मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मुना कुँवर काठमाडौं
२०७८ भदौ ४ शुक्रबार ०९:४३:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

डेढ वर्षदेखि रोकिएका ११ हजार कामदार कोरिया जान पाउने, तर साढे २ लाख थप खर्च लाग्ने

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडौं
२०७८ भदौ ४ शुक्रबार ०९:४३:००

काठमाडौंदेखि सिओलसम्म सीधा उडानबाट मात्रै कामदार जान पाउने, क्वारेन्टिन र बिमाशुल्क गरेर साढे दुई लाख लाग्ने

कोरोना महामारी सुरु भएपछि डेढ वर्षदेखि कोरिया जान नपाएका ११ हजार कामदार अब जान पाउने भएका छन् । गत वर्ष नेपालमा लकडाउन सुरु भएपछि अहिलेसम्म पनि कामदारहरू कोरिया जान पाएका थिएनन् । नेपाल सरकार र कोरिया सरकारबीच सीधा उडानबाट कामदार पठाउने, कोरियामा पुगेर १४ दिन क्वारेन्टिन बस्नुपर्ने र क्वारेन्टिन तथा बिमाशुल्कसमेत कामदार स्वयंले व्यहोर्ने विषयमा सहमति भएको छ । ‘यी तीनवटै सर्त कोरिया सरकारले राखेका कारण लामो समयदेखि कामदार जान पाएका थिएनन्, यी सर्त पूरा गर्ने सहमति भएका कारण अब कामदार जान पाउनेछन्,’ वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले भने । 

तर, नयाँ व्यवस्थाअनुसार कामदार पठाउँदा श्रमिकले करीब साढे २ लाख रुपैयाँ थप खर्च गर्नुपर्ने भएको छ । यसअघि ट्रान्जिट हुँदै कोरिया जान पाउने व्यवस्था थियो, त्यसका लागि हवाई भाडा करिब ३ सय डलर (करिब ३६ हजार रुपैयाँ) लाग्थ्यो । तर, कोरिया सीधा उठानमार्फत जाँदा कम्तीमा पनि प्रतिकामदार ७ सय अमेरिकी डलर (करिब ८४ हजार रुपैयाँ) भाडा लाग्ने अनुमान गरिएको विभागका महानिर्देशक दवाडीले बताए ।

त्यस्तै, कोरिया सरकारले तोकेको क्वारेन्टिनमा १४ दिन बस्दा प्रतिकामदार १५ सय अमेरिकी डलर (करिब १ लाख ८० हजार रुपैयाँ) खर्च हुनेछ । त्यसका अतिरिक्त ५ हजार डलरबराबरको बिमा पनि कामदारले नै गर्नुपर्नेछ । त्यसका बिमाशुल्क करिब १ सय अमेरिकी डलर हिसाब गर्दा पनि कामदारले करिब २ हजार अमेरिकी डलर (करिब २ लाख ४० हजार) थप खर्च गर्नुपर्ने भएको हो । यसबाहेक यसअघिदेखि नै प्रत्येक कामदारले ८० हजार रुपैयाँ नेपाल सरकारलाई बुझाउनुपर्ने व्यवस्था कायमै छ ।

नयाँ व्यवस्थाअनुसार नेपालबाट सीधै कोरिया कामदार पठाउन वैदेशिक रोजगार विभागले उडानका लागि बुधबार  टेन्डर आह्वान गरेको छ । बोलपत्रमा इजाजतप्राप्त संस्थाहरूले ३१ दिनभित्र आवेदन पेस गर्नुपर्ने उल्लेख छ । यो प्रक्रियाबाट सबैभन्दा सस्तो दरमा कोरिया पठाउने ट्राभल एजेन्सी छनोट गरेपछि कामदारहरू कोरिया जान पाउनेछन् । 

हाल नेपालबाट कोरियन एयरलाइन्सले मात्रै कोरियासम्म सीधा उडान गर्छ । सीधा उडानमा टिकट मूल्य बढी पर्ने भएकाले यस विषयमा विभाग अन्योलमा रहेको उनले बताए । यद्यपि, कामदारहरू महँगो मूल्यमा समेत जान तयार भएपछि विभागले सोहीअनुसार टेन्डर आह्वान गरेको महानिर्देशक दवाडीले बताए । यसअघि पनि दक्षिण कोरिया श्रमिक पठाउन सरकारले टेन्डर आह्वान नै गरेर हवाई सेवा उपलब्ध गराउँथ्यो । तर, सीधा उडानमार्फत दक्षिण कोरिया पठाउनुपर्ने सर्त भने थिएन । यसअघि श्रमिक आफूलाई अनुकूल हुने उडानबाट ट्रान्जिट हुँदै कोरिया जाने गरेका थिए । 
 
क्वारेन्टिन बस्न र बिमा गर्न कामदार तयार
कोरिया सरकारको सर्तअनुसार अनिवार्य क्वारेन्टिन र बिमा गर्न कामदार तयार भएको विभागले जनाएको छ । विभागका अनुसार नेपालबाट कोरिया जाने कामदार १४ दिन होटेल क्वारेन्टिनमा बस्नुपर्छ, कोरियाली सरकारले नै तोकेको होटेलमा बस्नुपर्नेछ । क्वारेन्टिनको रकम पनि कामदारले नै भुक्तानी गर्नुपर्छ । क्वारेन्टिन अवधिको बिमासमेत कामदारले गर्नुपर्नेछ । क्वारेन्टिन र बिमाको विषयमा कोरिया जाने कामदार राजी भएको विभागले जनाएको छ । त्यसका लागि थप करिब १६ सय अमेरिकी डलर खर्च हुनेछ ।  

कोरिया रोजगारीमा जान यसअघि नै भिसा प्रक्रिया पूरा गरिसकेका ३ हजार कामदार जान पाएका छैनन् । त्यस्तै कोरियाली भाषा उत्तीर्ण गरेका ८ हजार कामदार रोस्टरमा छन् । उनीहरूलाई रोजगारदाताले छनोट गरी कामका लागि बोलाउँछन् ।

हालसम्म ६५ हजार पुगे कोरिया
हालसम्म नेपालबाट ६५ हजार कामदार कोरिया पुगेका छन् । कोरिया र नेपालबीच सन् २००७ मा श्रम सम्झौता भएको थियो । सम्झौताअनुसार कोरियाले सन् २००८ देखि नेपालबाट कामदार लैजान सुरु गरेको हो । कोरियाले कृषि तथा उत्पादन क्षेत्रका लागि नेपालबाट कामदार लैजाने गरेको छ । कोरियाले नेपालबाहेक बंगलादेश, म्यानमार, चाइना, भियतनाम, कम्बोडिया, लाओसलगायत १६ वटा मुलुकबाट कामदार लैजाने गरेको छ ।