मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ श्रावण २८ बिहीबार ०९:०९:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

गत वर्ष गुल्मीमा १५ हत्या र ३५ बलात्कार, एक सय ९४ सम्बन्धविच्छेद

Read Time : > 2 मिनेट
२०७८ श्रावण २८ बिहीबार ०९:०९:००

जिल्ला अदालत गुल्मीले नेपालमै नौलो फैसला गरेको छ । चन्द्रकोट– ३ हर्राचौरमा तीन आमाछोरी हत्या गर्ने मुख्य व्यक्तिलाई जीवित रहेसम्म कैद सजाय फैसला भएको छ । 

रेसुंगा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहरा हत्याकाण्डले देशभर चर्चा पायो । जुन घटनाले तत्कालीन प्रहरी प्रमुख केन्द्र तानिए । स्थानीयले जिल्ला प्रशासनमा आन्दोलन गरे । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका स्थानीय ४७ वर्षीय लालबहादुर खत्री अहिले पुर्पक्षका लागि कारागार छन् । 

गुल्मीको रेसुंगा नगरपालिका– १४ पराल्मीका ४५ वर्षीय तुलबहादुर विक ०७७ माघ ३ गते मृत फेला परे । झण्डै दुई महिनापछि बन्दुकले हानेर हत्या गरेको आरोपमा गुल्मी दरबार गाउँपालिका– १ का ३१ वर्षीय पोमबहादुर घर्तीलाई प्रहरीले सार्वजनिक गर्‍यो । विक पनि पुर्पक्षका लागि कारागार छन् । इस्मा गाउँपालिका– १ का मोतीबहादुर कुँवरलाई ०७७ भदौ २१ गते स्थानीय तीन युवाले हत्या गरे । आठ महिनापछि हत्यामा संलग्न इस्मा गाउँपालिका– १ का १८ वर्षका रमेश कुमाल र गोले भन्ने सन्तोष कुमाल तथा २० वर्षीय सुशील कुमाललाई सार्वजनिक गर्‍यो । तीनैजना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

बिमार सन्चो बनाउने नाममा ०७७ पुस २९ गते इस्मा गाउँपालिका– ३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियालाई मालिका गाउँपालिका– ६ का ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र पत्नी ३६ वर्षीया शान्तिला श्रेष्ठले डामेर हत्या गरे । श्रेष्ठदम्पतीलाई प्रहरीले सोही दिन गिरफ्तार गर्‍यो । उनीहरू अहिले पुर्पक्षको लागि जेल चलान भएका छन् । यी जिल्लाका प्रतिनिधि घटना हुन् । जिल्ला अदालत गुल्मीका अनुसार आर्थिक वर्ष ०७७/७८ मा १५ वटा हत्या मुद्दा  दर्ता भएका छन् । ०७६/७७ मा १८ र ०७५/७६ मा सात हत्याका मुद्दा भएको जिल्ला अदालत गुल्मीका सूचना अधिकारी भीमप्रसाद भुसालले जानकारी दिए ।

जीवित रहेसम्म कैद सजाय
गुल्मीको चन्द्रकोट हत्याकाण्डमा संलग्न मुख्य व्यक्तिलाई जिल्ला अदालत गुल्मीले जीवित रहेसम्मको कैद सजाय फैसला गरेको छ । यो नौलो सजाय हो । जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीले बाग्लुङ गल्कोट नगरपालिका– ८ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनारलाई जीवित रहेसम्म जेल फैसलाको निर्णय कार्यान्वयन गरेको जिल्ला अदालत गुल्मीका फैसला कार्यान्वयन अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । 

घटनामा संलग्न एक नाबालकलाई एक वर्ष कैद भएको छ भने हर्कबहादुर सुनार अझैसम्म फरार रहेको कुँवरले बताए । उनले यो फैसला गुल्मीमा मात्रै नभएर नेपालमै विरलै फैसला हुने बताए । चन्द्रकोट गाउँपालिका– ३ हर्राचौरको जंगलमा ०७७ कात्तिक १६ गते दुई बालिकासहित महिला बीभत्स हत्या गरेर फालिएको अवस्थामा फेला परेका थिए । गुल्मी प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोको समेत सहयोगमा १३ दिनपछि घटनामा संलग्नलाई कास्कीस्थित पोखरा महानगरपालिका– २५ हेम्जाबाट पक्राउ गर्‍यो । हत्या भएका तीनजना मोरङ कानेपोखरी गाउँपालिका– ३ हर्कपुर घर भएका ३२ वर्षीया सरिता भन्ने शिवमाया लिम्बू र उनका जुम्ल्याहा छोरी ७ वर्षीया गंगा र जमुना मगर रहेका थिए । 

