मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
इपिएलको ट्रफी सर्वाजनिक गर्दै शेखर गोल्छा (बायाँ) र आमिर अख्तर (दायाँ) । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २६ मंगलबार ०८:५२:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

इपिएलको मुख्य प्रायोजक बजाज पल्सर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २६ मंगलबार ०८:५२:००

ललितपुर, काठमाडौं किंग्स ११, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने

चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल) को प्रायोजन बजाज पल्सरले गर्ने भएको छ । इपिएलले पाएको यो प्रायोजन नेपालमा आयोजना हुने फ्रेन्चाइज टी–२० वेस क्रिकेटमध्ये हालसम्मकै सबैभन्दा ठूलो हो ।

नेपालमा इपिएलसँगै पोखरा तथा धनगढी प्रिमियर लिग सञ्चालित छन् । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छा र इपिएलका प्रबन्ध निर्देशक आमीर अख्तरबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । तर, कति रकमको सम्झौता भएको हो भन्ने खुलाइएको छैन । इपिएल आगामी ९ देखि २३ असोजसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ । 

हंसराज हुलास चन्दका निर्देशक गोल्छाले सम्झौता रकमबारे उल्लेख गर्न चाहेनन् । तर, उनले आउँदा दिनमा इपिएलसँग आबद्ध हुने जानकारी भने दिएका छन् । ‘अहिले हामीबीच कति रकम सम्झौता भयो भन्ने गोप्य नै राख्यौँ, तर हामी आउँदो तीन वा चार वर्षसम्म पनि यसलाई निरन्तरता दिनेछौँ,’ गोल्छाले भने । 

हंसराज हुलासचन्द नेपाली खेलकुदको सर्वाधिक चर्चित स्पोट्र्स अवार्डमा पनि मुख्य प्रायोजक रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने स्पोट्र्स अवार्डपछि इपिएलमा बजाज पल्सर मुख्य प्रायोजक बनेको हो । ‘क्रिकेटको माध्यमबाट बजाज पल्सर जोड्न पाउँदा ज्यादै खुसी लागेको छ,’ गोल्छाले भने, ‘हामी खेलकुदमा योगदान गर्न चाहन्छौँ ।’ कोरोना भाइरस महामारीका वेला इपिएलको मुख्य प्रायोजकका रूपमा आबद्ध हुनुअघि धेरैले प्रश्न गरेको बताए ।

‘मलाई धेरैले महामारीकाबीचमा पनि इपिएलमा आबद्ध भएको भनी प्रश्न गर्नुभएको थियो, खेलकुद यस्तो क्षेत्र हो, जसले सधैँ सकारात्मक सन्देश जनमानसमा दिन्छ, यसै कारण हामी इपिएलको माध्यमबाट सकारात्मक सन्देश दिन जोडिएका हौँ,’ उनले भने । इपिएलबाट उत्कृष्ट युवाहरू जन्मिने गोल्छाले विश्वास लिएका छन् । उनी भन्छन्, ‘यो इपिएलले देशभर गुणस्तरीय खेलाडीलाई जन्म दिनेछ, हामीलाई आशा छ, उनीहरू पनि राष्ट्रिय टोलीका लागि नयाँ खोजकै रूपमा स्थापित हुनेछन्,’ गोल्छाले भने, ‘बजाज पल्सर नेपालको खेलकुद विकासका लागि सधैँ प्रतिबद्ध छ ।’ 

इपिएलमा सहिद अफ्रिदी पनि जोडिँदै छन्
यसपटकको इपिएलमा विश्व क्रिकेटमै नाम कमाएका हस्तीको उपस्थिति रहनेछ । काठमाडौं किंग्स इलाभेनले पाकिस्तानका अलराउन्डर तथा पूर्वकप्तान सहिद अफ्रिदीलाई आबद्ध गरेको छ । दुई साताअघि मात्र काठमाडौंले विदेशी खेलाडी सार्वजनिक गर्ने क्रममा अफ्रिदीलाई आफ्नो मार्की खेलाडीका रूपमा नाम घोषणा गरेको थियो । 

सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाएअनुसार यसपटकको इपिएलमा पाकिस्तानकै सोएव मलिक र वेस्ट इन्डिजका कार्लोस ब्रेथवेट पनि समावेश हुनेछन् । तर, सोएव र कार्लोस कुन–कुन टोलीमा आबद्ध भएका हुन् भन्ने उल्लेख गरिएको छैन । ‘पक्कै पनि योपटक इपिएलमा सोएव र कार्लोस रहनेछन्, आबद्ध क्लबहरूले कुनै दिन पत्रकार सम्मेलनमार्फत नाम सार्वजनिक गर्नेछन्,’ इपिएलका प्रबन्ध निर्देशक अख्तरले भने, ‘अहिले गोप्य नै राख्यौँ ।’ 

अख्तरले यसपटक विश्वभरका टेलिभिजन दर्शकलाई लक्षित गर्दै इपिएल गर्ने योजनामा रहेको जनाए । ‘यद्यपि पछिको अवस्था के कस्तो हुनेछ थाहा छैन, हामी इपिएल विश्वभरका टेलिभिजन दर्शकलक्षित गरी सञ्चालन गर्छौँ,’ अख्तरले भने, ‘हामीले कोभिड–१९ को कठिन परिस्थितिमा पनि प्रतियोगिता आयोजना गर्ने निर्णय गरेका छौँ ।’ टेस्ट नखेल्ने राष्ट्रमध्ये टी–२० फ्रेन्चाइज लिगमा इपिएल उत्कृष्ट भएको अख्तरको दाबी छ । उनले इपिएल कम्तीमा एक सय ५० राष्ट्रमा प्रत्यक्ष प्रसारण हुने जनाए । ‘टेस्ट नखेल्ने राष्ट्रमध्ये इपिएल सबैभन्दा सफल लिग भन्ने गरेको छ,’ उनले भने, ‘यो सफल बनाउनमा प्रायोजककै मुख्य हात रहेको छ, हामीलाई पहिलो संस्करणदेखि विभिन्न प्रायोजकहरूले साथ दिँदै आइरहेका छन् ।’ 

गोल्छा र अख्तरले सरकार र स्वास्थ मन्त्रालयको मापदण्डअनुसारै इपिएल आयोजना हुने जनाएका छन् । ‘इपिएलमा दर्शक हुने वा नहुने पछिको कुरा हो, तर हामी सबै मापदण्डअनुसारै प्रतियोतिता आयोजना गछौँ,’ अख्तरले भने, ‘सकेसम्म स्वास्थ्य मन्त्रालयले राखेको मापदण्ड पूरा गरेर दर्शकमाझ गराउने प्रयास हुनेछ ।’ 

इपिएलको ट्रफी सार्वजनिक 
पत्रकार सम्मेलनमै इपिएलको ट्रफी सार्वजनिक गरिएको छ । आइसिसी विश्वकपको ट्रफी बनाउनेले नै इपिएलको ट्रफी बनाएको इपिएलका प्रबन्ध निर्देशक अख्तरले जानकारी दिए । ‘यो ट्रफी आइसिसी विश्वकप ट्रफी बनाउनेले नै निर्माण गरेको हो, यहाँ देखाइएको केवल रिप्रिका मात्र हो,’ उनले भने, ‘यो ट्रफी विशेष खालको छ ।’ इपिएलमा विभिन्न ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । इपिएलमा ललितपुर, काठमाडौं किंग्स ११, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । पछिल्लोपटक सन् २०१८ मा इपिएल आयोजना भएको थियो । सन् २०२० मै चौथो संस्करण आयोजना गर्ने तय भए पनि कोरोना महामारीले गर्दा प्रतियोगिता हुन सकेको थिएन । पछिल्लोपटक अर्थात् तेस्रो संस्करणको उपाधि ललितपुर प्याट्रिओट्सले जितेको थियो ।