१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
न्यान्सी सियान
२०७८ श्रावण १९ मंगलबार ११:००:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ओलम्पिकमा देखिने राष्ट्रवाद

Read Time : > 3 मिनेट
न्यान्सी सियान
२०७८ श्रावण १९ मंगलबार ११:००:००

एक वर्ष ढिलो गरी आयोजना भइरहेको २०२० टोकियो ओलम्पिक प्रतियोगिता जापानमै त्यति उत्साहका साथ स्विकारिएको छैन । पछिल्लो एक अध्ययनमा ७८ प्रतिशत जापानी नागरिक प्रतियोगिता रद्द गर्नुपर्ने पक्षमा देखिए । धेरैले महामारीको समयमा गरिएको प्रतियोगिता आयोजनालाई राम्रो मानेका छैनन् । खेल सुरु भएपछि पनि जापानी मिडियाले कुन–कुन देशका खेलाडीले कोभिड–१९ विरुद्ध खोप लगाएका छैनन् भन्ने प्रकाश पारिरहेका छन् । 

ओलम्पिकमा यसपालि अभूतपूर्व जनस्वास्थ्य चिन्ता देखिए पनि सधैँजसो यसको केही न केही आलोचना हुन्थ्यो । ओलम्पिकमाथि एउटा आरोप यसले अन्धराष्ट्रवादलाई बढावा दिन्छ भन्ने पनि छ । हुन पनि ओलम्पिकमा हुने प्रत्येक खेल कुन ठूला मुलुकका सहभागीले जित्लान् भन्ने कौतूहल हुने गर्छ । विशेष गरी अमेरिका, चीन, जापान, बेलायत र रुसले सधैँजसो धेरै मेडल हात पार्छन् ।

शासकहरूले खेलकुद प्रतियोगिताले राष्ट्रिय पहिचान बलियो बनाउँछ भनेर बुझेका छन् । त्यसैले ओलम्पिकका प्रत्येक संस्करणलाई सरकारले आफ्नो सबलता देखाउन प्रयोग गर्ने गर्छन् । सन् १९३६ मा हिटलरले बर्लिन ओलम्पिकलाई आफ्नो सफलता देखाउन पूर्ण उपभोग गरेका थिए । 

सन् १९६४ मा जापानले ओलम्पिक आयोजना गरेर आफू दोस्रो विश्वयुद्धको विध्वंसबाट उठिसकेको सन्देश दिन सफल भएको थियो । सन् १९८० को दशकमा ओलम्पिक आफैँमा शीतयुद्धको हतियारमा रूपान्तरित भयो । सन् १९८० को मस्को ओलम्पिकलाई अमेरिकाले बहिष्कार गरेपछि सोभियत संघले सन् १९८४ को लस एन्जलस प्रतियोगिता बहिष्कार ग¥यो ।

प्रतियोगिताको यही राजनीतिक लाभका कारण विश्वभरका सरकारले यसको आयोजना गर्न तछाडमछाड गर्छन् । चीनले सन् २००८ बेइजिङ गृष्मकालीन ओलम्पिकको तयारीमा इतिहासमै सबैभन्दा धेरै ४०–४४ अर्ब डलर खर्च ग¥यो । त्यस खर्चलाई रुसले सन् २०१४ को सोची ओलम्पिक आयोजना गर्दा उछिन्यो । रुसले प्रतियोगिताको तयारीमा ५० अर्ब डलर खर्च गरेको थियो । खेलकुदमा अभूतपूर्व खर्च गरेकै वर्ष रुसले क्रिमियालाई आफूमा गाभेको थियो । र, यी दुईका कारण देशभित्र भ्लादिमिर पुटिनको लोकप्रियता शिखरमा पुगेको थियो ।

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताले राष्ट्रवादको खराब पक्षलाई बढावा दिने कुरामा शंका छैन । सन् १९३६ को बर्लिन ओलम्पिकलाई यसको एउटा उदाहरणका रूपमा लिन सकिन्छ । विगतमा ओलम्पिक खेलले पराजित राष्ट्रहरूलाई तिनको गुमेको सार्वभौमको स्मरण गराउँथ्यो । सन् १९२४ सम्म पोलिस खेलाडीहरू अन्य देशको नाममा मात्र ओलम्पिकमा भाग लिन सक्थे । बलपूर्वक सोभियत गणराज्यमा समावेश गरिएका बाल्टिक राष्ट्र तथा युक्रेनका खेलाडीहरू ओलम्पिकमा सहभागी हुन सोभियत संघबाट मात्र प्रतिनिधित्व गर्न बाध्य हुन्थे ।

आलोचकहरूले ओलम्पिक शक्तिराष्ट्रहरूले आफ्नो अन्धराष्ट्रवाद प्रदर्शन गर्ने प्रतियोगितामा बदलिएको आरोप लगाए पनि यसले स्वस्थ भावनालाई पनि प्रेरित गर्छ । विशेषतः साना, नयाँ तथा विपन्न मुलुकमा यस्तो भावना देखिन्छ । 

