१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ भदौ ११ शुक्रबार ११:०६:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कम्युनिस्ट पार्टीको रमिता

अग्रलेख

Read Time : > 3 मिनेट
२०७८ भदौ ११ शुक्रबार ११:०६:००

नेपाली वामपन्थको अवस्था जे–जस्तो भए पनि माधव नेपाल परम्परागत नेपाली वामपन्थका एउटा खम्बा हुन् 

जनयुद्धका सर्वोच्च कमान्डर रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको राजनीतिक बैंस सन् २०१८ मे महिनाको प्रारम्भदेखि नै खुलेर बतासिएको थियो । बैंस खुलेका सुरुका दिनमा दुबै नेता प्रसन्न थिए । तर, दुवैको प्रसन्नताको कारण एउटै थिएन । मे १७ का दिन प्रचण्ड र ओलीले एकअर्कालाई फूलको गुच्छा दिएर परस्परमा सम्मानको आदान–प्रदान गरेका थिए । पार्टी एकता भएको थियो । एमाले र माओवादी केन्द्रको सम्मिलनबाट एकीकृत कम्युनिस्ट पार्टीका रूपमा ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ ले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा सरकार बनाएको थियो । त्यो सरकार झन्डै दुईतिहाइको थियो । केही समयपछि उपेन्द्र यादवको समाजवादी फोरम सरकारमा सामेल भएपछि तीनवटै पार्टी मिलाएर दुईतिहाइको सरकार बन्यो । 

मानिसले सोचे, नेपालको माटोमा एउटा नयाँ राजनीतिक प्रयोग सुरु भएको छ । कम्युनिस्टको सरकार बन्दै छ । जे हुँदै छ, त्यो राम्रै हुँदै छ । भन्नका लागि मात्रै हो कि साँच्चै हो, कम्युनिस्ट राजनीतिमा व्यक्तिका इच्छा र आकांक्षा कहिल्यै प्रमुख विषय हुँदैनन् । कम्युनिस्ट राजनीतिमा व्यक्तिलाई तात्कालिक परिस्थितिले निश्चित भूमिका सुम्पिएको हुन्छ । त्यसको निर्वहण जसले कुशलतापूर्वक गर्न सक्छ, ऊ नेताका रूपमा स्थापित हुन्छ । नेपालमा भएको मे महिनाको परिवर्तनमा त्यस्तो केही देखिएन । नेकपाका अध्यक्षका रूपमा ओलीले पार्टीका ‘अर्का’ अध्यक्ष प्रचण्डलाई ‘पेलेर’ आफ्ना लागि निकै फराकिलो ठाउँ ओगटे । अर्का अध्यक्ष प्रचण्ड अपमानित भएर पनि केही बोलेनन् । ओलीले आफूलाई पार्टीका पहिलो अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्रीका रूपमा स्थापित गर्दा पार्टीमा प्रचण्डको कुनै कार्यकारी भूमिका थिएन । ओलीले देशको सत्ता र शक्तिलाई त गुटमुट्याए । तर, उनले यी कुनै भूमिकामा आपूmलाई स्थापित र प्रमाणित गर्न सकेनन् । नेकपाको नाममा यो शासन १७ मे २०१८ देखि ८ मार्च २०२१ सम्म चल्यो । यसबीच, वामपन्थी राजनीति जेजस्तो उहापोहबाट गुज्रियो ती भर्खरकै घटना हुन् । 

‘सरकारको शुद्धीकरणका लागि’ नेकपाका ‘अर्का’ अध्यक्ष प्रचण्डले नेकपाको ७०औँ सचिवालय बैठकमा सनसनीखेज तर महत्वपूर्ण राजनीतिक प्रस्ताव प्रस्तुत गरे । यसको सुरुमै प्रचण्डले पार्टी एकता प्रक्रियाले निकै ठूलो अन्योल र गतिरोधको सामना गरिरहेको बताएका थिए । उनले प्रस्तावको प्रारम्भमा ‘पार्टी र सरकार दुवैको मुख्य नेतृत्वमा रहेका’ ओलीको व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली’ प्रमुख रूपमा जिम्मेवार रहेको बताएका थिए । त्यति मात्रै होइन, प्रचण्डले ‘सत्तामा रहेको पार्टीभित्र भ्रष्टाचार, विचलन, नोकरशाही शैली, व्यक्तिवाद, पदीय अहंकार, नैतिक र चारित्रिक स्खलन र जनताबाट अलगावको प्रवृत्ति’ देखिएको भनी गरेको टिप्पणीको उपहास गरियो ।’ वास्तवमा, त्यतिवेला नेकपाभित्रको अवस्था त्यस्तै थियो ।

यी कुरा धेरै अघिका होइनन्, हिजोअस्तिकै हुन् । माओवादी केन्द्र र एमालेबीचको बैंसालु सम्बन्धविच्छेद भएर नेपालको वाम राजनीतिमा नयाँ परिच्छेद सुरु भइसकेको छ । यो नयाँ परिच्छेद कतै गएर जोडिन्छ कि भन्ने आशंका पनि नभएको होइन । किनभने, अहिलेको परिस्थितिमा एमालेभित्र टुटफुटको निरन्तरता रही नै रहने लक्षण पनि देखिएको छ । त्यसका लागि एकीकृत समाजवादी उपयोगी हुन सक्छ ।

