मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
शान्ति तामाङ काठमाडाैं
२०७८ श्रावण ३१ आइतबार ०९:०६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मेलम्चीमा अझै जोखिम

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०७८ श्रावण ३१ आइतबार ०९:०६:००

मेलम्चीवरपरका मानिस तत्काल बस्ती फर्कनु जोखिमपूर्ण : अध्ययन

बाढी र पहिरोले थिलथिलो पारेको मेलम्चीवरपरका मानिस अहिले नै बस्ती फर्कनु झन् जोखिमपूर्ण हुने देखिएको छ । खानी तथा भूगर्भ विभागबाट गएको एक टोलीले गरेको अध्ययनअनुसार पहिरो अझै सक्रिय रहेकाले बस्तीमा मानिसहरू फर्कनु झन् जोखिम हुने देखिएको छ । 

दोस्रोपटक १६ साउनमा माथिल्लो तटीय क्षेत्रमा भएको अत्यधिक वर्षात्सँगै गेग्रानसहित मेलम्ची नदीमा बाढी आएपछि झन् जोखिम बढेको विभागका सिनियर डिभिजन भूगर्भविद् शिव बाँस्कोटाले बताए । ‘अहिले जहाँ–जहाँ पहिरोले असर गरेको छ, त्यहाँ फर्किन सक्ने अवस्था छैन । १ असारपछि केही मानिस डोजर लगाएर, बालुवा हटाएर आफ्नो घर मर्मत गर्न खोजिरहनुभएको छ । त्यो स्वाभाविक पनि हो । तर, दोस्रोपटक मेलम्ची नदीमा गेग्रानसहितको जुन बाढी आयो, त्यसपछि त्यहाँ बस्न उपयुक्त छ भन्न हामी सक्दैनौँ । फेरि पनि पहिरो आउने सम्भावना धेरै नै छ,’ बाँस्कोटाले भने ।

फेरि पनि पहिरो आउने सम्भावना धेरै छ :  शिव बाँस्कोटा, भूगर्भविद्, खानी तथा भूगर्भ विभाग

अहिले जहाँ–जहाँ पहिरोले असर गरेको छ, त्यहाँ फर्किन सक्ने अवस्था छैन । १ असारपछि केही मानिस डोजर लगाएर, बालुवा हटाएर आफ्नो घर मर्मत गर्न खोजिरहनुभएको छ, त्यो स्वाभाविक पनि हो । तर, दोस्रोपटक मेलम्ची नदीमा गेग्रानसहितको जुन बाढी आयो, त्यसपछि त्यहाँ बस्न उपयुक्त छ भन्न हामी सक्दैनौँ । फेरि पनि पहिरो आउने सम्भावना धेरै नै छ ।

किउल, शेर्माथाङ, तिम्बु, सर्कथली, अम्बाथान, चनौटे, मेलम्ची, पाल्चोक, ग्याल्थुम, तालामाराङ, सिपाघाटलगायत क्षेत्रमा पहिरोका कारण असर गरेको छ । ‘पहिरो अझै सक्रिय नै छन् । यो वर्ष सानातिना पहिरो थप आउने अथवा केही ठाउँमा पहिरो बढ्ने नै हुन्छ । एकैचोटि ठूलो पानी आयो, धेरै पहिरो जाने अवस्था भयो भने फेरि त्यस्तै ठूलो पहिरो आउँछ,’ बाँस्कोटाले भने, ‘भे्रमाथाङमा हामी जाँदा कतिपय ठाउँमा आधा ढुंगा खसेर बसेका छन् । हामी बस्दाबस्दै चिराहरू बढिरहेका छन् । त्यसैले अहिले नै बस्तीमा गएर बस्नुस्, माथिबाट पहिरो आउँदैन भन्न सकिने खालको अवस्था छैन । पानी परेन भने स्थिर पनि हुन सक्छ । तर, माथिबाट गेग्रान आउने क्रम रोकिएको छैन ।’ 

