१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण ३० शनिबार ०७:४६:००
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

मौद्रिक नीतिप्रति निजी क्षेत्र सकारात्मक

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण ३० शनिबार ०७:४६:००

                     निजी क्षेत्रको धेरै माग सम्बोधन भयो


शेखर गोल्छा, अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिले समग्रमा निजी क्षेत्रका मागहरू धेरै हदसम्म सम्बोधन गरेको छ । उद्यम–व्यवसाय सञ्चालन गर्न १ करोडसम्मको ऋण उपयोग गर्ने ऋणीको हकमा आधारदरमा अधिकतम २ प्रतिशत बिन्दुले मात्र प्रिमियम थप गर्न सक्ने व्यवस्था सकारात्मक छ । पुनर्कर्जामा साना तथा मझौला उद्यमीलाई प्राथमिकता दिइनु राम्रो हो ।

यस्तै, पुनर्तालिकीकरणमा कोभिड प्रभावित उद्यमलाई प्राथमिकता दिइने प्रतिबद्धता जनाइएको छ । बेसरेट गणना परिमार्जन गर्ने भनिएको छ, त्यो उद्यमीमैत्री हुनुपर्छ । रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा गरेमा न्यूनतम १ प्रतिशत बिन्दु थप ब्याज पाउने व्यवस्था मिलाइएको छ । यसले तरलता बढाउन मद्दत गर्नेछ ।

महिला उद्यमीलाई दिइने कर्जा सीमा बढाएर २० लाख पुर्‍याउनु सकारात्मक छ । व्यवसाय निरन्तरता कर्जा सहजीकरण गर्ने भनिएको छ, यो पनि राम्रो हो । सूक्ष्म निगरानीको व्यवस्थालाई ३ वर्ष बनाइएको छ । यसले व्यवसायीलाई राहत दिनेछ । कालोसूचीको व्यवस्थालाई पुनरावलोकन गर्ने भनिएको छ, जुन व्यवसायमैत्री हुनुपर्छ । सिसिडी रेसियो हटाएर कर्जा निक्षेप अनुपात ९० प्रतिशत बनाउनु पनि सकारात्मक छ । यसले बजारमा तरलता बढाउनेछ ।

सबै सरकारी भुक्तानी डिजिटल माध्यमबाट गरिने भनिएको छ, जुन सुशासनका लागि पनि महत्वपूर्ण छ । इ–केवाइसीको व्यवस्थाले बैंकिङ सेवा सहज बनाउनेछ । विदेशबाट लिने सेवा आयातबापतको भुक्तानीका लागि वाणिज्य बैंकहरूले प्रदान गर्न सक्ने सटही सुविधामा आवश्यक पुनरावलोकन गरिने भनिएको छ । यो व्यवसाय विस्तारका लागि महत्वपूर्ण छ । बैंक तथा वित्तीय संस्थाहरूबाट लिइने कर्जा सीमा तोकिएका कारण सेयर बजारमा असर पर्न सक्छ ।  बजेटमा स्टार्टअपलाई २५ लाखसम्मको कर्जा दिइने भनिएको थियो, त्यो विषय कार्यान्वयनमा प्रस्ट कुरा आएन ।  

                       मौद्रिक नीति अक्षरशः पालना होस्


राजेन्द्र मल्ल, अध्यक्ष नेपाल चेम्बर अफ कमर्स 

मौद्रिक नीतिले गत वर्षका कार्यक्रमलाई निरन्तरता दिएको देखिन्छ ।  पुनर्कर्जा, कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरणलगायतका सुविधाले निरन्तरता पाएका छन् । पर्यटन क्षेत्रका कर्जाको ब्याजमा हर्जाना नलाग्नेलगायतका राम्रा पक्ष आएका छन् ।

यसले उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने कर्जामा जोड दिएकै छ । सरसर्ती हेर्दा मौद्रिक नीतिले आर्थिक पुनरुत्थान गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने देखिन्छ । 

