मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
लन्डन
२०७८ श्रावण २६ मंगलबार ०८:५८:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

बेलायतले जारी गर्‍यो विदेशी यात्रुलक्षित एड्भाइजरी

Read Time : > 1 मिनेट
लन्डन
२०७८ श्रावण २६ मंगलबार ०८:५८:००

रातो सूचीमा राखेका देशहरूबाट आएका यात्रुले कम्तीमा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

बेलायतले अन्तर्राष्ट्रिय यात्रुहरूका लागि एड्भाइजरी जारी गरेको छ । एड्भाइजरीमा बेलायत आउने विभिन्न देशका यात्रुहरूले निश्चित मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ ।

बेलायतले रातो सूचीमा राखेका देशहरूबाट आएका यात्रुहरूले कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । क्वारेन्टाइन अवधिमा ती यात्रुहरूले अनिवार्य रूपमा एक हजार सात सय ५० पाउन्ड खर्च गर्नुपर्ने बेलायतले जनाएको छ । बेलायत सरकारले भनेकै होटेलमा यात्रुहरू बस्नुपर्नेछ ।

बेलायतले दक्षिण एसियाली राष्ट्र पाकिस्तानलाई रातो सूचीमा राखेको छ । बेलायतका सिनियर स्वास्थ अफिसर जो चर्चिलले ६ अगस्टदेखि नै रातो सूचीमा रहेका देशका यात्रुहरूले नियम पालना गर्नुपर्ने जनाएका छन् । ‘हामीले जुन–जुन देशलाई रातो सूचीमा राखेका छौँ, ती देशका नागरिकहरूले बेलायत भ्रमण गर्दा हाम्रो सरकारले निर्धारण गरेको नियम पालना गर्नुपर्छ, ती नियम पालना गर्ने भए मात्रै बेलायत छिर्न अनुमति दिइनेछ,’ चर्चिलले भने । 

बेलायतको जोइन्ट बायोसिक्योरिटी सेन्टरले विश्वभर कुन देशमा कोरोनाका कारण दैनिक कति मृत्यु र त्यस देशमा कोरोना संक्रमित रोक्ने कस्तो नीति अपनाइएको भन्ने अनुसन्धान गरेको छ । ‘कुन देशमा कोरोनाको अवस्था कस्तो छ, त्यहाँको अस्पतालको अवस्था, पिसिआर परीक्षण र रोकथाम निमित्त अपनाइएको विधि अनुसन्धान सेन्टरले गरेको छ,’ स्वास्थ अफिसर जो चर्चिलले भने, ‘यसै सेन्टरले दिइएको सूचनाअनुसार नै बेलायतले रातो वा हरियो सूची बनाएको हो ।’ 

पाकिस्तानमा अहिलेसम्म १० लाख ७१ हजार ६ सय २० जना संक्रमित भएका छन् । जसमध्ये नौ लाख ६४ हजार चार सय चारजना निको भएका छन् । कोरोनाका कारण पाकिस्तानमा अहिलेसम्म २३ हजार नौ सय १८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा यहाँ चार हजार ४० जना नयाँ संक्रमित थपिएका छन् । 

यसैबीच बेलायतले भारतलाई हरियो सूचीमा राखेको छ । यसै वर्षको १९ अप्रिलमा बेलायतले भारतलाई रातो सूचीमा राखेको थियो । त्यसवेला भारतमा कोरोनाको दोस्रो लहर तीव्र गतिमा बढिरहेको थियो । यो समयमा भारतमा दैनिक साढे दुई लाखदेखि चार लाख व्यक्ति संक्रमित भएका थिए । भारतले पछिल्लो समय कोरोना रोकथामप्रति देखाएको प्रगतिकै कारण बेलायतले रातो सूचीबाट हटाएको हो ।

भारतमा अहिलेसम्म तीन करोड १९ लाख ७६ हजार सात सय ८५ जना संक्रमित भएका छन् । जसमध्ये तीन करोड ११ लाख ४० हजार दुई सय ४६ जना निको भएका छन् । भारतमा कोरोनाले चार लाख २८ हजार पाँच सय चारजनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा भारतमा ३६ हजार ३५ जना संक्रमित भएका छन् । 

बेलायतले कतार, बहराइन र युएईको नामसमेत रातो सूचीबाट हटाएको छ । नयाँ अन्तर्राष्ट्रिय ट्राभल एड्भाइजरीअनुसार अब भारत, कतार, बराइन तथा युएईका नागरिक सहजै बेलायतको भ्रमण गर्न पाउनेछन् । यी देशका नागरिक क्वारेन्टाइनमा बस्नुपर्ने छैन ।