१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १६ बुधबार ०६:२१:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जयसिंह धामी बेपत्ता घटना : एसएसबीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १६ बुधबार ०६:२१:००

सरकारी छानबिन समितिले दार्चुलाका जयसिंह धामी महाकालीमा बेपत्ता घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी)को उपस्थितिमा भएको र उनीहरूको संलग्नताको सम्बन्धमा अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाउँदै एसएसबीको संलग्नताको सम्बन्धमा अनुसन्धान गरी कानुनी कारबाही गर्न सिफारिस गरेको हो ।

फणिन्द्र पोखरेल प्रवक्ता, गृह

समितिले दार्चुला घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरूको संलग्नताको सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्था गर्न सिफारिस गरेको छ ।

प्रतिवेदनबारे गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समितिले उक्त घटनामा भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरूको संलग्नताको सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न, साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्था गर्न सिफारिस गरेको छ ।’ 

प्रतिवेदनमा एसएसबीका सुरक्षाकर्मीले नै तुइन फुकाइदिँदा धामी बेपत्ता भएको भनेर स्पष्ट किटान गरिएको छैन । घटनामा एसएसबीकै हात रहेको अप्रत्यक्ष रूपमा उल्लेख गरिएको छ ।

समिति स्रोतका अनुसार प्रत्यक्षदर्शीलाई उल्लेख गर्दै जयसिंह तुइन तरिरहेको वेला एसएसबीका दुई जवान आएर रूख चढी तुइनको डोरी निकालिदिएको भन्ने उल्लेख छ । तर, प्रतिवेदनमा यसलाई निष्कर्षका रूपमा राखिएको छैन । उनीहरूको उपस्थितिमा तुइन निकालिएको विषयलाई भने किटानका साथ राखिएको छ । 

‘एसएसबीले तुइनको डोरी निकाल्दा नै उनी (जयसिंह धामी) महाकालीमा डोरीसहित खसेको कुरामा कुनै द्विविधा रहेन,’ समितिका एक सदस्यले भने, ‘त्यसमा संलग्न एसएसबीमाथि कूटनीतिक पहल गरेर कानुन कारबाही गर्नुपर्छ भन्ने हाम्रो प्रतिवेदनको निष्कर्ष हो ।’ 

घटनाको ठीक एक महिनापछि समितिले प्रतिवेदन बुझाएको हो । १५ साउनमा भारतीय बाटो हुँदै सदरमुकाम खलंगा जाने क्रममा धामी बेपत्ता भएका थिए । हालसम्म उनको अवस्था पत्ता लागेको छैन । 

गृह मन्त्रालयले १७ साउनमा सहसचिव गौतमको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । १० दिनको समय दिएर समिति गठन गरिएकोमा सात–सात दिन गरेर तीनपटक म्याद थपियो । यस विषयमा छानबिनमा ढिलाइ भएको र समयमै सरकारले धारणा नबनाएको भन्दै सत्तारुढ दलभित्रै समेत प्रश्न उठ्न थालेपछि मंगलबार प्रतिवेदन बुझाइएको हो । सहसचिव नेतृत्वको समितिमा नेपाल प्रहरीका डिआइजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशन हुतराज थापा, सशस्त्र प्रहरी बलका एसएसपी सुरेश श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य थिइन् । समितिले घटनास्थल पुगेर अध्ययन र सोधपुछ गरेको थियो । 

सरकारले छानबिन समितिको प्रतिवेदन पर्खंदै यस विषयमा केही बोलेको थिएन । प्रतिवेदन आएपछि यस विषयमा भारतसँग कुरा गर्ने गृहमन्त्री खाणले बताउँदै आएका थिए । अब दोषी एसएसबीमाथि कारबाही गराउन सरकारले कस्तो कूटनीतिक पहल गर्छ त्यसमा धामीको परिवारले न्याय पाउने–नपाउने तय हुने छानबिन समितिका एक अधिकारी बताउँछन् । 

गृहमन्त्री खाणले प्रतिवेदन बुझ्दै त्यसमा रहेका सुझाब र सिफारिसलाई कार्यान्वयन गरिने बताएका छन् । प्रतिवेदन गृहसचिव टेकनारायण पाण्डेलाई हस्तान्तरण गरी उनले कार्यान्वयन अघि बढाउन निर्देशन दिएका छन् । प्रतिवेदन भने गोप्य नै राखिएको छ ।