मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २१ बिहीबार १०:१२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

महाराजगञ्जबाट प्रहरी तालिम केन्द्र नहटाउन पूर्वमहानिरीक्षकहरू एकजुट 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २१ बिहीबार १०:१२:००

महाराजगञ्जस्थित प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान नहटाउन पूर्वमहानिरीक्षकहरू एकजुट भएर लबिङमा लागेका छन् । बुधबार नेपाल प्रहरीका ११ पूर्वमहानिरीक्षकले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा १५ पूर्वमहानिरीक्षकको नाम तथा १४ जनाको हस्ताक्षर छ । 

केपी ओली नेतृत्वको अघिल्लो सरकारले दुई वर्षअघि राष्ट्रपति कार्यालय विस्तारका लागि प्रहरी तालिम केन्द्र स्थानान्तरण गर्ने निर्णय गरेको थियो । जसको पूर्वप्रहरीले विरोध गर्दै आएका छन् । प्रहरीको इतिहास तथा हजारौँ प्रहरीको भावनात्मक सम्बन्ध गाँसिएको महत्वपूर्ण ठाउँ भएकाले सो निर्णय कार्यान्वयन नगर्न उनीहरूले प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।

ज्ञापनपत्रमा भनिएको छ, ‘निवर्तमान सरकारले एक अनुशासित संगठनको यस्ता संवेदनशील पक्षलाई पूर्णतया उपेक्षा गरी जसरी दूरगामी नकारात्मक असर पुर्‍याउने खालको निर्णय कार्यान्वयनका लागि प्रशासनिक आदेश गरेको छ, सो निर्णय र आदेशको खारेजीका लागि वर्तमान सरकारको नेतृत्वबाट तत्काल कारबाही हुनेछ भनी हामीले पूर्ण आशा एवं विश्वास राखेका छौँ ।’ ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री देउवाले त्यस विषयमा आफूले अध्ययन गर्ने जवाफ दिएका छन् । 

पूर्वमहानिरीक्षकहरू दुर्लभबहादुर थापा, मोतीलाल बोहरा, अच्युतकृष्ण खरेल, धु्रवबहादुर प्रधान, प्रदीपशमशेर राणा, श्यामभक्त थापा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी, रवीन्द्रप्रताप शाह, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवाली एकजुट भएर प्रहरी तालिम केन्द्र जोगाउन लागेका हुन् । उनीहरूमध्ये दुर्लभबहादुर, प्रदीपशमशेर, रमेशचन्द र सर्वेन्द्र भने उपस्थित भएनन् ।

पूर्वमहानिरीक्षक बोहराले कार्यक्रमको संयोजन गरेका थिए । ‘हामीले बालुवा र इँटा बोकेर यो तालिम केन्द्र बनाएका हौँ,’ बोहरा भन्छन्, ‘हाम्रो भावना जोडिएको एकेडेमीलाई स्थानान्तरण गर्ने निर्णयले निकै चित्त दुःखेको छ, त्यहीकारण हामी प्रधानमन्त्रीज्यूलाई भेट्न गएका हौँ, हजारौँ प्रहरीको भावना बुझेर पक्कै सरकारले पुरानो निर्णय बदर गर्छ भन्ने विश्वास छ ।’ 

२१ भदौ ०७५ मा ओली सरकारले एकेडेमीलाई १८ महिनाभित्र काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको थियो । तर, पनौतीमा संरचना नै बनिसकेको छैन । संरचना बनेपछि कतिपय तालिमहरू उपत्यकाबाहिर गर्न असम्भव हुने प्रहरी अधिकारीहरू बताउँछन् । एकेडेमीको जग्गामा राष्ट्रपति कार्यालयको हेलिप्याड तथा बगैँचा बनाउने तयारी सहरी विकास मन्त्रालयको छ । 

०१३ मा सदर प्रहरी तालिम केन्द्रका नाममा प्रहरीको यो संरचना स्थापना भएको छ । ०४९ मा शेरबहादुर देउवा गृहमन्त्री हुँदा यसलाई प्रहरी राष्ट्रिय तालिम प्रतिष्ठानका रूपमा पुनर्संरचना भएको थियो । जसको देउवाले नै उद्घाटन गरेका थिए । 

राष्ट्रपति कार्यालय रहेको शीतलनिवास तथा प्रहरी तालिम केन्द्र चन्द्रशमशेरका छोरा कृष्णशमशेर निजी सम्पत्ति रहेकोमा उनले नेपाल प्रहरीलाई ०१२ मा दान दिएका थिए । जसमा तत्कालीन राजा महेन्द्रले निजी बजेट दिएर तालिम केन्द्र बनाउन लगाएका थिए । तालिम केन्द्र बनाउन आधा बजेट बसेपछि त्यसबाट भृकुटीमण्डपमा प्रहरी क्लब बनाइएको प्रहरी अधिकारीहरू बताउँछन् । 

के हुन सक्छ विकल्प ? 
पूर्वमहानिरीक्षकको ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री देउवाले यस विषयमा अध्ययन गरेर निर्णय गरिने बताएका छन् । एक उच्च प्रहरी अधिकारी यसमा विवाद गर्नुभन्दा राष्ट्रपति कार्यालय पनि विस्तार गर्ने र प्रहरी एकेडेमीलाई पनि त्यहीँ राख्न सकिने बताउँछन् । ‘आधारभूत तथा आवासीय तालिमहरू पनौतीमा गर्न सकिन्छ,’ ती प्रहरी अधिकारी भन्छन्, ‘अन्य तालिमहरू यहीँ सञ्चालन गर्ने गरी यो विवाद मिलाउन सकिन्छ ।’ राष्ट्रपति कार्यालयका लागि आवश्यक थप केही जग्गा उपलब्ध गराएर एकेडेमीलाई त्यहीँ राख्न सकिने प्रहरी अधिकारीहरू बताउँछन् ।