१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
वाइपी आचार्य
२०७८ भदौ १ मंगलबार ०९:०७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

शैक्षिक प्रमाणपत्रको घट्दो मूल्य

Read Time : > 2 मिनेट
वाइपी आचार्य
२०७८ भदौ १ मंगलबार ०९:०७:००

शिक्षाको सार व्यवहारमा रूपान्तरण हो । खास मूल्यांकनकर्ता शिक्षक नै हुन् । तर, हामीले अंकलाई शैक्षिक उपलब्धि मान्यौँ । अक्षर मात्रै देख्ने, विद्यार्र्थीको व्यवहार कहिल्यै नदेख्ने अमुक व्यक्तिलाई मूल्यांकनकर्ता मान्यौँ । अंक ल्याउन सिकाउन अभ्यस्त शिक्षक, बच्चाले उच्च अंक पाउँदा छाती फुलाउने अभिभावक, अंकको व्यापार गर्ने विद्यालय भएपछि शिक्षकलाई जिम्मा दिँदा कमजोर काँधमा पनि अंकको भारी बोकाएर पठाइँदो रहेछ । एसइईमा आन्तरिक मूल्यांकन र बाह्य मूल्यांकनबीचको प्राप्तांकमा ठूलो खाडल देखियो । यो हाम्रो शिक्षाको गुणस्तर सुध्रिएकाले होइन । मूल्यांकन पद्धति राम्रो बनेकाले पनि होइन । मूल्यांकन चाहे आन्तरिक होस् वा बाह्य नाप्ने तरिका उही प्रयोग गरिएको छ । यो सुधार होइन, अंकको व्यापार हो । 

खाडीतिर काम गर्न जाने नेपाली कामदारमा १२ कक्षा पूरा गरेकाको संख्या अत्यधिक छ । दक्षिण कोरियामा श्रमिकको रूपमा काम गर्न जानेमा स्नातक र स्नातकोत्तर पूरा गरेकाहरू धेरै छन् । यी सबै अर्धदक्ष वा अदक्ष कामदारका रूपमा त्यहाँ जान्छन् । उनीहरूको शैक्षिक प्रमाणपत्रले त्यहाँ काम गर्दैन । उनीहरूको शारीरिक श्रम वा सीप मात्रै उपयोग हुन्छ । सिंहदरबारमा काम गर्नेमध्येबाट १० जना ‘रेन्डम’ छनोटमा परेका कार्यालय सहयोगीमध्ये आठजना १२ कक्षा उत्तीर्ण गरेका भेटिए ।

काठमाडौंकै एक कलेजमा स्नातक तह चौथो वर्षमा अध्ययनरत जागिर पनि गर्ने १५ जना छात्रालाई सोध्दा १२ जनाले मोबाइल पसल, कपडा पसल र सहकारीमा पैसा उठाउने गरेको भेटियो । खरदार र नायब सुब्बामा नाम निकाल्नेहरू लगभग सबैजसो स्नातक वा सोभन्दा माथिको शिक्षा पूरा गरेका छन् । ०७६ सालमा प्राथमिक तहका शिक्षकका लागि लिइएको परीक्षामा ८० प्रतिशतभन्दा बढी स्नातक वा सोभन्दा माथि योग्यता भएकाहरूले नाम निकाले । यो सबै प्रमाणपत्र स्फीतिको परिणाम हो । यसको मतलब धेरै पढेकाले सानो काम गर्नु हुँदैन भन्ने चाहिँ किमार्थ होइन । 

औद्योगिक क्रान्तिपूर्वको अवस्था हेर्दा धर्ममा आधारित शिक्षा थियो । गुरुकुल, गुम्बा, मदरसा आदि शिक्षाका मूल केन्द्र थिए । धर्म र दर्शन मूल विषय थिए । धार्मिक ग्रन्थ मूल साधन थिए । ग्रन्थमा जे लेखिएको छ, त्यही सत्य मानिन्थ्यो । शिक्षक ग्रन्थ र विद्यार्थीलाई जोड्ने मूल माध्यम थिए । ग्रन्थमा पहिलो पहुँच शिक्षकको हुने हुँदा त्यसको व्याख्यामा पनि उनीहरू नै अगाडि हुन्थे । उनीहरू ज्ञाता मानिन्थे । शिक्षकविना विद्यार्थी शास्त्रसँग जोडिन पाउँदैनथे ।

बेरोजगारी बढिरहेको अहिलेको समयमा ज्ञान र सीपलाई भन्दा परीक्षामा प्राप्त अङ्क या ग्रेडलाई महत्व दिने शैक्षिक प्रमाणपत्र मूल्यहीन बन्दै छ
 

