसँग तोकिएको भन्दा चर्को शुल्क असुलेको देखाएको छ । ट्राभल एजेन्सीहरूले महामारीमा अलपत्र यात्रुहरूको उद्धारमा खटिएका जहाजको टिकट मनपरी मूल्यमा बिक्री गरेका हुन् । 

हवाई भाडा छानबिन समितिका संयोजक पोखरेलले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालासमक्ष छानबिन प्रतिवेदन बुझाइसकेका छन्, जसमा चार्टर्ड तथा अन्य अन्तर्राष्ट्रिय उडानमा यात्रुसँग महँगो भाडा असुल गरेको उल्लेख छ ।

अन्तर्राष्ट्रिय उडानमा यात्रुसँग महँगो भाडा असुलेको गुनासो आउन थालेपछि असार ७ गते छानबिन समिति गठन गरिएको थियो । छानबिन समितिलाई हवाई भाडा महँगो लिएका २५ वटा उजुरीहरू परेको संयोजक पोखरेलले जानकारी दिए, जसमा कतार एयरवेजसँग सम्बन्धित १६ वटा, टर्किस एयरलाइन्ससँग सम्बन्धित सातवटा र हिमालयन एयरलाइन्ससँग सम्बन्धित दुईवटा उजुरी थिए । समितिलाई प्राप्त भएका उजुरीमध्ये कतार एयरवेजका नौवटा, टर्किसका दुईवटा र हिमालयका दुईवटा टिकटमा निर्धारितभन्दा बढी लिएको भेटिएको छ । 

अन्तर्राष्ट्रिय उडानमा यात्रुसँग चर्को भाडा असुल गर्ने वायुसेवा कम्पनीउपर थप विस्तृत अध्ययन एवं कारबाहीका लागि सम्बन्धित नियामक निकायमा सिफारिस गर्नुपर्ने भन्ने सुझाबसहितको प्रतिवेदन प्राप्त भएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता नरनाथ अधिकारीले बताए । 

महामारीको अवसर पारेर अलपत्र यात्रुको उद्धारमा खटिएका जहाजले चर्को भाडा लिएको गुनासो आएपछि प्राधिकरणले एक महिनाअघि नै यात्रुको विवरणसँग भाडादर पनि बुझाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको हो । वायुसेवा कम्पनीहरूले नियमित रूपमा भाडादर पनि बुझाउन थालेपछि चर्को भाडा लिएर टिकट बिक्री गर्ने ट्राभल एजेन्सीलाई कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्न सजिलो हुने पोखरेलले जानकारी दिए ।

‘भोलि कुनै पनि यात्रुले फलानो वायुसेवाले फलानो दिनको उडानमा बढी भाडा लिएर ठगी गरेको भन्दै प्रमाणसहित उजुरी गर्न आएमा प्राधिकरणसँग त्यो यात्रुले कति पैसा तिरेको थियो, कुन ट्राभलबाट टिकट काटेको थियो भन्ने पहिल्यै प्रमाण हुन्छ,’ पोखरेलले भने, ‘यात्रुले ठगिएको गुनासो गर्नेबित्तिकै हामीले भेरिफाई गर्न सक्छौँ र तोकिएभन्दा बढी भाडा लिएको भेटिएमा कारबाहीका लागि सिफारिस गर्न सक्छौँ ।’ वायुसेवा कम्पनीहरूले पनि बढी मूल्यमा टिकट बिक्री गर्ने आफ्ना ट्राभल एजेन्सीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउन सक्नेछन् । उनी भन्छन्, ‘कुनै पनि अन्तर्राष्ट्रिय वायुसेवाको उडानमा निर्धारितभन्दा बढी भाडा लिइएको भेरिफाई गर्नका लागि यात्रुको भाडादर पनि नियमित बुझाउन भनेका छौँ ।’

प्राधिकरणलाई नियमित भाडाको विवरण बुझाउनुपर्ने भएपछि वायुसेवा र ट्राभल कम्पनीहरूले यात्रुलाई चर्को शुल्कमा टिकट बिक्री गरेर ठगी गर्ने धन्दा कम हुने विश्वास लिइएको छ । ट्राभल कम्पनीको दर्ता, सञ्चालन तथा नियमन प्राधिकरणको अधिकार क्षेत्रभित्र पर्दैन । ट्राभल कम्पनीको दर्ता र नियमन प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्छ । त्यसैले अन्तर्राष्ट्रिय उडानको हवाई टिकटमा यात्रु ठगिएको प्रमाणित भएमा प्राधिकरणसँग सम्बन्धित नियामक निकायमा कारबाहीका लागि सिफारिस गर्ने मात्र अधिकार हुन्छ ।    

अहिले अन्तर्राष्ट्रिय उडानतर्फ तीन नेपाली वायुसेवा र २७ विदेशी वायुसेवाले १५ मुलुकका ३२ गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् । संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी एयर अरेबिया अबुधाबीले १८ अक्टोबर २०२० देखि नेपालमा आफ्नो नियमित उडान सुरु गरेको छ भने श्रीलंकाको राष्ट्रिय ध्वजाबाहक श्रीलंकन एयरलाइन्सले पनि ३१ अगस्ट २०२१ देखि हप्तामा दुई दिन नियमित उडान सुरु गरेको छ । श्रीलंकामा नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पनि नियमित उडान सुरु गरेको थियो । तर, पर्याप्त यात्रु नपाएपछि अहिले उडान रोकेको छ । यही मौकामा श्रीलंकन एयरलाइन्सले नेपालमा नियमित उडान सुरु गरेको छ । अरू धेरै विदेशी एयरलाइन्सले पनि समय–समयमा चार्टर्ड उडानहरू गरिरहेका हुन्छन् ।