जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिगमनविरुद्धको आन्दोलन छोडेर असंवैधानिक कदमको मतियार भएकालाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धार गरेको टिप्पणी गरेका छन् ।
समाजवादी पार्टीले शुक्रबार जनकपुरधाममा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले ‘दलदलमा फसेका व्यक्तिहरू’ पार्टीबाट गएपछि जसपालाई राजनीतिक कोर्स, संघीयता र लोकतन्त्रको मान्यता अगाडि बढाउन सहज भएको बताए । उनले भने, ‘जसपा विभाजन भएको हैन, पार्टीबाट हटाइनु पर्ने व्यक्तिहरू आफैँ बाहिरिन पुगेका हुन् ।’
यादवले आरक्षण, शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनसंख्याको आधारमा समानुपातिक समावेसी, सामाजिक न्यायको प्रत्याभूति गराउने न्याय प्रणालिको सवालमा संविधान संशोधन आवश्यक रहेको जिकिर गरे ।
यादवले नेपालको राजनीतिक दलमा समाजवादी शब्दको स्वीकारोक्ती बढ्दै गएको प्रति खुशी व्यक्त गरे । उनले भदौदेखि मंसिरसम्म पार्टीले सुरु गरेको अभियानमा योगदान गर्ने र काम गर्ने नेताहरूलाई मात्र पार्टीमा अवसर र पद प्राप्त हुने स्पष्ट पारे । अध्यक्ष यादवले समुन्नत समाजवादी लोकतन्त्रलाई संस्थागत गर्दै पूँजी र प्रविधि समयानुकूल प्रयोग गर्न सकिए देशबाट गरिबी र बेरोजगारीको अन्त्य हुने धारणा व्यक्त गरे ।