हाम्रोमा नीति राम्रो ल्याउने, तर कार्यान्वयन फितलो हुने प्रवृत्ति छ । गत वर्षको पुनरुत्थानको कार्यक्रमको पहुँचमा साना तथा मझौला उद्यमी–व्यवसायी पुग्न सकेनन् । जसको कर्पोरेट अफिस छ, जोसँग सिए छन्, अडिटर छन्, तिनीहरूले सुविधा पाए । तर, स्वरोजगार भएकाहरू, लघु, घरेलु, साना र मझौला उद्यम–व्यवसाय गर्नेहरूले सहजै पुनर्कर्जा पाएनन्, पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधा उपभोग गर्न पनि हम्मे–हम्मे पर्‍यो ।

अबचाहिँ केन्द्रीय बैंकले तुरुन्तै निर्देशनहरू ल्याइहाल्नुपर्छ । आवश्यक कार्यविधिहरू बनाइहाल्नुपर्छ । र, नीति कार्यान्वयन गर्नुपर्छ ।  राज्यले ‘बोलिदिने, भोलि केही नदिने’ गरेका थुप्रै उदाहरण र नजिर छन् । मौद्रिक नीतिमा बोलिएका कुरा अक्षरशः पालना होस् । तल्लो तहको पनि पहुँच पुगोस् ।

 

                 जति सम्बोधन हुनुपर्ने हो, त्यो भएन 


विनायक शाह प्रथम उपाध्यक्षहोटेल संघ नेपाल(हान)

मौद्रिक नीतिमा कोभिडबाट अति प्रभावित होटेल, ट्राभल, ट्रेकिङ, हवाई सेवालाई ०७९ असार मसान्तसम्म किस्ता तिर्न पाउने व्यवस्था गरिएको छ । त्यसमा थप हर्जाना ब्याज नलाग्ने भनिएको छ ।

यस्तै, पर्यटन क्षेत्रमा प्रवाह भएको कर्जा बैंकहरूले मूल्यांकन गरी ०७८ पुस मसान्तसम्ममा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

कोभिडका कारण संकटग्रस्त पर्यटन व्यवसायको पुनरुत्थानका लागि व्यवसाय निरन्तरता कर्जा कार्यक्रममा प्रभावकारी कार्यान्वयन गर्ने उल्लेख छ ।

कोभिड प्रभावित उद्योग–व्यवसायको शीघ्र पुनरुत्थानका लागि कार्यान्वयनमा ल्याइएको पुनर्कर्जाको विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको छ ।   तर, अहिले पर्यटन क्षेत्र असामान्य छ । यस्तो वेलामा पनि सामान्य समयमा ल्याउनेजस्तै मौद्रिक नीति ल्याइयो । अर्थात्, पर्यटनले भोगेको महामारीलाई जति सम्बोधन हुनुपर्ने हो, त्यो भएन ।

अहिले उद्योग–व्यापार आपत्कालीन अवस्थामा रहेको हुनाले राष्ट्र बैंकले आपत्कालीन अवस्थामा ल्याउनेजस्तो नीति तथा कार्यक्रमहरू ल्याउनुपथ्र्यो । गत वर्ष सहुलियतपूर्ण कर्जा पहुँचवालाले मात्र पाएका थिए । खास लक्षित वर्गले पाएनन् । यसतर्फ ध्यान दिँदै राष्ट्र बैंकले बलियो अनुगमन संयन्त्र बनाएर अगाडि बढ्नुपर्छ । 

        जलविद्युत्लाई न्याय गर्‍यो 


मोतीलाल दुगड, ऊर्जा उद्यमी

मौद्रिक नीतिले जलविद्युत्लाई न्याय गरेको छ ।  गत वर्षको मौद्रिक नीतिले जलविद्युत् क्षेत्रलाई राम्रो सम्बोधन गरेको थियो । त्यही कारण हाइड्रोको सेयर मूल्य कहाँबाट कहाँ पुग्यो । मौद्रिक नीतिले जलविद्युत्मा लगानीको वातावरण तयार पारेको छ ।  वाणिज्य बैंकहरूले कुल कर्जा लगानीको ०७८ असार मसान्तसम्म न्यूनतम ६ प्रतिशत, ०७९ असार मसान्तसम्म ७ प्रतिशत, ०८० असार मसान्तसम्म ९ प्रतिशत र ०८१ असार मसान्तसम्म १० प्रतिशत ऊर्जा क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएकोमा ०७८ असार मसान्तसम्म कुल कर्जाको ६ प्रतिशत अर्थात् १ खर्ब ९४ अर्ब १३ करोड रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । कतिपय बैंकले साढे ७ प्रतिशतसम्म पनि ऊर्जामा कर्जा प्रवाह गरेका छन्, कतिपय बैंकको अझै ६ प्रतिशत नपुगेको हुन सक्छ । 

