मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दीपक अधिकारी दार्चुला
२०७८ भदौ ९ बुधबार ०९:५६:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जयसिंह धामी बेपत्ता घटना : तेस्रोपटक थपियो छानबिन समितिको म्याद

Read Time : < 1 मिनेट
२०७८ भदौ ९ बुधबार ०९:५६:००

दार्चुलाका जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गर्न बनेको समितिको म्याद फेरि एक साता थपिएको छ । समितिले काम थालेको २५ दिनसम्म छानबिन नसकेपछि गृह मन्त्रालयले तेस्रोपटक म्याद थपेको हो ।

गत १७ साउनमा सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठन भएको छानबिन समितिलाई गृहमन्त्री बालकृष्ण खाणले थप एक साताको समय दिने निर्णय गरेका हुन् । ‘उहाँहरूले काम नसकिएकाले म्याद थपका लागि निवेदन दिनुभएको थियो,’ गृह मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङले भने, ‘समितिलाई एक साताका लागि समय थपिएको छ ।’

 समितिलाई सुरुमा १० दिनको समय दिइएकोमा सात–सात दिन गरेर १४ दिनको समय दुईपटक थप भइसकेको छ । यति संवेदनशील विषयको छानबिनमा ढिलाइ भएकोमा आलोचना हुँदै आएको छ । 

समितिका दुई सदस्य पारिवारिक समस्याका कारण बिदामा भएकाले समितिले प्रतिवेदन टुंगो लगाउन नसकेको हो । समितिमा रहेका सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ तथा दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट केही दिनयता बिदामा छन् । 

समितिमा नेपाल प्रहरीका डिआइजी पुरुषोत्तम कँडेल तथा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा सदस्य छन् । अबको एक साताभित्र प्रतिवेदन बुझाइने समितिका एक अधिकारीले दाबी गरे ।

गत १५ साउनमा दार्चुला व्याँस गाउँपालिका– २ का धामी भारत जान खाङदाङ मालघाटमा रहेको तुइनबाट महाकाली तरिरहँदा खसेर बेपत्ता भएका थिए । पारितर्फ रहेका सीमा सशस्त्र बल (एसएसबी)ले तुइन काटेको प्रत्यक्षदर्शीले बताएका छन् । सरकारले छानबिन प्रतिवेदनका आधारमा यस विषयमा भारतसँग कुरा गर्ने बताउँदै आएको छ । तर, छानबिनमै ढिलाइ हुँदा भारतसँग यस विषयमा कुरा हुन सकेको छैन ।