मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
यही रूखमा बाँधिएको तुइनको डोरी एसएसबीले फुकालिदिँदा जयसिंह धामी महाकालीमा खसेका थिए । पारि नेपालपट्टि डोरी खाँबोमा बाधिएको थियो
दीपक अधिकारी दार्चुला
२०७८ श्रावण २७ बुधबार ०९:२६:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

न्याय छाडौँ, बेपत्ता धामीको खोजीमा पनि भारतको असहयोग

Read Time : > 4 मिनेट
२०७८ श्रावण २७ बुधबार ०९:२६:००

एसएसबीले तुइन फुकाल्दा जयसिंह महाकालीमा खसे, खोजीका लागि भारतले ड्रोन उडाउन पनि सहमति दिएन

  • अब महाकाली किनारको नेपाली भूमिमाथि ड्रोन उडाएर खोजी गर्छौं : ज्योत्सना भट्ट जोशी, निमित्त सिडिओ, दार्चुला
  • सरकार पनि ढिलाइ गर्दै, सात दिन थपियो छानबिन समितिको म्याद
  • १२ दिन बित्दासमेत भएन कूटनीतिक पहल
  • गृहको रिपोर्ट पर्खंदै परराष्ट्र मन्त्रालय
  • कूटनीतिक पहल नगरेकोमा सांसदहरूको आपत्ति

तुइन तर्दातर्दै एसएसबीले डोरी फुकालेपछि महाकालीमा बेपत्ता भएका नेपाली युवा जयसिंह धामीलाई न्याय दिनु त परको कुरा, खोजीकार्यमा पनि भारतले असहयोग गरेको छ । नेपालले जयसिंहको खोजीका लागि महाकालीमा ड्रोन उडाउन सहमति मागेको चार दिन बित्दा पनि भारतले जवाफ फर्काएको छैन । 

जिल्ला प्रशासन कार्यालय दार्चुलाले गत शनिबार भारतको पिथौरागढ जिल्ला अधिकारीलाई पत्र पठाउँदै जयसिंहको खोजीका लागि महाकालीमा ड्रोन क्यामेरा उडाउन सहमति मागेको थियो । तुइन चलाइएको व्याँस गाउँपालिका– २ मालघाटदेखि सदरमुकाम खलंगासम्मको नदी क्षेत्रमाथि ड्रोन उडाएर खोजी गर्ने योजना थियो । तर, मंगलबारसम्म पनि भारतीय प्रशासनबाट जवाफ नआएको दार्चुलाका सहायक सिडिओ ज्योत्सना भट्ट जोशीले बताइन् । 

गत १५ साउनमा सदरमुकाम खलंगा आउन तुइन तर्दै गर्दा एसएसबीले डोरी फुकालिदिएपछि जयसिंह महाकालीमा बेपत्ता भएका थिए । तर, नौ दिनसम्म फेला नपरेपछि २३ साउनमा दार्चुला प्रशासनले ड्रोन क्यामेराबाट उनको खोजी गर्न सहमतिका लागि भारतीय प्रशासनलाई पत्राचार गरेको थियो । सीमा क्षेत्रमा ड्रोन उडाउन दुवै देशको सहमति आवश्यक हुन्छ ।

भारतीय प्रशासनले सहमतिका लागि जवाफ नदिएपछि ड्रोन उडाउने टोली मंगलबार नेपाली भूमि हुँदै घटनास्थल मालघाटतर्फ गएको छ । सरकारी छानबिन टोलीले काठमाडौंबाट बोलाएको ड्रोन उडाउने नेपाल प्रहरीका सइ प्रेम गन्धर्व नेतृत्वको दुई सदस्यीय टोली आइतबार खलंगा पुगेको थियो । दार्चुलाका डिएसपी मनोहरप्रसाद भट्टसहित घटनास्थलतर्फ गएको टोली मंगलबार सुनसेरामा वास बसेको छ । टोली बुधबार घटनास्थल पुगेर ड्रोन उडाउँदै सदरमुकामतर्फ आउनेछ । 

‘हामीले सीमा नदीमाथि ड्रोन उडाउन समन्वय तथा सहमतिका लागि भारतीय प्रशासनलाई पत्राचार गरेका थियौँ । तर, आज (मंगलबार)सम्म पर्खिंदा पनि जवाफ नआएपछि नेपाली भूमि भएर टोली व्याँस गएको छ । अब महाकालीको नेपालपट्टि ड्रोन उडाएर बेपत्ता जयसिंह धामीको खोजी गर्छौँ,’ सहायक सिडिओ जोशीले भनिन् ।

