मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १७ बिहीबार
  • Tuesday, 11 March, 2025
एजेन्सी नयाँ दिल्ली
२o७८ भदौ १७ बिहीबार १३:o२:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

कस्मिरका पृथकतावादी नेता सयद अलि गिलानीको निधन

Read Time : > 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
२o७८ भदौ १७ बिहीबार १३:o२:oo

कस्मिरका पृथकतावादी नेता स्याइद अलि गिलानीको श्रीनगरस्थित आफ्नै घरमा ९२ वर्षको उमेरमा बुधबार निधन भएको छ। भारतीय शासनविरोधी अभियन्ता गिलानी लामो समयदेखि बिरामी थिए। विगत ११ वर्षदेखि उनलाई आफ्नै घरमा नजरबन्दमा राखिएको थियो।

कस्मिरको मुख्य सहर श्रीनगरमा गिलानीको घरनजिकै भारतीय अधिकारीहरूले कडा सुरक्षा घेरा बनाएका छन्। हाल कस्मिरमा सञ्चारमाध्यमहरूमाथि प्रतिबन्ध लगाइएको छ र कर्फ्यु लगाउन सक्ने सम्भावना रहेको बताइएको छ।

बिहीबार बिहानै उनको अन्तिम संस्कार गरिएको छ। भारत प्रशासित कस्मिरी क्षेत्रमा तनाव बढिरहेका वेला यस्तो गरिनुलाई सामान्य भएको र इन्टरनेटबाट फैलिने सम्भावित अफवाहरूलाई रोक्न यस्तो कदम चालिएको भारतीय प्रशासनले बताएको छ।

विशेषगरी मुस्लिम समुदायको बाहुल्य रहेको कस्मिरका छुट्टाछुट्टै स्थानहरूमा भारत र पाकिस्तानको नियन्त्रण छ। तर, दुवै देशले कस्मिरलाई पूर्ण रूपमा आफ्नो भएको दाबी गर्दै आएका छन्। भारत नियन्त्रित क्षेत्रमा पृथकतावादी आन्दोलन भइरहेकाले विगत ३० वर्षदेखि यहाँ हिंसाको वातावरण छ।

गिलानी भारतमा एक पृथकतावादी नेताका रूपमा चिनिन्छन्। जानकारहरूका अनुसार उनले सधैँ कस्मिरको स्वतन्त्रताको वकालत गरे। तर, उनले व्यक्तिगत रूपमा कस्मिरलाई पाकिस्तानमा गाभ्न चाहेको आरोप लाग्दै आएको छ। भारतका कस्मिरी नेताहरू र पाकिस्तानका राजनीतिज्ञहरूले उनलाई श्रद्धाञ्जली दिएका छन्।  कस्मिरका पूर्वमुख्यमन्त्री मेहबुबा मुफ्तीले गिलानीको निधनले निकै मर्माहत बनाएको बताएकी छिन्।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गिलानी ‘स्वतन्त्रता सेनानी’ भएको बताउँदै बिहीबारलाई आधिकारिक रूपमा शोकको दिन घोषणा गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘गिलानीले आफ्नो जनताको आत्मनिर्णयको अधिकारका लागि आफ्नो जीवनभर संघर्ष गरेका थिए।’

कस्मिर प्रहरीले गिलानीका नजिकका नातेदारहरूलाई मात्रै उनको अन्तिम संस्कारमा सहभागी हुन दिएको छ। गिलानीको मृत्युपश्चात् उनको घरनजिकैको मस्जिदबाट स्थानीयहरूलाई त्यसतर्फ जान भनिएको थियो। तर, अहिले भारतीय सेनाका हतियारसहितका गाडीहरू सडकमा तैनाथ गरिएका छन् र प्रहरीले स्थानीयलाई घरभित्रै बस्न भनेको छ।

करिब १५ वर्षभन्दा बढी समय गिलानी कस्मिरका सांसद थिए। सन् २०१९ मा मोदी सरकारले गिलानीको धार्मिक तथा राजनीतिक संगठन जम्मत–आइ–इस्लामीमाथि प्रतिबन्ध लगाएको थियो। कस्मिरको स्वतन्त्रताका लागि अभियान चलाएपछि सन् १९६२ मा उनलाई पक्राउ गरी दश वर्ष जेल सजाय दिइएको थियो। उनले लामो समय जेलमा बिताएका थिए।

गिलानीले करिब दुई दर्जनभन्दा बढी पृथकतावादी पार्टीहरूको छाता संगठन अल पार्टी हुर्रियात कन्फेरेन्सको एउटा समूहको नेतृत्व गरेका थिए। तर, अरूले आफ्नो नेतृत्वविरुद्ध विद्रोह गरेको आरोप लगाउँदै सन् २०२० मा उनले सो नेतृत्व छाडेका थिए।

गिलानी भारतसँगको कुनै पनि किसिमको वार्ताको कडा विरोधीका रूपमा परिचित थिए। उनले भारतसँग वार्ता गर्नुभन्दा पहिले कस्मिरी जनता भारतमा रहन चाहन्छन् कि चाहाँदैनन् भन्ने विषयमा जनमतसंग्रह गर्नुपर्नेमा सधैँ जोड दिए। यसले भारतसँग वार्ता गर्नुपर्नेमा सकारात्मक उनका युवा सहकर्मीहरूसँग उनको द्वन्द्व बढाएको थियो। सन् २०२० मा पाकिस्तानले गिलानीलाई नागरिकलाई दिइने सबैभन्दा ठूलो सम्मान, निसान–इ–पाकिस्तानले सम्मान गरेको थियो। बिबिसीबाट