मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
दीपक बोहरा दाङ
२०७८ भदौ १० बिहीबार ११:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तुलसीपुर खानेपानी कार्यसमिति भन्छ– अध्यक्षले राजीनामा गरेको जानकारी छैन

Read Time : < 1 मिनेट
दीपक बोहरा दाङ
२०७८ भदौ १० बिहीबार ११:३७:००

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष खेमराज वलीले केही दिनअघि पत्रकार सम्मेलन गरी कार्यसमिति नै भंग भएको घोषणा गरे पनि कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरूले भने आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन्। बुधबार कार्यसमितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित अन्य सबै सदस्यहरूले सूचना जारी गरी यस्तो बताएका हुन्।

‘अध्यक्षद्वारा एकल पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेको, तर यस संस्थामा आजसम्म कुनै पनि आधिकारिक पत्र आइपुगेको छैन,’ सूचनामा भनिएको छ । कार्यसमितिका उपाध्यक्ष गिरिधारिप्रसाद पौडेल, सचिव मनोज लामिछाने, कोषाध्यक्ष सीताराम शर्मालगायत अन्य पाँच सदस्यले हस्ताक्षर गरी संयुक्त सूचना जारी गरेका हुन्।

अध्यक्ष वलीले काम गर्ने वातावरण नभएको र पछिल्लो कार्यसमितिको अवधि सकिएको १७ महिना भइसकेकाले नैतिकताका हिसाबले राजीनामा दिएको र संस्थाको कार्यसमिति नै भंग भएको घोषणा गरेका थिए। तुलसीपुर खानेपानी संस्था पछिल्लो समय विवादमा तानिएको छ। खानेपानीमा हिनामिना भएको भन्दै अदालत र अख्तियारमा उजुरीसमेत परेको छ।

खानेपानीमा व्यापक भ्रष्टाचार भएको आरोपसहित अदालतमा रिट परेपछि गत वर्ष फागुन २२ गते तोकिएको निर्वाचन अहिले पनि अनिश्चित बनेको छ। उच्च अदालत तुलसीपुरले अनुसन्धानकै क्रममा रहेकाले तत्काल निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो।

यस्तै, अख्तियारले संस्थाका पाँच वर्षयताका कागजात लिएको छ। केही दिनअघि मात्रै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत अर्थसँग सम्बन्धित कागजात झिकाइएको छ । अहिले संस्थामा कार्यसमिति नहुँदा सहलगानीको कामसमेत अघि बढ्न सकेको छैन।