मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ श्रावण ३२ सोमबार ०७:१२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङ प्रहरीद्वारा ६ जना फरार अभियुक्त पक्राउ

Read Time : > 1 मिनेट
२०७८ श्रावण ३२ सोमबार ०७:१२:००

जिल्ला प्रहरी कार्यालय लमजुङले विभिन्न मुद्दामा फरार रहेका ६ जना अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले शनिबार दुई र आइतबार चारजना गरी दुई दिनमा ६ जना फरार अभियुक्तलाई पक्राउ गरेको हो ।

प्रहरीले फैसला कार्यान्वयनको सिलसिलामा न्यायिक निकायबाट कैद तथा जरिवाना तोकिएका र हालसम्म फरार रहेका विभिन्न मुद्दाका अभियुक्तलाई खोज तलास गर्दा ६ जनालाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । 

प्रहरीले लागुऔषध (ब्राउनसुगर) मुद्दामा नाै वर्षदेखि फरार रहेका बेंसीसहर नगरपालिका– ७ बस्ने २९ वर्षीय अम्मरबहादुर गुरुङलाई पक्राउ गरेको छ । उनलाई शनिबार बेंसीसहर नगरपालिका– ७ बाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कार्कीले बताए । 

यसैगरी, चोरीसम्बन्धी मुद्दामा फरार रहेका १८ दिन कैद र २० हजार तीन सय २५ जरिवाना भएका बेंसीसहर नगरपालिका–  ४ का २३  वर्षीय रविन गुरुङलाई पनि पक्राउ गरेको छ । उनलाई बेंसीसहर नगरपालिका– ९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, बहुविवाह मुद्दामा २० पर्षदेखि फरार रही एक महिना कैद सजाय बाँकी रहेका बेंसीसहर नगरपालिका– ३ का वर्ष ४५ का मीनकुमार श्रेष्ठलाई पक्राउ गरेको छ । 

उनलाई राईनास नगरपालिका– ६ बाट लुकिछिपी बसेको अवस्थामा आइतबार पक्राउ गरिएको हो । यस्तै, जालसाजी मुद्दाका एकजना, सम्बन्धविच्छेद मुद्दाका एकजना र लुटपाट मुद्दाका एकजना गरी जम्मा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई आइतबार जिल्ला अदालत लमजुङमा पेस गरेकोमा अम्मरबहादुर गुरुङ, मीनकुमार श्रेष्ठ र रविन गुरुङ कारागार चलान भएका छन् । अन्य तीनजना जरिवानाबापतको रकम बुझाएर छुटेका छन् । जेल सजाय भुक्तान गर्न बाँकी रहेका पुराना अभियुक्तहरूलाई पछिल्लो समय खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय लमजुङका इन्स्पेक्टर एवं सूचना अधिकारी जगदीश रेग्मीले बताए । उनले भने, ‘अदालतबाट प्राप्त लगतअनुसार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले खोजी गरी पक्राउ अभियान नै सञ्चालन गरेको छ ।’