सरकारी अनुसन्धान टोलीले मृत शरीर नै भेटे पनि अनुसन्धानमा थप सहयोग पुग्ने अपेक्षा गरेको छ । समितिले अहिले पनि नेपालतर्फबाट व्याँसको मालगाउँदेखि सदरमुकाम खलंगा क्षेत्रसम्मको भूभागमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर जयसिंहको खोजी गरिरहेको छ । 

सरकार पनि ढिलाइ गर्दै, सात दिन थपियो छानबिन समितिको म्याद

छानबिन कार्यमा सरकारले पनि ढिलाइ गरिरहेको छ । घटनाको दुई दिनपछि १७ साउनमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको थियो । समितिलाई प्रतिवेदन बुझाउन १० दिनको समयावधि तोकिएको थियो । जसअनुसार बुधबार समितिले प्रतिवेदन बुझाउनुपर्ने थियो । तर, मंगलबार सरकारले समितिको समयावधि सात दिन थप गरेको छ । 

१८ साउनमा दार्चुला पुगेर काम थालेको भए पनि सूचना संकलन र प्रतिवेदन लेखनको काम नसकिएको भन्दै म्याद थप गरिएको छ । समितिको आग्रहअनुसार नै सरकारले म्याद थप गरिदिएको संयोजक गौतमले बताए । ‘हामीले सूचना संकलनको काम सकेका छैनौँ । हामीले मंगलबार बैतडीका सुरक्षा अधिकारीहरूसँग छलफल गरी बेपत्ता जयसिंह धामीको खोजीका लागि समन्वय गर्न भनेका छौँ । समय लाग्ने देखियो, त्यसैले म्याद थप गरिएको हो,’ उनले भने ।

बैतडीमा दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका महाकाली नदीसँग जोडिएका छन् । भारतसँग बैतडीको ६१ किलोमिटर सीमा जोडिएको छ । सो क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले खोजीकार्य गर्ने भएको छ । 

टोली मंगलबार बैतडीबाट महेन्द्रनगर फर्किएको छ । समितिले कञ्चनपुरसम्म महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गर्ने र शवको खोजतलासका लागि समन्वय गर्ने संयोजक गौतमले बताए । ‘अहिले पनि सूचना संकलन र फिल्डमा ड्रोनमार्फत जयसिंहको खोजीका लागि टोली खटाएका छौँ,’ उनले भने, ‘हामी सकेसम्म सूचना पर्याप्त संकलन गरेर प्रतिवेदन बुझाउँछौँ ।’ 

सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा नेपाल प्रहरीका एआइजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक सिडिओ ज्योत्सना भट्ट जोशी सदस्य छन् ।

टोलीले दार्चुलामा नेपाल–भारत दुवैतर्फबाट तुइन राखिएको ठाउँको स्थलगत निरीक्षण गरेको थियो । त्यस्तै, जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना संकलन गरेको हो ।

जयसिंह बेपत्ताका १२ दिन : दार्चुलामा १० दिनसम्म के गर्‍यो अनुसन्धान टोलीले ?

बेपत्ता जयसिंहका भाइ नरेन्द्रसिंह धामी भन्छन्– हामी न्यायको प्रतीक्षामा छौँ

सीमा क्षेत्रमा बसोवास गर्नेहरूबीच वारिपारि रोटी–बेटीको सम्बन्ध छ । तर, १५ साउनको घटनापछि हामी मालगाउँवासीले वारिपारिसमेत गर्न पाएका छैनौँ । सबै क्षेत्रमा लगाइएका तुइन काटिएकाले समग्र व्याँस गाउँपालिकावासीलाई नै कठिनाइ भइरहेको छ । हामीमाथि नुनतेल, खाद्यान्न ओसारपसार गर्दा पनि दुर्व्यवहार हुने गरेको थियो, अहिले मान्छेको ज्यानै लिने काम गरे । दाइको खोजी गर्न नदीमाथि ड्रोन उडाउनसमेत भारतले सहयोग गरेन भन्ने सुनेका छौँ । यो हेपाहा प्रवृत्ति हो ।

दाइ बेपत्ता भएको दिनदेखि भाउजूको आँखाबाट खस्न थालेको आँसु अझै रोकिएको छैन ।सरकारले बनाएको छानबिन समितिले कस्तो प्रतिवेदन ल्याउला भन्ने प्रतीक्षामा छौँ । दोषी एसएसबीका जवानहरूलाई कारबाही हुने गरी प्रतिवेदन आओस् भन्ने माग छ ।

