१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७८ भदौ ९ बुधबार ०६:४२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गड्डाचौकी नाकाबाट पर्यटन बोर्डले कार्यालय हटायो

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७८ भदौ ९ बुधबार ०६:४२:००

कञ्चनपुरको गड्डाचौकी नाका दक्षिण एसियालगायत तेस्रो मुलुकका पर्यटक भित्रिने महत्वपूर्ण स्थलमार्ग हो । यो भारतको राजधानी नयाँदिल्लीबाट झन्डै ३ सय ७९ किलोमिटर दूरीमा छ । 

नेपाल–भारत महाकाली नदीमा पुल निर्माण नहुँदासमेत भारत, दक्षिण एसियालगायत अन्य मुलुकका पर्यटक नेपाल भित्रिने एक प्रमुख गन्तव्य पनि हो । अहिले महाकाली नदीमा पुल निर्माणसँगै नेपाल–भारत जोड्ने एसियन हाइवे निर्माण भइरहेको छ । महाकाली नदीमा पुल निर्माणसँगै नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय नाकाका रूपमा गड्डाचौकी विकसित भइरहेका वेला नेपाल पर्यटन बोर्डले गड्डाचौकीमा राखेको पर्यटन बोर्डको कार्यालय हटाएको छ ।

१६ वर्षअघि अर्थात् ०६१ सालमा पर्यटन बोर्डले गड्डाचौकीबाट नेपाल भित्रिने पर्यटकलाई लक्षित गरेर कार्यालय स्थापना गरेको थियो । पूर्व झापा र पश्चिम कञ्चनपुरमा कार्यालय स्थापना गरिएको थियो । तर, झापामा सञ्चालन भए पनि कञ्चनपुरमा बन्द भएको छ । बोर्डले साउन २ देखि कार्यालय बन्द गरेको छ । नेपाल पर्यटन बोर्ड गड्डाचौकी कार्यालयका सहायक कर्मचारी थानेश्वर लेखकले बोर्डबाट आएका प्रबन्धक सूर्य थपलियाले कार्यालयको बरबुजारत मागेर तालाचाबी लगेपछि कार्यालय बन्द भएको बताए ।

उनले भने, ‘जहिलेदेखि गड्डाचौकीमा नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना भयो, त्यही समयदेखि म कार्यरत छु । अहिले १६ वर्षपछि आएर कार्यालयका प्रबन्धक थपलियाले मबाट बरबुजारत मागेर तालाचाबी लगेर कार्यालय बन्द गराएका छन् ।’ उनले यहाँबाट कार्यालय सारेर अन्यन्त्र लग्ने षड्यन्त्र भइरहेको बताए । लेखकले भने, ‘म यो कार्यालयमा बस्नु–नबस्नु महत्वपूर्ण कुरा होइन, यस क्षेत्रको पर्यटकीय सम्भावना बोकेको क्षेत्रको विकासमा बाधा पुग्ने भयो ।’ उनले आफूले ५ महिनादेखि पारिश्रमिकसमेत नपाएको बताउँदै कार्यालय बन्द गरे पनि आफू नियमित कार्यालयमा आइरहेको बताए । 

बोर्डले कञ्चनपुरको भीमदत्त नगरपालिकासँग १ असोज ०७७ मा नेपाल पर्यटन बोर्डको प्रादेशिकस्तरको कार्यालय स्थापना गर्ने सम्झौता गरेको छ । बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टसँग प्रादेशिकस्तरको पर्यटन बोर्डको कार्यालय राख्ने सहमति गरेको चार महिनापछि कैलालीको धनगढी उपमहानगरसँग पनि धनगढीमा प्रदेशस्तरको पर्यटन बोर्डको कार्यालय राख्ने सम्झौता गरेका छन् ।

पर्यटन बोर्डका कार्यकारी निर्देशक रेग्मी र धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडबीच १३ पुस ०७७ मा धनगढीमा पर्यटन बोर्डको प्रादेशिक कार्यालय राख्ने लिखित सम्झौता गरेका छन् । भारतसँग जोडिएका दुई जिल्ला कैलाली–कञ्चनपुरमा प्रादेशिक कार्यालय राख्ने सम्झौता गरेर यसअघि नै स्थापना भएको कार्यालय बन्द गराएपछि दुवैतर्फ प्रादेशिकस्तरका पर्यटन बोडको कार्यालय दिने आश्वासनमा अनियमितताको आशंका गरिएको छ ।  

गड्डाचौकी पर्यटकीय प्रवेश नाकाका रूपमा पछिल्लो दिनमा विकसित भइरहेको छ । उक्त नाकाबाट भारतलगायत तेस्रो मुलुकका पर्यटक भित्रिने–बाहिरिने गरिरहेका छन् । अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार भारतलगायत, अमेरिका, जापान, इजरायल, इटाली, स्पेन, स्विडेन, कोरियालगायतका नागरिक यही नाका भएर नेपाल भित्रिने गरेका छन् । 

अध्यागमन कार्यालय गड्डाचौकीको तथ्यांकअनुसार एक दशकको अवधिमा २२ हजार ५९ विदेशी नागरिक गड्डाचौकी नाकाबाट भित्रिएका छन् भने १६ हजार ६ सय २२ बाहिएका छन् । जनवरी २०१० देखि अगस्ट ०२१ सम्ममा उक्त नाकाबाट बाहिरिनेभन्दा भित्रिने पर्यटकको संख्या ५ हजार ४ सय ३७ ले बढी रहेको पाइन्छ ।