मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टेकराज थामी काठमाडाैं
२०७८ श्रावण ३१ आइतबार ०७:३१:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

देव: विकास बैंकको पौने तीन करोड ठगीका  मुख्य योजनाकार ढुंगाना पोर्चुगलबाट पक्राउ

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७८ श्रावण ३१ आइतबार ०७:३१:००

नेपालमा बैंक ठगेर तीन वर्षदेखि पोर्चुगलमा लुकेर बसेका काभ्रे भुम्लु– १ का ४३ वर्षीय केदार ढुंगानालाई पक्राउ गरी स्वदेश ल्याउन प्रहरी सफल भएको छ । नेपाल प्रहरीले पोर्चुगल प्रहरी (नेसनल सेन्टर ब्युरो)सँगको समन्वयमा ढुंगानालाई पक्राउ गरी ल्याएको हो ।

प्रहरीले विदेशबाट पक्राउ गरेर ल्याएको पहिलो घटना हो : प्रहरी प्रवक्ता  वसन्त कुँवर

रेड कर्नर नोटिसमा परेको अपराधीलाई नेपाल प्रहरीकै अनुसन्धानमा विदेशबाट पक्राउ गरेर ल्याएको पहिलो घटना हो । नेपालमा अपराध गरेर विदेशमा लुकेर बसेका धरै अपराधी छन् । ३७ विरुद्ध रेड कर्नर नोटिस जारी भएको छ । अब उनीहरूविरुद्ध पनि हामी अप्रेसन चलाउँछौँ । ढकाल पक्राउपछि एउटा नयाँ ढोका खुलेको छ । यही तरिका अपनाएर अब हामी अरूलाई पनि पक्राउ गर्छौँ ।

ढुंगाना नेतृत्वको समूहले सवारी कर्जा लिने बहानामा नक्कली बिलबुक र धनीपुर्जा पेस गरेर काठमाडौं र ललितपुरस्थित देवः विकास बैंकबाट दुई करोड ७१ लाख ७६ हजार ठगी गरेको थियो । ठगी प्रमाणित भएपछि ललितपुर जिल्ला अदालतले १० वर्ष कैद र सात लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । त्यसपछि उनी फरार थिए ।

नेपालमा अपराध गरी विदेशमा लुकेर बसेको अपराधी पक्राउ गरी ल्याइएको यो नै पहिलो घटना भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए । ‘विदेशमा गएर अपराधी पक्राउ गर्न नेपाल प्रहरीलाई कानुनले अनुमति दिएको छैन । यसका लागि एमएलए (म्युचुअल लिगल असिस्टेन्स) ट्रिटी गर्नुपर्छ । जुन हामीले कुनै पनि मुलुकसँग गरेका छैनौँ । तैपनि हामीले ढुंगानालाई पक्राउ गरेर ल्यायौँ,’ उनले भने, ‘यो पहिलो घटना हो । यसका लागि नेपाल प्रहरीले ‘अनअफिसियल्ली’ समन्वय मात्रै गरेको हो ।’ 

ढुंगाना पोर्चुगलमा लुकेर बसेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पत्ता लगाएको थियो । सिआइबीको अनुरोधमा नेपाल प्रहरीले ढुंगानाविरुद्ध १७ वैशाखमा डिफ्युजन नोटिस जारी गरेको थियो । उक्त नोटिस ३१ वैशाखामा रेड कर्नर नोटिसमा रूपान्तरण भएको थियो । त्यसलगत्तै ढुंगानाले पोर्चुगलमा ‘रेसिडेन्स पर्मिट’का लागि निवेदन हालेको नेपाल प्रहरीले इन्टरपोलमार्फत सूचना प्राप्त गरेको थियो ।