कुनै तर्कलाई पुष्टि गर्नुपरेमा शास्त्रमा यो लेखिएको छ, भनिन्थ्यो । त्यसैले शिक्षाको शक्ति शास्त्र र त्यसलाई व्याख्या गर्ने शिक्षकमा थियो । शास्त्रमा लेखिएका कुरा कुनै दैवीशक्तिले लेखेको हो, यी परमसत्य हुन् भन्ने विश्वास थियो । यी अपरिवर्तनीय छन् भनिन्थ्यो । त्यसैले शिक्षक एकपटक सिकेपछि सधैँका लागि ज्ञानी र शक्तिशाली हुन्थे । शास्त्र सर्वत्र उपलब्ध थिएनन् । कतिपय शास्त्र श्रुतिमा आधारित थिए । नलेखिएका, सुनेका भरमा स्मरण गरेर फेरि अर्कोलाई सुनाउँदै पुस्तौँ हस्तान्तरण भएका थिए । कण्ठ गर्न सक्ने व्यक्ति ज्ञानी मानिन्थ्यो । कण्ठ गर्नेले काम पाउँथ्यो । अहिले पनि उही तरिका बोकेर हिँड्नु आधुनिक युगमा प्राचीन बाटो हिँडेजस्तै हो । 

आधुनिक कालमा शिक्षा विज्ञान, उत्पादन र बजारसँग जोडियो । शिक्षा अधिकारका रूपमा स्थापित भयो । धेरैले पढ्ने अवसर पाए । पढाइसँगै रोजगारी पाए । पढाइको तहअनुसार पारिश्रमिक पाए । जागिर पदसोपानमा हुने भएपछि पढाइको तह पनि सोपानमा हुने भयो । बजारमा पढेका मानिस बढ्दै गएसँगै तीमध्येबाट छनोट गर्नुपर्ने भयो । छनोटको आधार उसको क्षमता हो भनियो । क्षमतालाई नाप्न अंक प्रयोग गरियो । अंकलाई उसको क्षमता मानियो । तर, अब सबैले धेरै अंक ल्याउने, माथिल्लो कक्षा पनि पढ्ने भएपछि छनोटको आधार के होला ? अवश्य पनि प्रमाणपत्रको स्फीति हुन्छ र व्यक्तिले पाएको अंकभन्दा उसले गर्ने कामले महत्व पाउनेछ ।   

दुनियाँमा तथ्यहरू निकै तीव्र गतिमा परिवर्तन हुँदै छन् । भोलि के होला, कस्ता जनशक्ति चाहिन्छन् भन्ने अनुमान गर्न सकिने अवस्था छैन । कम्प्युटर, रोबोट, एआईजस्ता प्रविधि मानिसभन्दा धेरै गुणा प्रभावकारी र सूचनामूलक हुनेछन् । कामको दुनियाँमा यिनको प्रयोग हुनेछ । यसो हुँदा मानिस ठूलो संख्यामा बेरोजगार हुनेछन् । शिक्षा आर्थिक रूपमा बेकामे वर्ग उत्पादन गर्ने माध्यम बन्नेछ । हिजो ब्रेनलाई ट्रेन गर्ने शिक्षा थियो । अब ब्रेन इन्जिनियरिङ आयो । ब्रेनमा चिप्स राखेर हुन्छ कि हर्माेनमा परिवर्तन गराएर हुन्छ, ब्रेनलाई कृत्रिम रूपमा बढाउने काम हुँदै छ । यसो हुँदा मैले यति अंक पाएँ भन्नेको कुनै तुक हुनेछैन । अंक त कम्प्युटरले धेरै ल्याउँछ । 

एकपटक पाएको शिक्षाले उसको जीवनभरिलाई काम गर्नेछैन । आज सिकेको सिकाइ भोलि पुरानो हुनेछ । त्यसैले शिक्षकले ज्ञानलाई टाउकोमा स्टोर गरेर राखिरहनु परेन । पाउलो फ्रेरेले भनेजस्तो शिक्षकको टाउकोमा स्टोर भएको ज्ञान विद्यार्थीको टाउकोमा खन्याइदिनुपरेन । यसो हुँदा शिक्षक जान्ने, विद्यार्थी नजान्ने भएनन् । शिक्षक अघि–अघि विद्यार्थी पछि–पछि हुने भएनन् । शिक्षक र विद्यार्थी दुवैका लागि नयाँ ज्ञान निरन्तर सिकिरहनुपर्ने भयो । यसो हुँदा शिक्षक र विद्यार्थी सँगसँगै हिँड्नुपर्ने भयो । 
(आचार्य त्रिविका उपप्रध्यापक हुन्)