मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
गणेश लम्साल 
२०७५ पौष ५ बिहीबार ११:०१:००
Read Time : > 1 मिनेट
प्रदेश

‘प्रदेश १ सँग भारतको विशिष्ट सम्बन्ध’

भारतीय राजदूत भन्छन्– निरन्तर सहकार्य गर्ने चाहना छ

Read Time : > 1 मिनेट
गणेश लम्साल 
२०७५ पौष ५ बिहीबार ११:०१:००

भारतीय राजदूत मन्जिबसिंह पुरीले आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धका हिसाबले प्रदेश नम्बर १ भारतका लागि सबैभन्दा विशिष्ट रहेको बताएका छन् । बुधबार विराटनगरमा आयोजित नेपाल–भारत सीमापार सम्बन्धका चुनौती र अवसरबारेको गोष्ठीमा राजदूत सिंहले यस्तो बताएका हुन् । 

तीनतर्फ सिमाना जोडिएको कारण प्रदेश नम्बर १ भारतका लागि सबैभन्दा विशिष्ट रहेको भन्दै उनले प्रदेश सरकारसँग भारतले निरन्तर सहकार्य जारी राख्न चाहेको बताए । आधुनिक भारतको बंगाल, सिक्किम र बिहारसँग सीमा जोडिएको नेपालको एक मात्र प्रदेश भएकाले विकासका लागि निरन्तर सहकार्य जारी राख्ने उनको भनाइ थियो । राजदूत पुरीले हिमाल, पहाड र तराई जोडिएको भौगोलिक विविधताले पनि एक नम्बर प्रदेश विशिष्ट रहेको चर्चा गर्दै प्रदेश १ नेपालका लागि मात्र नभएर भारतका लागि समेत समृद्ध प्रान्त भएको बताए ।

विराटनगर नमुना सहर बन्ने विश्वास
राजदूत पुरीले केही वर्षभित्रै विराटनगर देशकै नमुना सहर बन्ने विश्वास व्यक्त गरे । ‘आइसिपी र रेलमार्ग सञ्चालन कार्य त्यसै गरिएको होइन, दोस्रो फेजमा यसलाई अझै विस्तार गर्न भारत तयार छ,’ राजदूत पुरीले भने, ‘भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत् आयोजना सुचारु भएपछि नेपालमा ऊर्जाको समस्या समाप्त हुनेछ भने भारतले समेत लाभ लिन सक्नेछ ।’ उनले नेपालले चाहे कोसीमा उच्च बाँध बाँधेर चार हजार मेगावाट विद्युत् उत्पादन हुने परियोजना बनाइदिन भारत तयार रहेको बताए । 

पर्यटन विकासलाई ध्यान दिन सुझाब
मोरङको कटहरीसम्म रेलमार्ग र जोगबनी–विराटनगर नाकामा संयुक्त भन्सार जाँचपास केन्द्र सञ्चालनमा आएपछि विराटनगरबाट भइरहेको आयात–निर्यात व्यापारको समस्या धेरै हदसम्म समाधान हुने उनले दाबी गरे । प्रदेश १ मा पर्यटनको ठूलो सम्भावना भए पनि यातायात र पूर्वाधार विकासमा जोड दिनुपर्ने सुझाब दिए । 

दुईवटा विमानस्थल भएको प्रदेश भएकाले अविलम्ब संघीय सरकारसँग समन्वय गरेर विमानस्थलको स्तरोन्नति गर्न उनले प्रदेश सरकारलाई सुझाब दिए । ‘भिजिबिलिटीकै कारण देखाएर दिनभर जहाज डिले गरिँदा पर्यटनको विकासमा बाधा पुग्छ । त्यसैले जतिसक्दो चाँडो विमानस्थलको स्तरोन्नति होस्,’ उनले भने । विमानस्थलको स्तरोन्नति भए भारतको पटना र कलकत्तासम्म सेवा सञ्चालन गर्न कुनै समस्या नहुने उनले बताए । 

कृत्रिम बाधा अन्त्य होस् : महासंघ अध्यक्ष राणा
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले एक नम्बर प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तुको भारत निर्यातमा समस्या हुने गरेको भन्दै कृत्रिम बाधा अन्त्य गर्न भारत सरकारसँग आग्रह गरिन् । उनले आयात–निर्यात सहज भए भारत र नेपालको आर्थिक सम्बन्धले दुवै देशलाई फाइदा पुग्ने धारणा व्यक्त गरिन् । 

उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष किशोर प्रधानले एक नम्बर प्रदेश धार्मिक र प्राकृतिक पर्यटनको हब भएकाले धेरैभन्दा धेरै पर्यटक पठाएर भारतले लाभ लिन सक्ने बताए । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले नेपाल–भारतबीचको आयात–निर्यात व्यापारमा धेरै झन्झट रहेकाले भारतले सहज बनाउनुपर्ने धारणा व्यक्त गरे ।