मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ भदौ ९ बुधबार १०:३१:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

एमालेको विभाजन र वाम ध्रुवीकरण

हिजो माओवादी साथमा हुँदा ओलीले जे गरे, त्यसकै निरन्तरताले एमालेसमेत विभाजन हुने बिन्दुमा पुग्यो

Read Time : > 3 मिनेट
२०७८ भदौ ९ बुधबार १०:३१:००

यही बुधबार सनाखत भएपछि एमालेको विभाजनमा निर्वाचन आयोगको अन्तिम टाँचा लाग्नेछ र नेकपा एकीकृत समाजवादी नामको नयाँ राष्ट्रिय पार्टी अस्तित्वमा आउनेछ । त्यसो भयो भने दुईतिहाइनिकट बहुमतसाथ ०७५ फागुनमा सत्तारुढ भएको पार्टीका लागि निकट अतितमा सत्ताच्यूत भएयताको अर्को ठूलो झट्का हुनेछ । तर, उसका लागि यही झड्का नै अन्तिम भने हुनेछैन । किनकि, गण्डकी र लुम्बिनीका प्रदेश सरकार ढलेर प्रारम्भ भएको पतनको यो सिलसिलाको उत्कर्ष प्रदेश एक र बागमतीको सरकार फेरिएपछि मात्र पूरा हुनेछ । 

एकताको बल्छीका तीन खुड्किला : माधव नेपाल–झलनाथ खनाल पक्षलाई पूर्णतया तिरस्कार गरेर २८ फागुन ०७७ मा एकलौटी ढंगले पार्टी हाँक्न थालेयता केपी ओलीले जम्मा तीनपटक एकताका लागि वार्ताको नाटक गरे । पहिलो नाटक, राष्ट्रिय सभा निर्वाचनमा नेपाल–खनाल पक्षले प्रतिपक्षी दलको साथमा खिमलाल देवकोटाको उम्मेदवारी दिएपछि मञ्चन भयो । दुवै पक्षका पाँ–पाँचजना सम्मिलित वार्ताटोली बन्यो । त्यसको मकसद एकता थिएन, फगत माओवादीका भगौडा र ओलीका चहेता रामबहादुर थापालाई हारबाट बचाएर आफ्नो इज्जत जोगाउनु थियो । यसको अर्को मकसद नेपालको छवि धूतिसात् गर्नु र साथ दिनेहरूको नजरमा उनलाई गिराउनु थियो । 

सर्वोच्चले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फैसलाको दिन नजिक आएपछि ओलीलाई जसरी पनि पुनस्र्थापनाको पक्षमा गएका एमालेका सांसदको हस्ताक्षर  फिर्ता गराएर मुद्दालाई प्रभावित नपारी भएकै थिएन । त्यसैले त मुद्दाको फैसला हुने अघिल्लो रात १० बुँदे सहमति जारी भयो र वार्ताटोलीका ओली पक्षीय सदस्य विष्णु पौडेलले सगर्व भने– अब एमाले सांसदले गरेको हस्ताक्षर स्वतः फिर्ता भइसक्यो । तर, अदालतको फैसला त्यो दशबुँदे सम्झौताले प्रभावित भएन र ओली सरकार पदच्यूत भयो । 

तेस्रोपटक १० बुँदे सम्झौता कार्यान्वयन गर्ने वार्ता त्यसवेला सुरु भयो, जब नेपाल–खनाल पक्ष अलग पार्टी दर्ताका लागि निवेदन दिएर सनाखत गर्न तयार छ । तर, यसपटक ओलीको जालझेलको बल्छीमा परेर वार्ताटोलीका पूर्वसदस्य एवं स्वघोषित तेस्रो धारका नेताहरूको नकाब पनि उत्रियो । तिनले तयार गरेको मिति नाघेको १० बुँदेको बुटी ओली पक्षले फेरि पनि लागू गर्ने उद्घोष गर्‍यो । नेपालसहित १४ सांसदमाथिको कारबाही फिर्ता नलिए पनि स्वतः फिर्ता भयो भन्दियो र उनीहरू पनि पार्टी एकता जोगाइयो भन्दै आफ्ना सबै पुराना अडानलाई तिलाञ्जली दिएर ओलीको भजनमण्डलीमा सामेल हुने भए । अब यीमध्ये कतिपयले नेपालले पार्टी विभाजन गर्न हुँदैनथ्यो भनेर माउ पार्टीमा फर्कन अर्ती–उपदेश दिनेछन् भने कतिपय गालीगलौजमै पनि उत्रनेछन् । 

