मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अजित अधिकारी काठमाडौं
२०७८ श्रावण ३० शनिबार १७:५१:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

मुलुककै पहिलो आधुनिक पेट्रोलपम्प बनाउँदै आयल निगम, डेढ महिनापछि उद्घाटन

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७८ श्रावण ३० शनिबार १७:५१:००

नेपाल आयल निगम लिमिटेडले बाँकेको नेपालगन्जमा मुलुककै पहिलो आधुनिक पेट्रोलपम्प निर्माण अन्तिम चरणमा पु¥याएको छ । पूर्ण स्वचालित प्रविधिको पम्प मध्य असोजबाट सञ्चालनमा ल्याउने तयारी छ ।

पेट्रोलपम्पको अन्डरग्राउन्डमा पनि हालसम्मकै धेरै एक लाख सात हजार लिटर तेल अटाउने पाँचवटा ट्यांकी राखिनेछ । निगमको नेपालगन्जस्थित इन्धन डिपो प्रमुख कमला न्यौपानेका अनुसार २५–२५ हजार लिटर क्षमताको तीनवटा डिजेलको अन्डरग्राउन्ड ट्यांक हुनेछ भने पेट्रोलको १६–१६ हजार लिटरको दुईवटा अन्डरट्यांक हुनेछ । अहिले पेट्रोल दुई र डिजेलको एउटा अन्डरट्यांक राखिसकिएको छ भने डिजेलको २५–२५ हजार लिटरको दुईवटा अन्डरट्यांक निर्माणस्थलमा आइसकेको छ । त्यसलाई चाँडै जडान गरिने न्यौपानेले बताइन् ।

उनका अनुसार हालसम्म पम्पको डिस्पेन्सिङ मेसिनलाई ढाक्ने माथिल्लो भागको दुईवटा ट्रस्ट निर्माण सकिएको छ । त्यस्तै, भुइँमा ढलान कार्य सकिन लागेको छ । यो पम्पले आठ कट्ठा जमिन चर्चेको छ ।

आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवामा कार्यरत प्रबन्धक शैलेन्द्र भुसालको नेतृत्वमा पम्प निर्माण कार्य अघि बढाइएको छ । भुसालका अनुसार पम्प परिसरमा पाँचवटा डिस्पेन्सिङ मेसिन राखिनेछ । यसमा डिजेलको दुईवटा र पेट्रोलको तीनवटा डिस्पेन्सिङ हुनेछ । ‘प्रत्येक डिस्पेन्सिङ मेसिनमा दुई–दुईवटा नोजल हुन्छ । जसकारण पेट्रोलमा ६ वटा र डिजेलमा चारवटा नोजल हुन्छ’ उनले भने, ‘यसरी हामीले एकैपटकमा १० वटा सवारीसाधनमा इन्धन भर्न सक्छौँ ।’

डिस्पेन्सिङ मेसिन आधुनिक प्रविधिको हुने भएकाले उपभोक्ताले सवारीसाधनमा इन्धन भर्दा परिमाण, कुल मूल्य र प्रतिलिटर मूल्यका बारेमा सहजै जानकारी पाउन सक्ने भुसालले बताए । 

कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको निर्देशनमा निगमले सधैँ पानीमा डुबिरहने जग्गालाई उपयोग गरी पेट्रोलपम्प बनाएको हो । नेपालगन्जस्थित सुर्खेत रोडको राजमार्गसँगै जोडिएको ११ कट्ठा जमिनमध्ये सडक विस्तारका क्रममा करिब तीन कट्ठा काटेर बचेको आठ कट्ठामा आधुनिक पम्प निर्माण भएको हो ।

के–के छन् विशेषता :
यो पम्प मुलुककै पहिलो पूर्ण स्वचालित हुनेछ । प्रबन्धक भुसालका अनुसार अन्डरग्राउन्डमा राखिएको एक लाख सात हजार लिटर तेल अटाउने पाँचवटै भर्टिकल ट्यांकमा एउटा चिप्स राखिएको हुन्छ । त्यसले अन्डरग्राउन्ड ट्यांकीमा कति तेल छ भनेर कम्प्युटर वा लिंक जोडिएको मोबाइलमा देखाउँछ । हाल देशभरका पम्पमा रहेको अन्डरग्राउन्ड ट्यांकको तेल पत्ता लगाउन ‘डिप रड’ले नाप्ने गरिएको छ ।

