१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मुना कुँवर काठमाडौं
२०७८ श्रावण ३१ आइतबार १०:३४:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

जीवन बिमा कम्पनीबीच बोनसदरमा प्रतिस्पर्धा

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडौं
२०७८ श्रावण ३१ आइतबार १०:३४:००

जीवन बिमा कम्पनीहरूको संख्या थपिएसँगै बिमितलाई दिने बोनसदरमा प्रतिस्पर्धा बढेको छ । पुराना कम्पनीहरूलाई टक्कर दिन नयाँ कम्पनीहरूले समेत उच्च बोनसदर घोषणा गरेका छन् । हाल सञ्चालित १९ जीवन बिमा कम्पनीमध्ये १८ वटाले आर्थिक वर्ष २०७५/७६ को बोनसदर सार्वजनिक गरिसकेका छन् । राष्ट्रिय बिमा संस्थानले लामो समयदेखि बोनसदर घोषणा गरेको छैन । आर्थिक वर्ष समाप्त भएसँगै कम्पनीहरूले बिमांकीय मूल्यांकन गरेर बोनसदरको गणना गर्छन् । 

उच्च बोनसदर दिने कम्पनीहरू
नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन र नेसनल लाइफ इन्स्योरेन्स सर्वाधिक बोनसदर घोषणा गर्ने कम्पनीमा परेका छन् । आव २०७५/७६ का लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिहजार ६२ रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस दिने भएको छ । कम्पनीले सावधिक तथा सामूहिक जीवन बिमालेखअन्तर्गत सुरक्षित जीवन, जीवन ज्योति, रुलर इन्डोमेन्ट, बालशिक्षा योजना, केटाकेटी, जीवन लक्ष्मी र जीवन सारथि बिमालेखमा ५ देखि १५ वर्ष अवधिका लागि ६५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ । त्यस्तै, १६ देखि २० वर्ष अवधिको ६५ रुपैयाँ घोषणा गरेको छ । २१ देखि २५ वर्ष अवधिको बिमालेखका लागि ७२ रुपैयाँ, २६ वा सोभन्दा माथिको बिमा अवधिलाई ८२ रुपैयाँ बोनसदर घोषणा गरेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले भने आव २०७५/७६ का लागि बिमा पोलिसी र पोलिसी अवधिअनुसार ६६ रुपैयाँदेखि ८८ रुपैयाँसम्म बोनसदर दिने घोषणा गरेको छ । कम्पनीका अनुसार जीवन आस्था योजना पाँचवर्षे अवधिमा ८५ रुपैयाँ र तीनवर्षे अवधिकोमा ८० रुपैयाँ वितरण गर्ने घोषणा गरेको छ । सावधिक तथा रूपान्तरित सावधिक जीवन बिमा योजनामा २५ वर्ष वा सोभन्दा माथिको अवधिमा ८० रुपैयाँ बोनसदर दिने भएको छ ।

नेसनल लाइफ इन्स्योरेन्स पनि सो आवका लागि बिमा पोलिसी र अवधिअनुसार  ६४ रुपैयाँदेखि ८५ रुपैयाँसम्म बोनसदरको घोषणा गरेको छ । कम्पनीले सावधिक तथा सामूहिक जीवन बिमालेखमा ६४ रुपैयाँदेखि ८५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बिमामा ६३ रुपैयाँदेखि ६४ रुपैयाँ बोनसदर घोषणा गरेको छ । यस्तै, सावधिक तथा आजीवन जीवन बिमालेखमा ६४ देखि ८५ रुपैयाँ बोनस दिने भएको छ । 

मेट लाइफ इन्स्योरेन्सले भने न्यूनतम ५० देखि ८५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीले सावधिक जीवन बिमालेखमा ६५ देखि ८० रुपैयाँसम्म, सावधिक बिमालेख (एजुकेसन प्रोटेक्सन प्लान)मा ६५ देखि ८५ रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बिमालेखमा ५० देखि ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । 

पुरानो कम्पनीसँग प्रतिस्पर्धा गर्दै नयाँ कम्पनी
नयाँ इन्स्योरेन्स कम्पनीहरूले पनि पुराना कम्पनीलाई टक्कर दिएका छन् । नयाँ कम्पनीमध्ये रिलायन्स लाइफ इन्स्योरेन्सले २० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदरको घोषणा गरेको छ । कम्पनीले सावधिक तथा आजीवन बिमा योजनामा ३५ रुपैयाँ देखि ७० रुपैयाँ, अग्रिम भुक्तानी सावधिक बिमा योजनामा ४५ रुपैयाँदेखि ५० रुपैयाँ र अन्य अग्रिम भुक्तानी (मुद्दती) बिमा योजनामा २० रुपैयाँदेखि २५ रुपैयाँसम्म बोनस दिने भएको छ । 

प्रभु लाइफ इन्स्योरेन्सले २०७६ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने जीवन बिमालेखहरूको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले ३० रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनसदर दिने भएको छ ।

