१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
अजित अधिकारी काठमाडाैं
२०७८ श्रावण २० बुधबार ०९:२६:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

६ लाख जरिवाना गरिएका ट्यांकरधनीलाई निगमका थानकोट  डिपो प्रमुख ठाकुरले दिए सफाइ

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडाैं
२०७८ श्रावण २० बुधबार ०९:२६:००

क्यालिब्रेसन (तेलको सही नाप लिने प्रणाली) बिगारेर कम तेल ल्याएको आरोपमा ट्यांकरधनीलाई ६ लाख रुपैयाँभन्दा बढी जरिवाना तिराउने निर्णयबाट थानकोटका डिपो प्रमुख आफैँ पछि हटेका छन् । एक वर्षदेखि प्रतिट्रिप ६३ लिटरसम्म कम तेल ल्याएको निष्कर्ष निकालेर कुल ६ लाख ३६ हजार १ सय ८ रुपैयाँ जरिवाना तोकिएको ना५ख ९५६३ नम्बरका ट्यांकरधनी सुरेन्द्र बर्तौलालाई थानकोट डिपो प्रमुख ठाकुरले उन्मुक्ति दिएका हुन् । गत आइतबार सो ट्यांकरको क्यालिब्रेसन चेकजाँच गर्दा गल्ती भेटिएको भन्दै ठाकुरले नै कारबाही गर्ने निर्णय गरेका थिए ।

तर, ट्यांकरधनी र चालकको दबाब खेप्न नसकेको भन्दै दुई दिनपछि कारबाही गर्ने निर्णय स्थगित गरेका हुन् । ६ लाख जरिवाना तिराउने निर्णयविरुद्ध ट्यांकरधनी र चालकले विरोध जनाउँदै मंगलबार बिहानबाट थानकोटमा हडताल गरी तेल उठाएका थिएनन् । त्यस्तै, इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरी र निगमको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जबाट पेट्रोल–डिजेल लिएर आएका ट्यांकरको तेल डिपोमा पनि खन्याउन दिएका थिएनन् ।

त्यसपछि ट्यांकरधनी, चालक र डिपो प्रमुख ठाकुरसहितका कर्मचारी बसेर भएको छलफलपश्चात् दुई दिनअघि गरिएको कारबाही स्थगित गर्ने निर्णय भएको स्रोतले जनायो । ‘एउटा ट्यांकरलाई एक्कासि त्यत्रो धेरै जरिवाना तिराउने निर्णय सही थिएन । डिपोका कर्मचारीले कुनै नियत राखेर कारबाहीको धाक देखाएका थिए । त्यसैले त्यो जरिवाना तिराउने निर्णय स्थगित गर्ने र ट्यांकरको आउँदो शनिबार क्यालिब्रेसन परीक्षण गर्ने निर्णय भएको छ,’ छलफलमा सहभागी एक व्यवसायीले भने । ट्यांकरको क्यालिब्रेसन आइओसीले तोकेका भारतका विभिन्न एजेन्सीमा हुने गरेको छ ।

डिपो प्रमुख ठाकुरले उन्मुक्ति दिएको जय गौरीशंकर ढुवानी सेवा प्रालिमातहतको ट्यांकरलाई हो । यो कम्पनीका ट्यांकरहरू बारम्बार कारबाही खेप्दै आएका छन् । केही समयअघि मात्रै सोही कम्पनीको अर्को ट्यांकरले करिब १ हजार लिटर तेल तस्करी गर्दै भारत लैजान लागेको आरोपमा प्रहरीले रंगेहात समातेर वीरगन्ज भन्सार कार्यालयमा बुझाएको थियो । 

बारम्बार कम तेल ल्याई निगमलाई नोक्सानीमा धकेलिरहेको कम्पनीलाई कारबाही गर्ने निर्णयबाट ठाकुर पछि हट्नुलाई व्यवसायीसँगको ‘मिलेमतो’को आशंका गरिएको छ । उनले फागुन अन्तिम साताबाट थानकोट डिपो सम्हालेदेखि ट्यांकरधनी र चालकसँग सम्बन्ध राम्रो छैन । आफ्नो विरोध गर्ने ट्यांकरधनी र चालकलाई कारबाहीको त्रास देखाउन खोजेको स्रोतको भनाइ छ ।

ट्यांकरधनी बर्तौलाले भने नियतवश कारबाही गरेकाले विरोध गरेको बताए । ‘बरौनीदेखि काठमाडौंसम्मको लामो बाटोमा तेल ल्याउँदा केही परिमाण तल–माथि हुनु स्वाभाविक हो,’ उनले भने, ‘ट्यांकरमा आएको तेलमध्ये खासमा ०.१ सेन्टिमिटर मात्रै कम देखिएको हो । कर्मचारीहरूले अन्याय हुने गरी २.१ सेन्टिमिटर कम देखाइदिए ।’

कारबाही फिर्ता गरिएको विषयमा बुझ्न डिपो प्रमुख ठाकुरसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् । आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले ट्यांकरका विषयमा केही समस्या देखिए पनि समाधान भई काठमाडौंमा इन्धन वितरण नियमित भइसकेको बताए ।