राष्ट्र बैंकको सानो नीतिले पनि ठूलो प्रभाव पार्ने रहेछ ।  कोभिडका कारण पर्यटन क्षेत्रमा रोजगारी गुमाएका व्यक्ति स्वरोजगार हुने गरी व्यवसाय सञ्चालन गर्न प्रवाह हुने १५ लाखसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था मिलाइएको छ । यस्तै, ऋणी स्वयं रोजगार हुने उद्देश्यले सवारीसाधन खरिद गर्न प्रवाह हुने २५ लाखसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यसले गाउँ–गाउँमा स्वरोजगार बनाउन ठूलो सहयोग पुग्नेछ । महिला उद्यमीद्वारा लघु उद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने २० लाखसम्मको कर्जा र वास्तविक कृषि व्यवसायीलाई २० लाखसम्म कृषि व्यवसाय सञ्चालन गर्न परियोजना धितोमा प्रवाह हुने कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्ने व्यवस्था गरिनु सकारात्मक छ ।

            मौद्रिक नीतिले राहत दिनेछ


विष्णु अग्रवाल,अध्यक्ष नेपाल उद्योग परिसंघ

मौद्रिक नीतिले बैंकिङ प्रणालीमा पर्याप्त तरलता व्यवस्थापन गर्न प्राथमिकता दिएको छ, जुन सकारात्मक छ । रेमिट्यान्सलाई निक्षेपमा १ प्रतिशत बढी ब्याज दिने व्यवस्थाले विप्रेषणमा प्रोत्साहन मिल्नेछ । सिसिडी रेसियो खारेजी र कर्जा/निक्षेप अनुपात ९० प्रतिशत गर्ने व्यवस्था पनि सकारात्मक हो । यी दुवै माग परिसंघले राष्ट्र बैंकसमक्ष राखेको थियो ।

कन्सोर्टियम फाइनान्सको सीमा १ अर्बबाट बढाएर २ अर्ब पुर्‍याइएको छ । जसले उद्योगी तथा व्यवसायीलाई सहजता हुने अपेक्षा छ । मौद्रिक नीतिमा कोभिडबाट अति प्रभावित व्यवसायको ब्याजदर १ वर्षसम्मका लागि फ्रिज गर्ने प्रावधान ल्याइएको छ, यसले केही राहत दिनेछ । यातायात व्यवसायीका लागि मर्मत र सम्भार गर्न थप ऋणको व्यवस्था र २५ लाखसम्मको ऋणलाई विपन्न वर्ग कर्जामा गणना गर्ने नीति पनि सकारात्मक छ । वाच लिस्टलाई ३ वर्षसम्म गर्ने निर्णय पनि सकारात्मक हो, तर परिसंघले ५ वर्ष माग गरेको थियो । १ करोडभन्दा कम ऋण भएका घरेलु तथा साना उद्योगको बेसरेटमा २ प्रतिशतको सीमा तोकिनु पनि राम्रो हो । 

उनीहरूका लागि रि–स्ट्रक्चरिङ/रि–सेड्युलिङको व्यवस्था गरिएको छ, त्यो पनि सकारात्मक छ । बजेटमा स्टार्टअपका लागि २५ लाख रुपैयाँसम्म विनाधितो ऋण दिने भनिएको थियो, तर  मौद्रिक नीतिले यसबारे स्पष्ट बोलेको छैन । सेयरमा लगानी गर्न १२ करोडको सीमा तोकिएको छ, त्यसले पुँजी बजारलाई प्रभावित गर्छ ।  कोभिडबाट अति प्रभावित ठूला र मझौला उद्योगका लागि रिफाइनान्सिङको सीमा बढाउने परिसंघको सुझाबलाई पनि मौद्रिक नीतिले सम्बोधन गरेको छैन ।