मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
ख्याम भुजेल
२०७५ पौष ५ बिहीबार ११:१०:००
Read Time : > 1 मिनेट
प्रदेश

अनुमतिविनै मदिरा बिक्री

Read Time : > 1 मिनेट
ख्याम भुजेल
२०७५ पौष ५ बिहीबार ११:१०:००

होटेल–रेस्टुरेन्टमा मदिरा र सुर्तीजन्य वस्तुको अवैध कारोबार

सदरमुकामस्थित इलाम बजारका अधिकांश होटेलले अनुमति नलिई मदिरा र सुर्तीजन्य वस्तुको बिक्री गर्ने गरेको पाइएको छ । होटेलमा मदिरा र सुर्तीजन्य वस्तु बेच्न आन्तरिक राजस्व कार्यालयबाट अनिवार्य रूपमा अनुमति लिनुपर्छ । तर, यहाँका व्यवसायीले अनुमतिविनै कारोबार गर्ने गरेको पाइएको छ । आन्तरिक राजस्व कार्यालयअन्तर्गतको करदाता सेवा कार्यालय इलाम,  जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाम नगरपालिका, उद्योग वाणिज्य संघको संयुक्त टोलीले बजार अनुगमन गर्दा यस्तो पाइएको हो । 

३० मध्ये १६ गैरकानुनी सञ्चालित

३० होटेलको अनुगमन गर्दा १६ वटा होटेलले इजाजत नै नलिई मदिरा बिक्री गर्दै आएको पाइएको अनुगमनमा संलग्न कर अधिकृत यादव खड्काले जानकारी दिए । उनले केही होटेलमा बिक्रीवितरण गर्न प्रतिबन्धित घरेलु मदिरासमेत भेटिएको छ तथा कतिपय होटेल र खाजाघर व्यवसाय दर्तासमेत नगरी सञ्चालनमा रहेको पाइएको बताए ।

‘अनुमति नलिई मदिरा बिक्री गर्ने होटेलहरूलाई इजाजत लिन एक साताको समय दिइएको छ । यस्तै, घरेलु मदिरा बिक्री नगर्न सचेत गराइएको छ,’ कर अधिकृत खड्काले भने, ‘दिइएको समयसीमाभित्र व्यवसाय दर्ता नगरे र मदिरा र सुर्तीजन्य वस्तु बिक्रीको अनुमति नलिए र प्रतिबन्धित घरेलु मदिरा बिक्री बन्द नगरे कारबाही गरिनेछ ।’ 

नसच्चिए कारबाही गर्ने तयारी

सचेत गराउँदासमेत अनुमति नलिए अन्तःशुल्क ऐन ०५८ र मदिरा ऐन ०३१ अनुसार कारबाही गरिने कर अधिकृत खड्काको भनाइ छ । अनुमति नलिई मदिराको बिक्री गरेको पाइए मदिरा जफत गर्ने, जफत भएको मदिराको परिमाणअनुसार बिगो कायम गर्ने र उत्ति नै बराबरको जरिवाना गर्ने प्रावधान छ । अनुमतिविनै मदिरा बिक्री करदाता सेवा कार्यालयले व्यवसायीलाई उपलब्ध गराएको समय सीमा सकिएपछि पुनः अनुगमन गर्ने जनाएको छ । 

प्रतिबन्धित भारतीय मदिरासमेत बिक्री

इलामको सीमावर्ती क्षेत्रका बजारमा प्रतिबन्धित भारतीय मदिरासमेत बिक्री हुने गरेको छ । खुला सीमाको फाइदा उठाउँदै व्यापारीले भारतीय मदिरा नेपाल भिœयाउने गरेका छन् । पशुपतिनगर, मानेभन्ज्याङ, जौवबारी, फालोटलगायत क्षेत्रमा खुलेआम प्रतिबन्धित मदिरा बिक्री हुने गरेको छ ।