१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ८ मंगलबार ०७:२३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ८ मंगलबार ०७:२३:००

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । क्यान र माई सेकेन्ड टिचर्सले सोमबार संयुक्त रूपमा राष्ट्रिय टोलीको जर्सी सार्वजनिक गरेको हो । नेपाली टोलीको नयाँ जर्सी डिजाइन आदर्श पोखरेलले गरेका हुन् । क्यानले जर्सीको प्रयोजक खोज्ने जिम्मा एडप्याडलाई दिएको थियो । जर्सी डिजाइनका लागि खुला आवेदन आह्वान भएको थियो । खुला प्रतिस्पर्धाबाट छनोटमा परेका पोखरेलको डिजाइन सर्वोत्कृष्ट भयो । 

डिजाइनर पोखरेलले टोलीको नयाँ जर्सी डिजाइन गरेबापत पुरस्कारस्वरूप एक लाख रुपैयाँ प्राप्त गरेका छन् । नयाँ जर्सी नेपाली टोलीले ओमानमा हुने त्रिकोणात्मक सिरिजमा लगाउनेछ । यसअघि छनोट गरिएको जर्सीमा धेरै विवाद आएपछि क्यानले जर्सीको प्रायोजक खोज्ने जिम्मा एडप्याडलाई दिएको थियो । एडप्याडले समर्थकहरूबाट खुला प्रतिस्पर्धा गराई नयाँ जर्सीको डिजाइन संकलन गरेको हो । आवेदनमा पाँच सयभन्दा बढी व्यक्तिले सहभागिता जनाएका थिए । क्यानले बोर्ड सदस्य छुम्बी लामा, जनरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र माई सेकेन्ड टिचरका आशिष सिग्देल सम्मलित समितिले जर्सीको अन्तिम छनोट गरेको हो । 

नयाँ जर्सीमा नेपाली राष्ट्रिय झन्डाको नीलो र रातो रङ प्रयोग भएको छ । नेपाली संस्कृति तथा सगरमाथा पनि यसमा देख्न सकिन्छ । यसैबीच नेपाली क्रिकेट टोली मंगलबार ओमान प्रस्थान गर्दै छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । यसै सिरिजमा नेपालले नयाँ जर्सी प्रयोग गर्नेछ । सिरिज १३ देखि २० सेप्टेम्बरसम्म चल्नेछ । 

सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय खेल खेल्नेछ । नेपाल र पपुवा न्युगिनीबीचको खेल ५ र ८ सेप्टेम्बरमा रहेको क्यानले जनाएको छ । त्यसपछि नेपालले ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजमा भाग लिनेछ । यसअघि नेपालले सन् २०२० को फेब्रुअरीमा त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमान र अमेरिकाविरुद्ध सिरिज खेलेको थियो । त्यसपछि नेपालले लिग–२ मा पहिलोपटक सिरिज खेल्न लागेको हो । आइसिसी विश्वकप लिग २ मा नेपालले चार खेलबाट चार अंक बटुलेको छ ।