के भएको थियो ? 
इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीदेखि निगमको थानकोट डिपोसम्म इन्धन ओसार्ने जय गौरीशंकर ढुवानी सेवा प्रालिको ना५ख ९५६३ नम्बर ट्यांकरको आइतबार थानकोट डिपोमा आउनासाथ क्यालिब्रेसन परीक्षण भएको थियो । त्यसक्रममा सो ट्यांकरले २.१ सेन्टिमिटर कम तेल ल्याउने गरेको पुष्टि भएको थियो । 

२० हजार लिटर क्षमताको सो ट्यांकरमा १ सेन्टिमिटर कम हुँदा ३० लिटर तेल घटी हुन्छ । २.१ सेन्टिमिटर कम हुँदा प्रतिट्रिप ६३ लिटर कम आउने गरेको पुष्टि गर्दै थानकोट डिपो प्रमुख अभिषेक ठाकुरले सो ट्यांकरको क्यालिब्रेसन भएको अन्तिम मिति २२ साउन ०७७ बाटै कम तेल ल्याउने गरेको निष्कर्ष निकालेका थिए ।

क्यालिब्रेसन भएको अन्तिम मितिबाट सो ट्यांकरले बरौनीदेखि थानकोटसम्म पेट्रोल ३९ र डिजेल २ पटक गरी कुल ४१ पटक तेल ओसारेको अभिलेखमा देखिएको थियो । आयल निगमको पेट्रोलियम पदार्थ ढुवानीसम्बन्धी विनियमावलीले एकपटकमा ५० लिटरसम्म कम तेल आए प्रचलित बजार मूल्यअनुसार जरिवाना तिराउने र प्रतिपटक ५० लिटरभन्दा बढी तेलको चुहावट भएको भेटिए प्रचलित मूल्यको दोब्बर हुन आउने रकम जरिवानाबापत तिराउने व्यवस्था गरेको छ ।

सो ट्यांकरले ४१ पटकसम्म प्रतिट्रिप ६३ लिटरका दरले कम तेल ल्याउँदा प्रचलित बजार मूल्यअनुसार ३ लाख १८ हजार ५४ रुपैयाँ नोक्सानी पुर्‍याएको निगमको ठहर थियो । प्रत्येकपटक ५० लिटरभन्दा बढी तेल चुहावट भएका कारण दोब्बर हुन आउने ६ लाख ३६ हजार १ सय ८ रुपैयाँ जरिवाना तिराउने र सो जरिवानाबापतको रकम ट्यांकरधनीले मासिक रूपमा पाउने ढुवानी भाडाबाट कटौती गर्ने भनेर थानेकाट डिपो प्रमुख ठाकुरले नै क्यालिब्रेसन परीक्षण भएकै दिन (आइतबार) हतारमा निर्णय गरेका थिए ।

सो ट्यांकरलाई कारबाही गर्न डिपो प्रमुख ठाकुरले हतार गरेको देखेर अन्य कर्मचारी भने अचम्मित थिए । सो निर्णयबारे ट्यांकरधनी सुरेन्द्र बर्तौलालाई आइतबार नै पत्र लेखी ठाकुरले जानकारी गराएका थिए । उक्त ट्यांकरले निगमको थानकोट डिपोदेखि उपत्यकाका विभिन्न पेट्रोलपम्पमा कैयौँपटक तेल लगेको थियो । त्यसरी पम्पमा तेल लग्दासमेत कम तेल गएको हुन सक्नेतर्फ भने डिपो प्रमुख ठाकुरले चासो नै नदिएको कर्मचारीको आरोप छ । ठूलो रकम जरिवानाबापत तिराउने आयल निगमको निर्णयविरुद्ध ट्यांकरधनी र चालकहरू एकजुट भई मंगलबार बिहानबाट थानकोट डिपोमा हडताल गरेका थिए । उनीहरूका हडतालका कारण दिउँसो २ बजेसम्म थानकोटबाट तेल उठ्न सकेको थिएन ।

बिहानैबाट हडताल सुरु भएपछि थानकोट डिपोमा ट्यांकरधनी, चालक र डिपो प्रमुख ठाकुरसहितका कर्मचारीले वार्ता गरेका थिए । सो वार्तामा ट्यांकरधनी र चालकहरूले जरिवाना तिराउने कारबाही फिर्ता नभए हडताल जारी रहने र इन्धन वितरण प्रभावित पार्ने चेतावनी दिएका थिए । छलफलमा ट्यांकरधनी र चालकहरूले आइतबारको परीक्षणमा कम तेल ल्याएको देखिए पनि त्यसअघि पनि कम नै आएको प्रमाण के हो ? बढी पो आएको थियो कि भनेर जवाफसमेत मागेका थिए । उनीहरूले एक वर्षदेखि गल्ती गर्दै आएको भनी गरिएको कारबाही तर्कसंगत नभएको बन्दै विरोध गरेका थिए ।