मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ भदौ ४ शुक्रबार ०८:३१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कक्षा ११ र विश्वविद्यालय तहका अधिकांश परीक्षा सकिए :  कक्षा १२ का पौने चार लाख विद्यार्थी अझै अन्योलमा

Read Time : > 2 मिनेट
२०७८ भदौ ४ शुक्रबार ०८:३१:००

कोरोना महामारीकै बीच कक्षा ११ र विश्वविद्यालय तहका परीक्षा सकिएका छन् । तर, संक्रमणको जोखिम बढेको भन्दै अन्तिम समयमा परीक्षा स्थगित गरिएको कक्षा १२ मा अध्ययनरत पौने चार लाख विद्यार्थी भने अन्योलमा छन् ।

राष्ट्रिय परीक्षा बोर्डले ३१ साउनदेखि होम सेन्टरमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरे पनि चौतर्फी दबाबपछि स्थगित गरेको थियो । परीक्षाका लागि काठमाडौंलगायतका सहर आएका विद्यार्थी अनिश्चित भएपछि गाउँ फर्किएका छन् । तर, यहीबीचमा कक्षा ११ र विश्वविद्यालयको स्नातक प्रथम वर्ष र स्नातकोत्तर तहका परीक्षा भने भौतिक रूपमै सम्पन्न भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले ९० प्रतिशत विद्यालयले कक्षा ११ को परीक्षा लिइसकेको जानकारी आएको बताए ।

देशभर तीन लाख ७२ हजारभन्दा बढी विद्यार्थी कक्षा १२ को परीक्षा दिने तयारीमा छन् । उनीहरूमध्ये आठ सय ४५ जना मात्र १८ वर्षभन्दा कम उमेरका छन् । विद्यार्थीले खोप पाएमा परीक्षा सञ्चालनमा सहजता हुने नियन्त्रक शर्माले बताए । संक्रमण बढेको भन्दै परीक्षाबारे पुनर्विचार गर्न कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले शिक्षा मन्त्रालयलाई पत्राचार गरेपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गरेको थियो । त्यसअघि पनि गत जेठमा तय गरेको परीक्षा कोरोनाकै कारण स्थगित गरिएको थियो । 

बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको थियो । त्यस्तै, ४० प्रतिशत कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकन गरिएको थियो । तर, यो वर्ष शतप्रतिशत भारको नै परीक्षा लिइने बोर्डले जनाएको छ । देशभर चार हजार तीन सय १० परीक्षा केन्द्र कायम गरिएका थिए । 

१८ वर्ष कटेका कक्षा ११ र १२ तथा विश्वविद्यालयका परीक्षार्थीलाई आजदेखि खोप
काठमाडौंमा विभिन्न पालिकाले सार्वजनिक सूचना जारी गरी ‘प्लस टु’ तथा विश्वविद्यालयको परीक्षा दिने विद्यार्थीलाई खोप लगाउन सुरु गरेका छन् । शुक्रबार र शनिबार खोपको व्यवस्था गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले खोपका लागि पालिकाहरूलाई परिपत्र गरेको थियो । पालिकाहरूले ‘प्लस टु’का विद्यार्थीलाई परिचयपत्रका आधारमा खोप दिने सूचना निकालेका छन् । कक्षा ११ र १२ का विद्यार्थीलाई खोप दिने व्यवस्था गरेको चन्द्रागिरि नगरपालिकाका जनस्वास्थ्य अधिकारी राममान घिमिरेले बताए । 

चन्द्रागिरि नगरपालिकाले भेरोसेल खोपका लागि सार्वजनिक सूचना निकालेको छ । ४ र ५ भदौमा १८ वर्षमाथिका ‘प्लस टु’मा अध्ययन गर्ने तथा विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीको परिचयपत्रका आधारमा वडामा रहेको स्वास्थ्य संस्थाबाट खोप सेवा लिन अनुरोध गरेको छ । त्यस्तै, तारकेश्वर नगरपालिकाले पनि ४ र ५ भदौमा १८ वर्षमाथिका कक्षा १२ मा अध्ययन गर्ने तथा विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीको परिचयपत्रका आधारमा खोप दिने व्यवस्था गरेको छ । 

के भन्छन् विद्यार्थी ?
कक्षा १२ को तयारी गरिरहेकी रोजिना गुरुङले परीक्षा स्थगित भएपछि पढ्ने जाँगर नै हराएको बताइन् । ‘अब परीक्षा हुन्छ होला भनेर गाउँबाट काठमाडौं आएँ, कोठामा बसेर तयारी गरेँ, तर परीक्षा सारियो,’ उनले भनिन्, ‘परीक्षा दिएर उम्कन पाइन्छ कि भनेको सरेकोसर्‍यै छ ।’ 

रोजिनासँगै पढ्ने सुनिता बुढाथोकी पनि परीक्षा सरेपछि दिक्क छिन् । वर्षभरि तयारी गरेर अब त परीक्षा दिन पाइएला भन्ने वेलामा फेरि परीक्षा सारिदिएपछि उनलाई चिन्ता लागेको छ । भन्छिन्, ‘जाँच सकाएर गाउँ जाने भनेको फेरि जाँच नहुने भयो, पढेर तयारी गर्दा पनि जाँच नहुँदा दिक्क लागिरहेको छ ।’

खोप सुनिश्चित गरेर जाँच लिन दबाब 
कक्षा १२ का विद्यार्थीको मात्र परीक्षा स्थगित भएपछि राष्ट्रिय परीक्षा बोर्ड दबाबमा परेको छ । बोर्डका पदाधिकारीले १२ को परीक्षा दिने विद्यार्थीलाई प्राथमिकताका साथ खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा लबिङ गरेका छन् । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले स्वास्थ्य मन्त्रालयमार्फत लबिङ भएको र केही पालिकाले विद्यार्थीलाई लक्षित गरी खोप दिन सुरु गरिसकेको बताए । ‘विद्यार्थीले खोप पाएमा हामीले १५ दिनको सूचना निकालेर परीक्षा सञ्चालन गर्न सक्छौँ,’ उनले भने ।