Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ भदौ १४ सोमबार १०:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फोहोर व्यवस्थापन छिट्टै गर्छाैँ, केही दिन सडकमा फोहोर ननिकालौँ : मेयर शाक्य 

Read Time : < 1 मिनेट
२०७८ भदौ १४ सोमबार १०:४४:००

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकालगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने बताएका छन्। बञ्चरेडाँडामा निर्माणाधीन स्यानिटरी ल्यान्डफिल्डसाइट र सिसडोल ल्यान्डफिल्डसाइटको स्थलगत रिपोर्टिङ गरेर फर्किएका सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख शाक्यले यस्तो बताएका हुन्।

 ‘तपाईंहरू त्यहाँको अवस्थाबारे स्थलगत रिपोर्टिङ गरेर फर्किनुभएको छ,’ प्रमुख शाक्यले भने, ‘बञ्चरेडाँडामा निर्माणाधीन स्यानिटरी ल्यान्डफिल्डसाइट जतिसक्दो छिटो सम्पन्न गरेर हामीलाई हस्तान्तरण गरेको अवस्थामा स्थायी रूपमा फोहोर व्यवस्थापन गर्न सक्छौँ ।’ शाक्यले केही दिनदेखि वर्षाका कारण सिसडोल ल्यान्डफिलसाइटसम्म जाने बाटो बिग्रिएका कारण नियमित रूपमा फोहोर व्यवस्थापनमा कठिनाइ भइरहेको बताए।

 ‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण बिग्रिएको छ। बाटोकै कारण फोहोर बोकेर त्यहाँ पुगेका गाडीलाई पनि डोजरले ठेलेर माथिसम्म लैजानुपर्ने अवस्था छ,’ शाक्यले भने, ‘त्यही कारण केही दिनदेखि पूर्ण रूपमा फाेहोर उठाउन नसकेका हौँ ।’

उनले छिट्टै फोहोर व्यवस्थापन गरी सफा काठमाडौं बनाउने प्रतिबद्धता व्यक्त गरे। प्रमुख शाक्यले भने, ‘वर्षाका कारण बिग्रिएको सिसडोलसम्म जाने बाटो बनाउन केही समय लाग्ने भएकाले तत्काल केही दिनका लागि घर वा कार्यालयमा उत्पादन भएको फोहोर जथाभावी सडकमा नमिल्काउन तथा कुहिने र नकुहिने फोहोर छुट्याएर सकेसम्म सहरलाई कम दुर्गन्धित गर्ने प्रयासमा लाग्न सम्पूर्ण महानगरवासीलाई अनुरोध गर्न चाहन्छु।’

प्रमुख शाक्यले फोहोर व्यवस्थापनका लागि सरकारसँग समन्वय भइरहेको जानकारी दिएका छन्। प्रमुख शाक्यले भने, ‘हामीले नेपाल सरकारसँग समन्वय गरिरहेका छौँ। मुख्य गरेर हामीले सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको सडक विभागसँग सहकार्य गरिरहेका छौँ।’