तर, अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताले खराब भावना मात्र उब्जाउँदैन । जित्ने सामूहिक चाहनाले देशभित्रका अल्पसंख्यक समूहप्रतिको विभेद कम हुन सक्छ । जस्तो, अमेरिकी संस्थापनले जब जेस ओवेनको प्रतिभा चिनेर उनलाई बर्लिन ओलम्पिकमा सहभागी गराए, उनले त्यहाँ चार स्वर्ण पदक जिते ।

ओवेनको सफलताले पुस्तौँसम्म अश्वेतहरूलाई प्रेरित गर्‍यो । त्यस्तै, नाओमी ओसाकाको असाधारण प्रतिभाका कारण यो वर्ष उनलाई ओलम्पिकको मसाल जलाउने अवसर दिइयो । जापानी आमा र हैटियन पिताकी सन्तान ओसाकालाई यस्तो अवसर दिएर जापानले परम्परागत नश्ल र लैंगिक संकीर्णता त्यागेको जस्तो देखिएको छ । यसले पछिसम्म जापानमा प्रभाव पार्नेछ । 

खेलकुद प्रतियोगिताले नयाँ मुलुकमा राष्ट्रियताको भावना विकास गर्ने अवसर दिन्छ । सन् १९९२ मा नेल्सन मन्डेलाले बार्सिलोना ओलम्पिकमा भाग लिएर दक्षिण अफ्रिकामा रंगभेद अन्त्य भएको सन्देश दिए । सन् १९९० को दशकको अन्त्य र २००० को दशकको सुरुमा क्रोयट्सहरूले विमबल्डन च्याम्पियन गोरान इभानिसेभिक र बास्केटबल खेलाडी टोनी कुकोकलाई आफ्नो सान ठान्थे । आज बेलारसियनहरू बाइएथलेट डर्या डोमराचेभा र टेनिस खेलाडी भिक्टोरिया अजारेन्कालाई लिएर गर्व गर्ने गर्छन् । 

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताले आन्तरिक विभाजनको जोखिममा रहेका मुलुकमा पनि एकताको भावना विकास गरेको पाइएको छ । अनुसन्धाताले अफ्रिकन कप अफ नेसन र फिफा विश्वकपमा सब–साहारा क्षेत्रका मुलुकमा जातीय द्वन्द्व उल्लेख्य कम भएको पाएका छन् । किनकि, ठूलो प्रतियोगिताको सहभागिताले नागरिकलाई एकताको भावना विकास गरेर जाति–जातिबीच अविश्वास कम गराउँछ ।

अन्तर्राष्ट्रिय ओलम्पिक समितिले २०६ राष्ट्रिय ओलिम्पिक समितिलाई स्वीकृति दिएको छ । टोकियो ओलम्पिकमा तीमध्ये जम्मा १४ देशका खेलाडीको संख्या मात्र कुल ११,३२६ खेलाडीमध्ये आधा रहेको छ । यी १४ मुलुकमध्ये १२ वटा विश्वका सबैभन्दा धनी मुलुकहरूको समूह ओइसिडीका सदस्य मुलुक हुन् । चीन र रुस मात्र समूहको सदस्य मुलुक होइनन् ।

प्रतियोगिताका अधिकांश मेडल पनि यिनै १४ मुलुकले हात पार्छन् र तिनकै जितको समाचारले मिडिया छाउने गर्छ । तर, बाँकी १९२ मुलुकले पनि ओलम्पिकलाई महत्वपूर्ण अवसरका रूपमा लिएका हुन्छन् । यी साना, नयाँ र विपन्न मुलुकका लागि ओलम्पिक मेडल जित्ने वा महाशक्ति दाबी गर्नेभन्दा पनि सहभागिताको अनुभव नै ठूलो हुन्छ ।

ओलम्पिक प्रतियोगिताले राष्ट्रिय स्वीकृति र एकताको अवसर प्रदान गर्छ । जुन भावना अर्थतन्त्र र राजनीतिक स्थायित्व विकास गर्न महत्वपूर्ण ठहरिन्छ । पियरे डे कुबरटिनले आधुनिक ओलम्पिक सुरु गरेयता सम्पन्न भएका ५२ ओलम्पिक प्रतियोगितामा धेरै खराब घटना पनि देखिए । तर, धेरै मुलुकमा यसले सकारात्मक ऊर्जाको काम गरेको छ । विशेषतः मेडलका हिसाबमा तथा भूराजनीतिक प्रभावमा कम महत्वपूर्ण देखिने मुलुकमा यस्तो देखिएको छ । 
न्यान्सी सियान नर्थवेस्ट युनिभर्सिटीकी प्राध्यापक हुन् । 
© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य