एक वर्षमा ३५ बलात्कार 
बाग्लुङ निसिखोला गाउँपालिका घर भई रेसुंगा नगरपालिका– ८ बस्ने १४ वर्षीया बालिकालाई बाबुले पटक–पटक बलात्कार गरे । बालिकाले चैत १५ गते छोरासमेत जन्माइन् । बलात्कारका आरोपित बाबुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले गिरफ्तार गर्‍यो । मालिका गाउँपालिका ४ अर्खबाङका २९ वर्षीय जगतबहादुर रानाले १३ वर्षीया अपांग बालिकालाई ०७७ माघ २६ गते बलात्कार गरे । प्रहरीले आरोपितलाई गिरफ्तार गर्‍यो ।

दुवै घटनाका आरोपित पुर्पक्षका लागि जिल्ला कारागार गुल्मी छन् । यी प्रतिनिधि घटना हुन् । गुल्मीमा आर्थिक वर्ष ०७७/७८ मा ३५ वटा बलात्कार तथा बलात्कार प्रयासका मुद्दा दर्ता भएका छन् । गुल्मी अदालतमा बलात्कारका ३० र बलात्कार प्रयासमा पाँच मुद्दा दर्ता भएका छन् । बलात्कारका २१ र प्रयासका तीन मुद्दा फर्स्याेट भएको सूचना अधिकारी तथा श्रेस्तेदार भीमप्रसाद भुसालले जानकारी दिए । पछिल्लो समय जिल्लामा बलात्कार तथा बलात्कार प्रयासका मुद्दा बढ्न थालेका छन् । भुसालका अनुसार आर्थिक ०७६/७७ मा ४० बलात्कार र ०७५/७६ मा २४ वटा बलात्कार तथा बलात्कार प्रयासका घटना दर्ता भएका थिए ।
 
एक वर्षमा एक सय ९४ सम्बन्धविच्छेद

कलिलो उमेरमै विवाह । वास्तविक बिहे गर्ने वेला सम्बन्धविच्छेद । अहिले भर्खरका पति–पत्नी र उमेर पुगेका वृद्धा दम्पतीले समेत सम्बन्धविच्छेद गर्न थालेका छन् । उमेरले ७२ वर्ष आराम र सहारा चाहिने वेला हो । तर, गुल्मी दरबार गाउँपालिका– ४ भट्टेचौरका ७२ वर्षीय तिलबहादुर विश्वकर्मा र ६९ वर्षीया बाटुली विश्वकर्माले सम्बन्धविच्छेद गरे । ०५२ सालमा बाटुलीले तिलबहादुरसँग दोस्रो बिहे गरेकी थिइन् ।

बुढेसकालमा मनमुटाव बढ्दै गएपछि छोराछोरी र नातिनातिनासँगै दम्पतीले सम्बन्धविच्छेद गरेका थिए । यो प्रतिनिधि घटना हो । आर्थिक वर्ष ०७७/७८ मा एक सय ९४ वटा सम्बन्धविच्छेदका मुद्दा जिल्ला अदालत गुल्मीमा दर्ता भएका थिए । पुरुष बादी भएका ३३ मध्ये १४ र महिला बादी भएका एक सय ६१ मध्ये एक सय २६ मुद्दा फर्स्याेट भएका छन् भने पुरुषमा १९ र महिला बादी भएका ३५ थान मुद्दा प्रक्रियामै रहेको जिल्ला अदालत गुल्मीले जनाएको छ । आर्थिक वर्ष ०७६/७७ मा दुई सय ४४ र ०७५/७६ मा दुई सय २९ सम्बन्धविच्छेदका मुद्दा अदालतमा दर्ता भएका थिए ।