मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नाग्मा–गमगढी सडकखण्डको घुच्ची लेक सातमोडमा हिउँ पन्छाउँदै सडक डिभिजन कार्यालयको डोजर । लगातार परेको हिमपातपछि सातमोडमा करिब चार फिट हिउँ जमेको छ । तस्बिर : नयाँ पत्रिका
अच्युतराज भण्डारी
२०७५ फाल्गुण १२ आइतबार ०९:०८:००
Read Time : > 1 मिनेट
प्रदेश

लगातारको हिमपातले मुगुमा सडक अवरुद्ध हुँदा उपभोग्य वस्तुको अभाव

Read Time : > 1 मिनेट
अच्युतराज भण्डारी
२०७५ फाल्गुण १२ आइतबार ०९:०८:००

लगातारको हिमपातले कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्मा सडक करिब एक महिनादेखि अवरुद्ध छ । जसका कारण मुगुका विभिन्न बजारमा एलपी ग्यासलगायत दैनिक उपभोग्य वस्तुको अभाव भएको छ । गत ८ माघदेखि निरन्तर परेको हिमपातले मुगुको गमगढी बजारलगायत खत्याड, सोरु र कार्मारोङ गाउँपालिकामा समेत दैनिक उपभोग्य वस्तुको अभाव देखिन थालेको छ । गमगढी बजार क्षेत्रका पाँच ग्यास बिक्री डिपोमा ग्यास सिलिन्डर सकिएपछि उपभोक्ता समस्यामा पर्न थालेका छन् ।

ग्यासको विकल्पमा स्थानीयले दाउरा प्रयोग गर्न थाले
खत्याड गाउँपालिकाको केन्द्र माझचौर र कुुसुुमबाडा बजारमा पनि एक महिनायता यातायात बन्द छ । माझचौर–कालाकाडा–गोठीज्युला सडकखण्ड डेढ महिनादेखि अवरोध हुँदा उपभोग्य सामानको अभाव भएको स्थानीय व्यापारी लोकेन्द्र भण्डारीले बताए । गोदाममा ग्यास तथा अन्य सामान सकिँदा उपभोक्तालाई रित्तै फर्काउनु परेको उनको भनाइ छ ।

मुगुमा सुर्खेत, नेपालगन्जदेखि सवारीसाधनबाट खाद्यान्नलगायतका विभिन्न सामान ढुवानी गरिन्छ । ग्यास सिलिन्डर अभाव हुँदा स्थानीयले विकल्पका रूपमा दाउरा किनेर खाना पकाउन थालेका छन् । अवरुद्ध सडक खोल्न प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवाला निकायको टोली नियमित लागिपरे पनि हिमपात नरोकिँदा समस्या खडा भएको छ । 

इन्धन पनि अभाव 
सडक सञ्चालन नहुँदा जिल्लामा विकास निर्माणमा प्रयोग हुने सिमेन्ट, फलामे रड, तारजाली तथा पेट्रोल, डिजलसमेतको अभाव हँुदै गएको छ । निर्माण सामग्री अभाव हुन थालेपछि सरकारी तथा गैरसरकारी निकायबाट सञ्चालन हुने खानेपानी, पुल, भवन निर्माणमा समस्या सुरु भएको छ । डिजेल पेट्रोलको अभावमा विकास निर्माणमा प्रयोग गरिएका डोजर, स्काभेटर लामो समयदेखि बन्द छन् । हिमपातले अवरुद्ध बनेको सडक खुलाउन जुम्ला सडक डिभिजन कार्यालयका स्काभेटर चलाउन कठिनाइ परेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । 

सडक अवरुद्ध हुँदा स्थानीय व्यापारीले सुर्खेत नेपालगन्जबाट सामान ढुवानी गर्न पाएका छैनन् । जसकारण कुसुमबाडा, मा“झचौरलगायतका बजारका पसल रित्तिन थालेका छन् । ‘सडक अवरुद्ध भई गाडी चल्न छाडेको एक महिना पुगिसक्यो, पसलमा सामान रित्तिँदै गएको छ,’ खत्याड कुसुमबाडास्थित विविध स्टेसनरीका सञ्चालक विकास भण्डारीले भने, ‘अब पसल बन्द गर्नुपर्लाजस्तो छ ।’

स्वास्थ्य केन्द्रहरूमा औषधि अभाव
ढुवानीको समस्याले जिल्लाका दुर्गम स्थानका स्वास्थ्य केन्द्रमा औषधिसमेत पाइन छाडेको स्वास्थ्यकर्मीको भनाइ छ । हिमपातले खत्याड गाउ“पालिकादेखि गमगढी आउने सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । खत्याड निगालीबोट, बाउपानी, पहाडीपानी जेउडे क्षेत्रमा चार फिटजति हिउँ जमेपछि पैदलयात्रीलाई पनि कठिनाइ भएको खत्याड–८ का काशी कार्कीले बताए ।