मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ भदौ १८ शुक्रबार १९:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेतृत्व छनोटमा मनाङ कांग्रेस पहिलो, शंकर गुरुङलाई सभापति बनाउने तयारी

Read Time : < 1 मिनेट
२०७८ भदौ १८ शुक्रबार १९:१४:००

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया सुरु भएसँगै गाउँदेखि सहरसम्म यसको सरगर्मी बढेको छ । नेपाली कांग्रेस मनाङले अधिवेशन नहुँदै सहमतिमै नयाँ नेतृत्वको टुंगो लगाएको छ । कांग्रेस मनाङले आगामी नेतृत्वका लागि शंकर गुरुङलाई जिल्ला सभापति बनाउने निर्णय गरेको हो । 

दुई कार्यकाल नेतृत्व सम्हालेका वर्तमान जिल्ला सभापति एवं पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको संयोजकत्व र कार्यकर्ताहरूबीच छलफल गरी आगामी कार्यकालको नयाँ नेतृत्व टुंगो लगाइएको कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताए । मनाङमा कुनै विवाद नभई सर्वसम्मत नयाँ नेतृत्वको टुंगो लागिसकेको सचिव गुरुङको भनाइ छ ।

जिल्ला सभापतिसहित मनाङ कांग्रेसले संघ तथा प्रदेशका लागि प्रतिनिधि, जिल्ला पदाधिकारी, क्षेत्रीय कार्यसमिति र स्थानीय तहमा समेत सहमतिमै नयाँ नेतृत्व चयन गरिएको कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङले बताए । कांग्रेसभित्रको विवाद र द्वन्द्व निवारणका विषयमा मनाङ यसअघि पनि उदाहरण बन्दै आएको सभापति गुरुङको भनाइ छ । मनाङमा स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा समेत कसले टिकट पाउने भन्ने विषयमा अहिलेसम्म विवाद नभएको गुरुङ बताउँछन् ।  

जिल्ला सभापति बन्न लागेका गुरुङ कांग्रेस विभाजन हुँदा तत्कालीन शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस प्रजातान्त्रिकको जिल्ला सभापति बनेका हुन् । यद्यपि, अधिवेशनको मिति बाँकी नै रहेकाले सबै नाम भने सार्वजनिक गरिएको छैन । यस्तै, शुक्रबार मनाङका सबै वडामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । मनाङ जिल्ला कार्यसमितिले जिल्लाको सबै वडाहरूमा प्रतिनिधि चयन गरेको हो । नेपाली कांग्रेस मनाङले जिल्लाका चार गाउँपालिकाका २८ वटै वडाहरूमा निर्विरोध वडा प्रतिनिधिहरू चयन गरेको हो ।