एमालेभित्रका मध्यमार्गीहरू एमाले अखण्डताका नाममा ओलीको डाचामा प्रवेश गरेका छन्, तर, त्यहाँ पनि कोही सुरक्षित रहने देखिँदैन । एमाले अध्यक्षका रूपमा ओली कहिले विदुषक देखिन्छन् भने धेरैजसो विध्वंसक । उनले आफ्ना सहयोगीको राजनीतिक विचार र सामथ्र्यको सम्मान गर्ने छाँटकाँट नदेखाएको अवस्थामा उनी एक्लै सम्प्रभुका रूपमा स्थापित हुन खोजेर कुनै परिणाम आउने सम्भावना छैन । नेपाली वामपन्थको अवस्था जे–जस्तो भए पनि माधव नेपाल परम्परागत नेपाली वामपन्थका एउटा खम्बा हुन् । जो खम्बा हो, उसलाई खम्बा भनेर स्वीकार गर्नु र सम्मान दिनु राजनीतिक सद्भावको प्रारम्भ हो । यसमा कसैले कन्जुसी गर्नुपर्दैन ।

ओलीको सद्भावरहित व्यवहार र निरन्तरको कटाक्षका कारण माओवादीले ढिलोचाँडो नेकपाबाट अलग हुनु नै थियो । ऋषि कट्टेलको माग–निवेदनका आधारमा सर्वोच्च अदालतबाट दल खण्डित नभएको भए पनि माओवादीले सामान्य अवस्थामा एकीकृत बसिरहनु सम्भव थिएन । माओवादी केन्द्रको नेतृत्वप्रति असन्तोष भाव देखाएर जो–जो माओवादी नेता अहिले एमालेमा छिरेका छन्, तिनको प्रतिष्ठा कहाँ पुगेको छ ? यो सबैले देखेकै हो ।

नेकपा (एकीकृत समाजवादी) ले आफूसँगै रहने अन्दाज गरेका दश अवतारको एमालेमा पलायन अहिलेको कम्युनिस्ट राजनीतिक परिदृश्यमा देखिएको सबभन्दा कमजोर कर्म हो

नेपालको वामपन्थी राजनीति अहिले नयाँ परिवेशमा देखिएको छ । यो परिवेशको एक छेउमा एमाले आफ्नो दक्षिणपन्थी व्यवहार र अनुहारसाथ खडा छ । परिवेशको अर्को छेउमा नेकपा (एकीकृत समाजवादी) देखा परेको छ । समाजवादीको उपस्थिति स्थायी हो । वैचारिक हिसाबले नवीन र वैकल्पिक होइन । अहिलेसम्म एमाले र एकीकृत समाजवादीबीचका आधारभूत भिन्नताको कसैले मीनमेख निकालेको पनि छैन । एकीकृत समाजवादीले आफूसँगै रहने अन्दाज गरेका दश अवतारको एमालेमा पलायन अहिलेको राजनीतिक परिशिष्टमा देखिएको सबभन्दा कमजोर कर्म हो । एमालेको क्षितिज आफ्नो होइन भन्ने थाहा हुँदाहुँदै त्यहीँ घुस्रिरहनुलाई नै कम्युनिस्ट मान्यता भन्ने हो कि ?

देशमा एउटै मात्र कम्युनिस्ट पार्टी अपुग हुने कुरा हाँसोको मात्रै विषय होइन । नेकपाको नाममा एउटा सिंगो र बलियो कम्युनिस्ट पार्टी बनाउने मौका थियो, जसलाई ओलीले आफ्नो अहंकार र राजनीतिक स्वार्थका कारण ध्वस्त बनाइदिए । एउटा एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हुटहुटी प्रचण्डमा छ । उनी शान्ति प्रक्रियामा आएपछि बृहत् कम्युनिस्ट पार्टीको निर्माणसँगै देशलाई महत्वाकांक्षी बनाउन चाहन्थे । माओवादीले पहिलो संविधानसभा चुनावमा झन्डै बहुमत ल्याएको थियो । त्यतिखेर, माओवादीको केन्द्रीय समितिमा ३५ जना मात्रै सदस्य थिए । प्रचण्ड त्यतिवेलै एमालेसँग एकताको पहल गर्ने पक्षमा थिए । तर, चुनावको चटारोले त्यस्तो केही हुन पाएन । 

रमाइलो कुरा के भने, चुनावमा कांग्रेस, एमाले र राप्रपाले माओवादीलाई सारै कम आँकेका थिए । खास गरेर, कम्युनिस्ट पार्टीका रूपमा एमालेले माओवादीलाई सारै कम आँकेको थियो । अन्ततः एमालेको त्यो अनुमान गलत साबित भयो । कांग्रेस सभापति तथा नेता गिरिजाप्रसाद कोइराला माओवादीहरू चुनाव जितेर आऊन् भन्ने पक्षमा भएकाले कांग्रेस पनि चुनावमा त्यति तात्तिएको थिएन । पछिल्लोपटक, संविधान निर्माण भइसकेपछिको आमचुनावमा वाम मोर्चाबन्दीको विचार प्रचण्डकै थियो । यसबाट के थाहा हुन्छ भने प्रचण्डका लागि नेपालमा कम्युनिस्टलाई एकताबद्ध गराउनु गाह्रो काम थिएन । त्यसलाई निरन्तरता दिनु निकै अप्ठेरो थियो । 

पार्टी एकताका सन्दर्भमा प्रचण्ड भन्छन्– मैले हेर्दा सरकार र माओवादीबीच भएको यो बृहत् शान्तिसम्झौता विचित्रको थियो । वाम गठबन्धन र पार्टी एकता अर्को ठूलो काम भयो । मैले गरेका ती काम अहिले मलाई नै भारी परेका छन् । कम्युनिस्ट हुनुको नाताले मैले जे काम गरेँ, त्यो अहिलेको समयमा कसैलाई सह्य भएन । अमेरिकालाई पनि सह्य भएन । भारतलाई पनि सह्य भएन । युरोपलाई पनि सह्य भएन । चीनलाई केही भए होला । चीनले गरेर पनि यहाँ केही हुनेवाला छैन ।