कम्पनीले सावधिक जीवन बिमालेख र सावधिक तथा आजीवन बिमालेखमा बिमा अवधिको आधारमा ३० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बिमालेखमा ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनसदर कायम गरिएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले २५ रुपैयाँदेखि ७७ रुपैयाँसम्मको बोनसदर दिने भएको छ । कम्पनीले सावधिक तथा आजीवन बिमालेखमा बिमा अवधिका आधारमा ३७ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ ।
सावधिक तथा आजीवन बिमालेखअन्तर्गत नौ वर्ष अवधिको बिमा पोलिसीमा ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको पोलिसीमा ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको पोलिसीमा ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको पोलिसीमा ५५ रुपैयाँ घोषणा गरेको छ । २५ वर्ष अवधिमा वा सोभन्दा माथिको पोलिसीमा कम्पनीले ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । अग्रिम भुक्तानी पोलिसीमा १० देखि १४ वर्षे अवधिको बिमा पोलिसीमा कम्पनीले ४३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको पोलिसीमा ४५ रुपैयाँ बोनसदर घोषणा गरेको छ । साथै, २० देखि २४ वर्ष अवधिको पोलिसीमा ५० रुपैयाँ बोनसदर घोषणा गरेको छ । 

सन नेपाल लाइफ इन्स्योरेन्सले २२ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । सन लाइफ सावधिक जीवन बिमा पोलिसीमा, भाग्योदय जीवन बिमा पोलिसी (एकल भुक्तानी सावधिक), बाल समृद्धि, र नवीन आजीवन पोलिसी (सावधिक तथा आजीवन) मा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने 
भएको छ । 

महालक्ष्मी लाइफ इन्स्योरेन्सले महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बिमा पोलिसीमा न्यूनतम ५० रुपैयाँ दिने भएको छ । महालक्ष्मी सावधिक र महालक्ष्मी सरल पोलिसीमा भने ५० रुपैयाँदेखि ५२ रुपैयाँसम्मको बोनसदर निर्धारण गरेको छ । सानिमा लाइफ इन्स्योरन्सले सबै खालका पोलिसीमा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

बोनसदर बढाउँदै कम्पनीहरू
नयाँ कम्पनीहरूले उच्च बोनसदर घोषणा गरेपछि प्राइम लाइफ, गुराँस लाइफ र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले पनि बोनसदर बढाउन थालेका छन् । आव २०७५/७६ का लागि प्राइम लाइफ इन्स्योरेन्सले न्यूनतम ३० देखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीले सावधिक जीवन बिमा पोलिसीमा न्यूनतम ३५ देखि ६५ रुपैयाँसम्म, प्राइम जीवन उपहार (अग्रिम भुक्तानी सावधिक)मा ३० रुपैयाँ, सावधिक तथा आजीवन बिमा पोलिसीमा २६ वर्षभन्दा बढी अवधिको पोलिसीमा ७५ रुपैयाँ दिने भएको छ । 

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले भने न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ८१ रुपैयाँसम्म बोनसदर दिने घोषणा गरेको छ । कम्पनीको सावधिक जीवन बिमालेख र बालबालिकाको सावधिक पोलिसीमा अवधिका आधारमा ४२ रुपैयाँदेखि ७७ रुपैयाँसम्म बोनस पाउने भएका छन् । 

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले भने न्यूनतम ३८ देखि अधिकतम ७३ रुपैयाँसम्मको बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सावधिक पोलिसीमा ३८ देखि ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । सावधिक तथा आजीवन बिमालेखमा ३८ देखि ७३ रुपैयाँसम्म र अग्रिम भुक्तानी सावधिक पोलिसीअन्तर्गत ४५ देखि ६३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । 

कसरी निर्धारण हुन्छ बोनस ?
बिमा कम्पनीले आर्जित मुनाफाबाट बिमितहरूलाई वितरण गर्ने रकमलाई बोनसदर भनिन्छ । जीवन बिमा कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्रमा बिमांकीय मूल्यांकन गरी बोनसदर निक्र्योल गर्छन् । कम्पनीहरूले बिमा पोलिसीको प्रकार र अवधिअनुसार बोनसदर कायम गर्दछन् । कम्पनीको चुक्ता पुँजी, जगेडा कोष तथा लगानीको क्षेत्र, खर्च, आम्दानीलगायतलाई हेरी बोनसदर निर्धारण गरिन्छ । बोनस प्रतिहजारमा प्रदान गरिन्छ । अधिकांश कम्पनीले बिमा अवधि समाप्त भएपछि बिमा रकम र बोनस रकम एकमुष्ठ रूपमा बिमितलाई भुक्तानी गर्छन् । 

६ महिनाभित्रमा बोनसदर निर्धारण गर्नुपर्ने भएपछि अधिकांश कम्पनीले ढिलो गरी बोनसदर निर्धारण गर्छन् । बिमांकीय मूल्यांकनको प्रक्रिया लामो हुने भएकाले बोनसदर पनि ढिलो गरी घोषणा गरिने कम्पनीहरूको भनाइ छ । तर, कम्पनीले ढिलो गरी बोनसदर घोषणा गर्ने हुँदा लगानीकर्तालाई कम्पनीको विश्लेषण गर्न असहज हुने गरेको छ ।