प्रतिवेदनमा भारतीय पक्ष हाबी हुने हो कि भन्ने आशंका पनि छ । छानबिन समितिले भारतको कुरा सुनेर प्रतिवेदन नबनाओस् । पीडित र प्रत्यक्षदर्शीको कुरा सुनोस् । सीमामा बस्ने हामी नागरिकको दुःख देखोस् । हामी पीडित परिवारलाई क्षतिपूर्ति, बालबालिकाको शिक्षादीक्षा तथा जयसिंह धामीलाई सहिद घोषणाको माग सम्बोधनको प्रतीक्षामा छौँ ।

१२ दिन बित्दासमेत  भएन कूटनीतिक पहल : गृहको रिपोर्ट पर्खंदै परराष्ट्र मन्त्रालय

दार्चुला घटनामा पीडितलाई न्याय दिलाउन सरकारले भारतसँग कूटनीतिक पहल पनि गरेको छैन । परराष्ट्र मन्त्रालय सरकारले गठन गरेको अनुसन्धान समितिको प्रतिवेदन कुरेर बसेको छ । प्रतिवेदनमा एसएसबीको संलग्नता किटान भएमा मात्रै भारतलाई ‘कूटनीतिक नोट’ पठाउने परराष्ट्रको योजना छ । 

‘गृह मन्त्रालयको प्रतिवेदन आइसकेपछि त्यसका आधारमा प्रधानमन्त्रीले दिने निर्देशनका आधारमा हामी अघि बढ्छौँ, अहिले प्रतिवेदनको पर्खाइमा हामी छौँ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘घटनामा एसएसबी दोषी देखिए भारतलाई हामी कूटनीतिक नोट पठाउँछौँ, काठमाडौंस्थित भारतीय राजदूतलाई बोलाउँछौँ, दिल्लीमा हाम्रो दूतावासले विदेश मन्त्रालयलाई भेटेर धारणा राख्नेछ ।’ ती अधिकारीका अनुसार छानबिन प्रतिवेदन नआएसम्म परराष्ट्र मन्त्रालयले कूटनीतिक चासो व्यक्त गर्न पाउँदैन । 

विगतमा भने सिमानामा नेपालीहरूमाथि भएका दुव्र्यवहार तथा हत्याका घटनामा सरकारले तत्कालै भारतसँग राजनीतिक र कूटनीतिक तहमा ध्यानाकर्षण गराउने गरेको थियो । विगतमा दार्चुलाजस्ता घटनामा परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर ध्यानाकर्षण गर्ने र दिल्लीस्थित नेपाली दूतावासबाट पनि भारतीय विदेश मन्त्रालयमा ध्यानाकर्षण गराउने कूटनीतिक चलन थियो । यसपटक घटनालगत्तै दार्चुला र भारतीय सीमावर्ती धार्चुलाका प्रमुख जिल्ला अधिकारीको तहमा मात्रै पत्राचार भएको छ । 

उच्च राजनीतिक तहमा पनि यसबारे छलफल भएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग यसबारे कुराकानी गरेका छैनन् । परराष्ट्रमन्त्रीसमेत देउवा आफैँ भएका कारण कूटनीतिक सक्रियता देखाउनुपर्नेमा उनले पनि छानबिन समितिको प्रतिवेदन पर्खेका छन् । गृहमन्त्री बालकृष्ण खाणले पनि भारतीय समकक्षी अमित साहसँग संवाद गरेका छैनन् । 

‘यस्ता घटनामा नेपाल सरकार आफैँ स्पष्ट हुनुपर्छ, विनाआधार र प्रमाण कूटनीतिक ध्यानाकर्षण गराउने चलन कहीँ पनि हुँदैन, हामीकहाँ पनि छैन,’ नाम उल्लेख नगर्ने सर्तमा परराष्ट्रका एक सहसचिवले भने, ‘परराष्ट्रले कूटनीतिक पहल गरेन भन्ने टीका–टिप्पणीबारे हामी पनि जानकार छौँ । तर, सरकारले छानबिन समिति बनाएर काम गरिरहेका वेला उसको निष्कर्ष नआएसम्म हामीले केही पनि गर्न मिल्दैन । परराष्ट्र नेपाल सरकारबाहिरको निकाय होइन भन्ने कुरा बुझ्नुपर्छ ।’

यसबारे परराष्ट्रका प्रवक्ता सेवा लम्साल भने औपचारिक प्रतिक्रियाका लागि उपलब्ध भइनन् । भारत सरकारले पनि दार्चुला घटनाबारे बोलेको छैन, तर धार्चुलाका प्रमुख जिल्ला अधिकारीले नेपाली समकक्षीलाई नौ दिनअघि पठाएको पत्रमा भने घटनामा एसएसबीको संलग्नता नभएको जिकिर गरिएको छ ।