मेलम्चीमा पहिरो आउनुको कारण ठूलो वर्षा 
विभागले गरेको अध्ययनअनुसार मेलम्ची नदीमा पहिरो आउनुको कारण ठूलो वर्षा हो । त्यसबाहेक हिमाली भागमा बरफ जम्ने र पग्लिने प्रक्रिया पनि हुन सक्ने विभागले जनाएको छ । ‘पहिरो आउनुको कारण एउटा ठूलो वर्षा नै हुन सक्छ । दोस्रो हिमाली क्षेत्रमा हिउँ जम्ने, पग्लने जस्ता क्रियाकलापको कारण पनि हो,’ बाँस्कोटाले भने, ‘पहिरो आउन कि भूकम्प आउनु पर्‍यो होइन भने ठूलो वर्षात् हुन पर्‍यो । भूकम्प नआएकाले ठूलो वर्षात् कारण हो भन्ने हाम्रो अनुमान हो ।’ उनका अनुसार ३६४० मिटर उचाइमा रहेको भे्रमाथाङ नभएको भए झन् ठूलो जोखिम रहने थियो । भ्रेमाथाङ १५ सय मिटर लम्बाइ र चौडाइ सात सय मिटर फराकिलो चउर हो । जहाँ हरेक वर्ष वर्षात्मा नदीले बालुवा, गिट्टी ल्याएर थुपार्ने गर्छ । 

तटीय क्षेत्रमा एक करोड घनमिटर गेग्रान थुप्रियो
भ्रेमाथाङले अझै पनि त्योभन्दा माथिल्लो क्षेत्रमा आएको वर्षात्का कारण बगेको गेग्रान थामेर रोखेको छ । माथिल्लो तटीय क्षेत्रबाट बगेर आएको एक करोड घनमिटर गेग्रान थामेर राखेको अध्ययनले देखाएको छ । ‘भ्रेमाथाङ नभएको भए अहिलेको भन्दा धेरै जोखिम रहन सक्थ्यो । एक करोड घनमिटर रोडा, गिटी, बालुवा भ्रेमाथाङले होल्ड गरेको राखेको छ,’ उनले भने, ‘भ्रेमाथाङभन्दा तल पहिरो नै खसेर भित्तामा अडिएर रहेका सामग्री धेरै छन् । त्यही सामग्रीलाई बगाउन सुरु गरिएको छ । भ्रेमाथाङभन्दा तल जहाँ पहिरो गएको छ ।’

बजारको बस्ती नै सार्नुपर्ने 
विभागले गरेको अध्ययनअनुसार माथिल्लो क्षेत्रमा आएको पहिरोका कारण मेलम्ची बजारमा जुन खालको असर पर्‍यो, त्यो खालको असर पर्न नदिने हो भने बस्ती नै सार्नुपर्ने देखिन्छ । ‘नदीले तटीय क्षेत्रमा जहाँनिर बगरमा परिणत गर्‍यो, दीर्घकालीन रूपमा सोच्ने हो भने अब त्यो ठाउँमा बस्ती बनाउन उपयुक्त हुँदैन ।

असार र साउनको बाढीबाट हामीले पाठ सिक्नुपर्‍यो,’ बास्कोटाले भने, ‘अब नदीको आफ्नो अधिकार क्षेत्र कति हो, त्यसलाई छोडिदिएर अर्को क्षेत्रमा प्रतिस्थापन गर्न पर्‍यो । त्यो क्षेत्रमा कम क्षति हुने खेतीपातीमा लगाउनुपर्‍यो । मानवीय क्षतिलाई ध्यान दिँदै बस्ती सार्नुपर्‍यो ।’ 

१ असार र १६ साउनको बाढीपहिरोपछि विभागको टोलीले चार दिन लगाएर त्यस क्षेत्रको अध्ययन गरेको थियो । अध्ययनका लागि टोली ३६४० मिटर उचाइमा रहेको भ्रेमाथाङभन्दा केही माथिसम्म पुगेको थियो ।