मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २७ बुधबार १८:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ठूलो चुनौती स्वीकार गरेर प्राधिकरण आएको छु : कुलमान घिसिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २७ बुधबार १८:२२:००

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले ठूलो चुनौतीसहित जिम्मेवारीमा आएको बताएका छन्। बुधबार प्राधिकरणको कार्यालय पुगेर पदभार ग्रहण गरेका उनले सरकारले दिएको निर्देशनअनुसार नेपालको ऊर्जा क्षेत्रको हाइटलाई अझै माथि उठाउने गरी काम गर्ने प्रतिबद्धता जनाए। उनले आफूले ठूलो चुनौती मोलेर प्राधिकरणको दोस्रो कार्यकालको जिम्मेवारी लिएको उल्लेख गर्दै कसैको टीकाटिप्पणी नगरी काम गर्ने पनि बताए। 

आमजनताको अपेक्षाको सम्मान गर्दै सरकारले आफूलाई फेरी सो जिम्मेवारी दिएको उल्लेख गर्दै नवनियुक्त कार्यकारी निर्देशक घिसिङले भने, ‘सरकारले दिएको जिम्मेवारी, ऊर्जामन्त्री पम्फा भुसालले दिनुभएको निर्देशनअनुसार नेपालको ऊर्जा क्षेत्रलाई अझ हाइटमा लाने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। मैले गर्ने भनेको सरकारको कार्ययोजना हो। त्यही कार्ययोजनालाई अघि बढाउने हो। सरकारको जुन निर्देशन छ, त्यसलाई अघि बढाउने हो। धेरै अगाडि बढनुपर्नेछ।’

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको कामलाई जनताको अपेक्षाअनुसार अघि बढाउन नयाँ गतिका साथ काम गर्न पनि मातहतका कर्मचारीलाई आग्रह गरे। उनले आफ्नो पहिलो प्राथमिकता सेवाग्राहीको गुनासोलाई तत्काल सम्बोधन गर्ने रहेको पनि स्पष्ट पारे। सुशासन र गुणस्तरीय सेवाका लागि प्राधिकरणलाई प्रविधिमय बनाउँदै लैजाने योजना रहेको उनले बताए। घिसिङले हितेन्द्र शाक्यलाई पनि सरकारले ऊर्जा आयोगमा लगेर सम्मान गरेको बताए।