सूचनापछि इन्टरपोल शाखाका डिएसपी निशान्त श्रीवास्तवको नेतृत्वमा विशेष अनुसन्धान टोली पोर्चुगल पठाएको थियो । अनुसन्धानमा टोलीलाई पोर्चुगलस्थित अवैतनिक राजदूत मकर हमालले पनि सघाएका थिए । हमालकै समन्वयमा नेपाल प्रहरीका प्रतिनिधिले ढुंगानालाई पक्राउ गर्न पोर्चुगल प्रहरीलाई सहमत गराएका थिए । करिब दुई महिनाको प्रयासपछि ढुंगानालाई पक्राउ गर्न पोर्चुगल प्रहरी राजी भएको थियो ।

सिआइबी प्रमुख डिआइजी धीरजप्रताप सिंहले ‘तपाईंहरूको मुलुकमा पनि यसले ठगी गर्न सक्छ’ भनेपछि पोर्चुगल प्रहरी ढुंगानालाई पक्राउ गर्न सहमति भएको बताए । उनले भने, ‘हाम्रो टोली पोर्चुगल पुग्यो । ढुंगाना बसेको स्थान पत्ता लाग्यो । पक्राउ गर्न पोर्चुगल प्रहरीलाई अनुरोध ग¥यो । उनीहरूलाई कन्भिन्स गर्न दुई महिना लाग्यो,’ उनले भने । 

ढुंगानाविरुद्ध काठमाडौं जिल्ला अदालतमा पाँच र पाटन उच्च अदालतमा १६ वटा मुद्दा अझै विचाराधीन छन् । काठमाडौं जिल्ला अदालतमा लिखतसम्बन्धी र उच्च अदालतमा बैंकिङ कसुरसम्बन्धी मुद्दा छन् । 

बैंक ठगेर यसरी भागेका थिए ढुंगाना

सवारीसाधन कर्जा लिने बहानामा बैंक ठग्ने योजना ढुंगानाले बनाए । उनको योजनामा नारायणबहादुर श्रेष्ठसहित अन्य १२ जना पनि मिसिए ।

कर्जाका लागि देवः विकास बैंकको काठमाडौं र ललितपुरस्थित शाखा कार्यालय छनोट गरे । यसका लागि सवारीसाधन धितो राख्नुपर्ने भयो ।

उनीहरूले सबै सवारीसाधनको नक्कली बिलबुक र धनीपुर्जा बनाए । ती कागजात बैंकमा पेस गरे । बैंकले दुई करोड ७१ लाख ७६ हजार रुपैयाँ ऋण दियो । तर, ऋण लिएलगत्तै सबै सम्पर्कविहीन बने ।

ऋणीहरू गायब भएपछि धितो लिलाम गर्न बैंक यातायात व्यवस्था कार्यालय पुग्यो । तर, धितोमा राखिएका सबै सवारीसाधन नक्कली रहेको यातायात कार्यालयमा खुल्यो ।

लगत्तै बैंकले सिआइबीमा उजुरी गर्‍यो । ठगीमा संलग्न १२ जनालाई पक्राउ गरे पनि मुख्य योजनाकार ढुंगाना फरार थिए । 

३७ जना अझै रेड कर्नरमा 
नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालमा अपराध गरी विदेशमा लुकेर बसेका अझै ३७ जना छन् । उनीहरूविरुद्ध नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरिसकेको छ । उनीहरूविरुद्ध पनि विशेष अप्रेसन चलाउने प्रहरी योजना छ । ढुंगाना पक्राउसँगै विदेशमा लुकेर बसेका अपराधी पक्राउ गर्ने बाटो सहज बनेको एसएसपी कुँवर बताउँछन् । 

‘नेपालमा अपराध गरेर विदेशमा लुकेर बसेका धरै अपराधी छन् । ३७ विरुद्ध रेड कर्नर नोटिस जारी भएको छ । अब उनीहरूविरुद्ध पनि हामी अप्रेसन चलाउँछौँ । ढुंगाना पक्राउपछि एउटा नयाँ ढोका खुलेको छ । यही तरिका अपनाएर अब हामी अरूलाई पनि पक्राउ गर्छौँ,’ उनले भने ।