‘यो पम्पको अन्डरग्राउन्ड ट्यांकको तेल नाप्त डिप रड चाहिँदैन । सबै ट्यांकमा राखिएको चिप्सले तेलको मात्रा, गुणस्तर, तापक्रम, घनत्व, पानीको मात्रालगायतका विषयमा जानकारी दिन्छ’ भुसालले भने । त्यस्तै, डिस्पेन्सिङ मेसिनमा समेत अन्डरग्राउन्डबाट आएको तेल नोजलको सहायताले उपभोक्ताको सवारीसाधनमा गएको विवरण दिने सेन्सर राखिएको हुन्छ । 

‘यो सेन्सरले डिस्पेन्सिङ मेसिनमा देखाएको तेलको परिमाण नै नोजलको सहायताले उपभोक्ताको सवारीसाधनमा गयो कि गएन भनेर देखाउँछ । यसबाट उपभोक्ताले तिरेको रकमबराबरकै तेल पाउने सुनिश्चितता हुन्छ’ उनले भने । अहिले कतिपय पम्पले डिस्पेन्सिङ मेसिनको मिटरमा देखाए बराबरको तेल सवारीसाधनमा नहालेर उपभोक्ता ठगी गरेको गुनासो आउने गरेको छ । यो गुनासो सम्बोधन गर्न डिस्पेन्सिङ मेसिनमा सेन्सर राख्न लागेको भुसालले बताए ।
‘कुनै उपभोक्ताले आफ्नो सवारीसाधनमा डिस्पेन्सिङ मेसिनको मिटरमा देखाए बराबरको तेल प्राप्त नभएको भनेर गुनासो गर्नुभयो भने तत्कालै कम्प्युटर वा मोबाइलबाट चेक गरी कमजोरी भए, नभएको पत्ता लगाउन सकिन्छ’ उनले भने । त्यस्तै, हरेक दिनको खरिद–बिक्री परिमाण सहजै पत्ता लगाउन सकिने पनि उनले बताए ।

पम्प परिसरमा विशेष किसिमले अर्थिङ गरिएको छ । जसकारण स्पार्क भई तेल बोकेको ट्यांकर वा पम्पमा आगलागी हुने सम्भावना न्यून भएको उनले बताए । हाल आयात भइरहेको युरो ६ मापदण्डको प्रज्वलनशील क्षमता बढी भएको, तर पम्पको अर्थिङ क्षमता कमजोर हुँदा धेरै पम्प परिसरमा आगलागीका घटना भइरहेका छन् । ‘हामीले बनाएको नयाँ पम्पमा निकै राम्रो अर्थिङ भएको छ, जसकारण जुनसुकै सवारीसाधन तीव्र गतिमा तातेर आए पनि स्पार्क भई आगलागीका घटना हुने सम्भावना रहँदैन’ भुसालले भने, ‘विश्वस्तरीय मापदण्डले निर्दिष्ट गरेको अर्थिङ सिस्टम जडान गरेका छौँ ।’

पम्प परिसरमा बैंकको एटिएम सेन्टर र डेबिट तथा क्रेडिट कार्ड ‘स्वाइप’ गर्ने मेसिनसमेत जडान हुनेछ । यस्तो मेसिनले उपभोक्ता आफैँले तेल भर्ने सुविधा जडान गर्न सहज हुनेछ । विकसित देशमा उपभोक्ताहरू गाडीमा आफैँ तेल भर्ने गरेको उदाहरण दिँदै उनले भने, ‘पम्पमा आएका उपभोक्ताले कति मूल्यको तेल हाल्ने हो, त्यसका लागि डेबिट वा क्रेडिट कार्ड स्वाइप गरी भुक्तानी गर्नुपर्छ । त्यसपछि आफैँले नोजल समातेर तेल हाल्ने सिस्टम जडान गर्न हामी अधिकतम प्रयास गरिरहेका छौँ ।’

कार्ड स्वाइप गरेर मूल्य तिरेपछि डिस्पेन्सिङ मिटरमा त्यति नै मूल्यबराबरको मात्रै तेल हाल्न पाउने गरी परिमाण देखिन्छ । त्यसपछि उपभोक्ताले नोजलको सहायताले गाडीमा तेल हाल्दा रकमबराबर आउने तेल मात्रै खसेर नोजल आफैँ बन्द हुने भएकाले यो प्रविधि प्रयोगमा ल्याउन प्रयास भइरहेको भुसालले बताए ।