१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण २१ बिहीबार १०:१६:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्राधिकरणको नाफा घट्नु र चोरी बढ्नुमा लकडाउन र विद्युत् आयातलाई दोष

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण २१ बिहीबार १०:१६:००

कार्यकारी निर्देशक शाक्य भन्छन् : सरकारले अर्को जिम्मेवारी दिन्छ भने प्राधिकरण छोड्न तयार छु

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आवश्यकता देखेर तोकेको वैकल्पिक जिम्मेवारीमा जान तयार रहेको बताएका छन् । बुधबार पत्रकारहरूसँगको भेटघाटमा उनले एउटा कर्मचारीको रूपमा सरकारले दिएको भूमिका निभाउन तयार रहने बताए । ‘तर, अर्को जिम्मेवारी दिँदा दोष देखाएर होइन, अर्को काममा तपाईंको आवश्यकता महसुस भयो भन्ने अवस्थामा सरकारले तोक्ने जिम्मेवारी स्विकार्नेछु’ उनले भने । तपाईंले चाहेको वैकल्पिक जिम्मेवारी के हुन सक्छ भन्ने प्रश्नमा उनले धेरै विकल्प सरकारसँग रहेको बताए ।

साथै, वर्तमान जिम्मेवारीबाट दोषी देखाएर निकाल्ने वा अन्याय गरेको खण्डमा न्यायका लागि अदालत जानु स्वाभाविक हुने उनको भनाइ छ । ‘तर, सरकारले आवश्यकता देखेर अर्को जिम्मेवारी दिन्छ भने किन अदालत जानु ?’ उनले भने । छलफलमा उनले प्राधिकरणको कार्यकारी निर्देशकबाट कसैले राजीनामा दिन निर्देशन वा अनुरोध नगरेको जानकारी दिए । उनले भने, ‘मैले गरेको काम चित्तबुझ्दो भए नभएको माथिल्लो निकायले मूल्यांकन 
गर्ने विषय हो ।’ 

कोभिडले अप्राविधिक चुहावट घटाउने काम रोकियो

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोभिड १९ को समयमा विद्युत्को चोरी चुहावट रोक्न नसकिएको स्वीकार गरे । तर, चोरी नियन्त्रण दोस्रो प्राथमिकतामा रहेको र पहिलो प्राथमिकतामा विद्युत् वितरणलाई दिएको उनको भनाइ छ । निषेधाज्ञाको समयमा घरघर पुग्न नसक्दा पनि चोरी बढ्न पुगेको हो । विशेषगरी, तराई र हुकिङ बढी हुने ठाउँमा जान नसकिएको उनको भनाइ छ । उनले भने, ‘त्यस्तो ठाउँमा हरेक हप्ता वा दुई–तीन दिनमा जाने गरिएकोमा रोकिएको छ । घरघरमा पुगेर मिटर परीक्षण गर्न नसक्दा पनि चुहावट बढेको हो ।’ 

प्राधिकरणको विद्युत् चुहावट अघिल्लो वर्ष १५ दशमलव २७ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा १६ दशमलव ०३ प्रतिशत पुगेको छ । जबकि आर्थिक वर्ष २०७७/७८ मा प्राधिकरणले १५ दशमलव ५ प्रशितमा झार्ने लक्ष्य राखेको थियो । यसो हुनुमा कोभिड १९ का कारण वितरण प्रणालीमा प्राधिकरणले अनुगमन गर्न नसक्नु, समयमै मिटरिङ गर्न नपाउनु र प्रसारण लाइनतर्फ विद्युत् वहन अत्यधिक हुँदा प्राविधिक चुहावट पनि बढ्न पुगेको कार्यकारी निर्देशक शाक्यको भनाइ छ । 

कामको जस नपाएको गुनासो 

आफ्नो ६ महिने कार्यकाल पूरा गरिरहँदा धेरै काम गरे पनि जस नपाएको उनको दुःखेसो छ । प्राधिकरणले दिने सेवा नियमित उपलब्ध गराइरहेको, २०७७ को जाडोयाममा अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत खपत बढेको उनले जानकारी दिए । त्यस अवस्थामा कुल खपतको ६० प्रतिशतसम्म वृद्धि गरेर सेवा पुर्‍याउने काम गरेको उनको भनाइ छ ।

प्रसारण लाइन निर्माण र स्तरोन्नतिमा महत्वपूर्ण काम गरेको उनको भनाइ छ । माथिल्लो तामाकोसीलाई छिटो सम्पन्न गर्न, भारतीय बजारमा पहिलोपटक खरिदका लागि प्रवेश गर्न र बिक्रीका लागि प्रक्रिया अघि बढाउने काम महत्वपूर्ण भएको उल्लेख गरे । 

नाफा ११ अर्बबाट घटेर ५ अर्बमा सीमित हुनुका तीन कारण

प्राधिकरणले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आव २०७७/७८ मा प्राधिकरणको नाफा ५ अर्ब रुपैयाँ हुने प्रक्षेपण गरिएको जानकारी दिए । जुन अघिल्लो आव २०७६/७७ मा ११ अर्ब रुपैयाँ थियो । नाफा घट्नुमा भारतबाट आयात गर्ने विद्युत्को परिमाण बढ्नु, चुहावटमा वृद्धि हुनु र सुक्खायाममा प्राधिकरण र अन्य आन्तरिक स्वदेशी विद्युत् उत्पादनमा कमी आउँदा समग्रमा नाफा घटेको कार्यकारी निर्देशकले जानकारी दिए । त्यसमध्ये साढे ३ अर्ब रुपैयाँ डेडिकेटेड र ट्रक लाइनको व्यवस्था हटाउँदा आम्दानी घटेको छ ।

त्यस्तै, १ अर्ब ४० करोड रुपैयाँ चुहावटको कारण नाफामा असर परेको छ भने बाँकी भारतबाट विद्युत् आयात गर्दा पनि घाटा भएको उनको भनाइ छ । हिउँदमा आन्तरिक उत्पादन कम भएका कारण भारतबाट २ अर्ब ७० करोड युनिट बिजुली आयात भएको र यति बिजुली आयात गरेबापत प्राधिकरणले भारतलाई २१ अर्ब रुपैयाँ तिरेको छ ।