१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ भदौ १४ सोमबार ०६:१७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनीमा मन्त्रिमण्डल विस्तारको तयारी : भागबन्डा मिलाउन मन्त्रालयको संख्या १३ पुर्‍याइयो

Read Time : > 1 मिनेट
२०७८ भदौ १४ सोमबार ०६:१७:००

लुम्बिनी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तारको तयारी थालिएको छ । गठबन्धन सरकारमा मन्त्रीका आकांक्षी धेरै भएपछि यहाँ मन्त्रालयको संख्या पनि बढाइएको छ । आइतबार मात्रै मन्त्रिपरिषद् बैठकबाट मन्त्रालयको संख्या १३ पुर्‍याइएको छ । लुम्बिनीमा गत साउन २८ गते नयाँ सरकार बनेको हो । कुलप्रसाद केसी मुख्यमन्त्री रहेको यहाको मन्त्रिमण्डल सात सदस्यीय रहेको छ । अब मुख्यमन्त्रीसहित १३ मन्त्री तथा थप केही  राज्यमन्त्री रहने गरी मन्त्रिमण्डल विस्तारको तयारीमा दलहरू जुटिरहेका छन् ।

यहाँ माओवादी केन्द्र, कांग्रेस, जसपा र स्वतन्त्र समूहका समेत मन्त्रिमण्डलमा सामेल छन् । अब विस्तार हुने मन्त्रिमण्डलमा नेकपा एकीकृत समाजवादीका सांसदलाई समेत समेट्ने तयारी गठबन्धनको रहेको छ ।यहाँ विगतमा माधव नेपाल पक्षमा खुलेका सांसदहरू नयाँ पार्टीमा सामेल हुनेबारे भने अझै निर्णय गरेका छैनन् । 

यी हुन् सम्भावित मन्त्री
यहाँ सात सदस्यीय मन्त्रिमण्डल रहेकाले अब विस्तार हुनेमा ६ जना मन्त्री र अन्य केही राज्य मन्त्री रहनेछन् । कुन पार्टीबाट कति मन्त्री सहभागी हुने भन्ने मोटामोटी टुंग्याएका यहाँका दलहरूले पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीहरूको टुंगो छिट्टै लगाउँदै छन् । अब विस्तार हुने मन्त्रिमण्डलमा माओवादी केन्द्रले साविकको लुम्बिनी क्षेत्रबाट पार्टीका प्रमुख सचेतक तुलाराम घर्ती मगरलाई पठाउने सम्भावना रहेको छ । त्यस्तै, राप्ती क्षेत्रबाट इन्द्रजित थारू पठाउने तयारी थालेको माओवादी केन्द्रले भेरी क्षेत्रबाट कृष्णा केसी र तिलकराम शर्मामध्ये एकजनालाई पठाउने सम्भावना रहेको छ । माओवादी केन्द्रबाट मन्त्रीको चर्चामा दामाकुमारी शर्मा, सुदर्शन बराललगायत पनि रहेका छन् । 

माओवादी केन्द्रले विमला वलीलाई राज्यमन्त्री बनाउने तयारी पनि गरेको छ । कांग्रेसबाट वीरबहादुर राना, सुरेन्द्र हमाल, वसिउद्दिन खा, निर्मला क्षेत्री र रमा अर्यालको मन्त्री बन्ने चर्चामा छन् । कांग्रेसका कोटामा पर्ने मन्त्रालयमा यिनैमध्येबाट पठाउने सम्भावना रहेको कांग्रेसका एक नेताले बताए । त्यस्तै, कांग्रेसले रिना नेपाल विकलाई राज्यमन्त्री बनाउने सम्भावना रहेको छ ।