विभाजनको आधार : धेरैलाई लाग्न सक्छ, एमालेको विभाजन नेताहरूको आपसी टक्करको उपज हो । तर, मलाई त्यस्तो लाग्दैन । ओली नेतृत्वमा पार्टीमा हुर्कँदै गरेको विचारहीनता, उनको हैकम, उनको स्तुतीगान, पार्टीभित्र हराउँदै गएको आन्तरिक लोकतन्त्र, पार्टी सञ्चालनमा पद्धति र प्रक्रियाको ह्रास, दक्षिणपन्थी चिन्तनको बोलबाला र उनको अहंको एकमुष्ठ अभिव्यक्तिका रूपमा प्रकट भएको अन्तर्विरोध र त्यसलाई पद्धतिसंगत ढंगले समाधान गर्नेभन्दा पनि ओलीको नेताहरूलाई एक–अर्काविरुद्ध लडाउने भिडाउने व्यवहारका कारण यो स्थिति सिर्जना भएको हो । अहिले जनता समाजवादी पार्टीको विवाद समाधान गर्न निर्वाचन आयोगले जुन तदारुकता देखायो, त्यही तदारुकता नेकपा विवाद समाधान गर्ने सन्दर्भमा पनि देखाएको भए यो राजनीतिक परिदृश्य अर्कै हुने थियो । त्यसवेला सर्वोच्चले माओवादी र एमालेलाई छुट्याइदिएर पुनः अर्को नाममा एकता गर भनेको भए पनि त्यसले कुनै तात्विक फरक पार्दैनथ्यो । हो, माओवादी साथ हुँदादेखि जे गरियो, त्यसकै निरन्तरताले एमालेसमेत विभाजन हुने बिन्दुमा पुग्यो । 

अबका दिनमा मुलुकको संसदीय राजनीतिमा क्रियाशील प्रमुख चार कम्युनिस्ट शक्तिमाझको ध्रुवीकरणमा माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एकातिर र ओली एमाले अर्कोतिर हुने देखिन्छ

ओली एमालेको भविष्य : पहिरो जस्तो होस् वा सानो, विभाजित दलको अवस्था नेपाली राजनीतिमा सदैव दयनीय रहेको छ । जस्तो कि समकालीन इतिहास भन्छ– विभाजित मन लिएर २०५१ सालमा दुईतिहाइको जित निकाल्न मध्यावधिमा होमिएको कांग्रेस होस् वा दल नै विभाजित भई २०५६ सालमा निर्वाचनमा गएको एमाले वा छिन्नभिन्न भएर दोस्रो संविधानसभा निर्वाचनमा गएको माओवादी होस् सबैले पराजय नै भोगे । अब ओलीको शेषपछि नीति र नेतृत्वमा परिवर्तन आएछ भने त बेग्लै कुरा हो । होइन भने ओली एमालेको गुमेको ताज निकट भविष्यमा फर्कने कुनै सम्भावना छैन । मिश्रित निर्वाचन पद्धतिका कारण कुनै एक दलको बहुमत यसै पनि आउँदैन । यस्तोमा गठबन्धन निर्माणमा जो पोख्त हुन्छ, उसैले बाजी मार्छ ।

आफ्नो सत्ता स्वार्थका लागि संविधान, संघीय शासन र लोकतन्त्रलाई नै पाखा लगाउन तयार राजनीतिक दलसँग मूलधारका राष्ट्रिय दलहरू कोही पनि सहकार्य गर्न तयार हुने अवस्था देखिँदैन । अतः डेढ वर्षपछि फर्केर म नै लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउँछु भनेर ओलीले संसद्मा जति नै गुड्डी हाँके पनि क्षितिजमा त्यसको कुनै सम्भावना देखिँदैन । 

नेकपा समाजवादीको भविष्य : जब सिद्धान्त र पार्टी पद्धतिका लागि लडिन्छ, त्यो लडाइँमा नाफा–नोक्सान हेरिँदैन । ओलीको हैकमविरुद्ध विद्रोह गरेर बनेको यो पार्टीको बाटो पनि चुनौतीपूर्ण नै छ । तैपनि, जेलाई हामी ओली प्रवृत्ति भन्छौँ त्यो त्यस पार्टीको केन्द्रमा मात्र छैन । जिल्ला–जिल्लामा छोटे ओलीहरूको ब्याड राम्रैसँग हुर्केका छन् र तिनले आ–आफ्ना ठाउँका फरक विचार राख्नेलाई त्यसैगरी निरन्तर प्रताडित गरिरहेका छन् । अतः जब नेपाल–खनालले विद्रोहको झन्डा बोके, स्वतःस्फूर्त ढंगले देशव्यापी रूपमा एमालेका समानान्तर जिल्ला कमिटी बने । जनवर्गीय संगठनका राष्ट्रव्यापी रूपमा समानान्तर सञ्जाल बने । बने मात्र होइन, त्यसमा नेता कार्यकर्ताको उत्साहपूर्ण संलग्नता पनि देखियो । मलाई लाग्छ, निर्वाचन आयोगमा दर्ता हुनासाथ यी सबै समानान्तर संगठन राष्ट्रव्यापी रूपमा यही दलमा गाभिनेछन् र राष्ट्रिय पार्टी खडा हुनेछ ।

वाम धुवीकरण : यतिवेला नेपालको राजनीतिमा ध्रुवीकरण तीव्रताका साथ भइरहेछ । सत्तामा वाम–लोकतान्त्रिक पक्ष आसीन छ भने ओली एमालेको नेतृत्वमा राप्रपालगायत दक्षिणपन्थी पुरातनवादी शक्ति प्रतिपक्षमा छन् । सुन्दा अचम्म लाग्ने, तैपनि यतिवेलाको सत्य के हो भने ओलीको नेतृत्वमा एमालेले द्रुत गतिमा दक्षिणपन्थी धार समातेको छ । उनी स्वयं त्यसै रामपन्थी भएका होइनन्, त्यसैमा उनले आफ्नो राजनीतिक भविष्य खोज्न थालेका हुन् । फेरि उनका आसपास गोलबन्द भएका चाटुकारले पनि उनलाई त्यतै लाग्न प्रेरित गरिरहेछन् । यो अवस्थामा मुलुकको संसदीय राजनीतिमा क्रियाशील प्रमुख चार कम्युनिस्ट शक्तिमाझको ध्रुवीकरणमा माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एकातिर र ओली एमाले अर्कोतिर हुने देखिन्छ । अझ यसमा जनता समाजवादी पार्टीको शक्तिसमेत थपिँदा यो एउटा सशक्त मोर्चा बन्ने स्पष्ट देखिन्छ । 

अबको भविष्य गठबन्धन : सधैँ प्रतिपक्षमा बस्न तयार हुने हो भने कुरा अर्कै हो । होइन भने, अबको संसदीय राजनीतिमा एक्लो रहेर कुनै दलले सत्ता–राजनीतिमा स्थान बनाउन सक्दैन । किनकि, कुनै एक दलले एक्लै आमनिर्वाचनमा बहुमत ल्याउने सम्भावना छैन । त्यसैले राजनीतिक दलहरूले कि त पूर्वनिर्वाचन गठबन्धन कि निर्वाचनपछि गठबन्धन नबनाई सुखै छैन । अतः जुन–जुन राजनीतिक दल यो कार्यमा लचिला र निपूर्ण हुन्छन् तिनले मात्र बाजी मार्न सक्छन् ।  यस कोणबाट हेर्दा पनि अब यो मुलुकमा वाम र लोकतान्त्रिक गठबन्धनको भविष्य छ, दक्षिणपन्थी गठबन्धनको छैन ।