मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
टेकराज थामी काठमाडाैं
२०७८ श्रावण १९ मंगलबार ०९:५६:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

साढे चार करोडको कोकिनसहित ‘र्‍याकेट’का १३ सदस्य पक्राउ 

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७८ श्रावण १९ मंगलबार ०९:५६:००

पहिलोपटक भेटिए नेपालमा कोकिनका ग्राहक

नेपालमा पहिलोपटक कोकिनका ग्राहक फेला परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न १३ जनालाई पक्राउ गरेपछि नेपालमा पनि यसका ग्राहक रहेको तथ्य खुलेको हो । ब्युरोले साढे चार करोड रुपैयाँभन्दा बढी मूल्यको कोकिनसमेत बरामद गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्ने सबै एउटै ‘¥याकेट’का सदस्य हुन् । उनीहरूले एक वर्षअघिदेखि काठमाडौंमा कोकिन बिक्री गर्दै आएका थिए । पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट– ५ लाकुरीबोटका सुरोज गुरुङ, काठमाडौं रानीबारीका अञ्जु थापामगर, मुना तामाङ गुरुङ, रक्की आलेमगर, रायल थापामगर छन् । त्यस्तै, भारत गोवा नग्गारवडा भोमाका सन्दीप पटेल, धादिङ नीलकण्ठ– ११ का मिराज ढकाल र मच्छिन्द्र धमला, काठमाडौं झोँछेका सुदन शाक्य पनि पक्राउ परेका छन् । यसअघि प्रहरीले गत ७ साउनमा पकनाजोलस्थित होटेलबाट गोरखाका मुकुन्द खड्का, मन गुरुङ, रेशमबहादुर राना र गोरखा एकराज गुरुङलाई पक्राउ गरेको थियो । उनीहरूकै सूचनाका आधारमा प्रहरीले ‘र्‍याकेट’का अन्य नौ सदस्य पक्राउ गरेको हो ।

डिस्को, पब र जंगल पार्टीमा कोकिन बिक्री : एसएसपी हृदय थापा, प्रमुख, लागुऔषध नियन्त्रण ब्युरो

अक्सर नेपाल कोकिनका लागि ट्रान्जिट मात्रै हुँदै आएको थियो । तर, प्रहरीको पछिल्लो अपरेसनले कोकिनका ग्राहक नेपाली युवा पनि रहेको पुष्टि भएको छ । तौल लिन प्रयोग हुने तराजुसहित बिक्रीमा संलग्न नेपाली व्यापारी पक्राउ परेको घटनाले यसलाई पुष्टि गर्छ । डिस्को, पब र जंगल पार्टी आयोजना गरी बरामद कोकिन बिक्री हुँदै आएको छ । यसका ग्राहक सम्भ्रान्त परिवारका किशोर–किशोरी र युवा रहेको अनुसन्धानले देखाएको छ । कोकिनका नेपाली ग्राहक भेटिएको यो पहिलो घटना हो । 

ब्युरो प्रमुख एसएसपी हृदय थापाले पक्राउ परेकाहरूले समूह नै बनाएर काठमाडौंका पब, डिस्को तथा भिभिआइपी पार्टीहरूमा कोकिन बिक्री गर्दै आएको जानकारी दिए । विशेष गरी धनाढ्य परिवारका सदस्यलाई आफ्नो नियमित ग्राहक बनाएको पाइएको उनले बताए । ‘कोकिन हार्ड ड्रग हो । यस्ता ड्रगका लागि नेपाल ट्रान्जिट मात्रै हुने गथ्र्यो । तर, पछिल्ला दिनमा यस्ता लागुऔषध नेपालकै सहरहरूमा बिक्री हुने गरेको यो घटनाले पुष्टि गरेको छ । कोकिनजस्तो महँगो लागुऔषध नेपालमै प्रयोग हुने गरेको यो पहिलो घटना हो,’ एसएसपी थापाले भने ।

बोलिभियन नागरिकको कोठाबाट कोकिन चोरी
प्रहरीका अनुसार बरामद लागुऔषध कोकिन काठमाडौं रानीबारीकी अञ्जु थापामगरले २९ मंसिर ०७४ मा लाजिम्पाटस्थित ब्रदर अपार्टमेन्टमा बस्ने बोलिभियन नागरिक रोबर्ट कार्लोसबाट चोरी गरी ल्याएकी थिइन् । अपार्टमेन्ट सफाइको काम गर्ने अञ्जुले रोबर्ट बसेको कोठा नम्बर १ मा सफाइ गर्ने क्रममा कोकिन चोरी गरेकी थिइन् । ज्याकेटमा पोको पारी राखिएको लागुऔषध अञ्जुले चोरेर घर लगेकी थिइन् । त्यसपछि उनले अपार्टमेन्टमा सरसफाइको काम छाडिन् । रोबर्ट भने त्यसवेला ६ किलो कोकिनसहित ठमेलको होटेल गार्डेनबाट पक्राउ परेका थिए । उनी अहिले केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् । 

‘बयानबाट खुलेअनुसार अञ्जुलाई ज्याकेट मन परेपछि चोरी गरिछन् । ज्याकेटभित्र लागुऔषध थियो । घर आएर खोल्दा पो उनले थाहा पाइन् । सोही लागुऔषध बजारमा बिक्री गर्न उनले र्‍याकेट बनाइन् । अहिले बरामद गरिएको लागुऔषध त्यही हो,’ एसएसपी थापाले भने ।

प्रहरीका अनुसार अञ्जुले कोकिनलाई नेपाली बजारमा बिक्री गर्न छोरी रायल थापामगरलाई समेत प्रयोग गरेकी थिइन् । छोरीकै सहयोगमा उनले कोकिन डिस्को, पब र धनाढ्य परिवारका किशोर–किशोरीहरूलाई बिक्री गर्दै आएकी थिइन् । ‘उनले अरूलाई त कोकिन बिक्री गर्ने सदस्य बनाइन् नै छोरीलाई समेत यो धन्दामा प्रयोग गरिन् । डिस्को, पबदेखि रिमोट क्षेत्रमा जंगल पार्टी आयोजना गरी यिनीहरूले कोकिन बिक्री गर्दै आएका थिए,’ उनले भने ।

अनि गठन भयो ‘र्‍याकेट’
प्रहरीका अनुसार अञ्जुले २९ मंसिर ०७४ मा लाजिम्पाटस्थित ब्रदर अपार्टमेन्टमा बस्ने बोलिभियन नागरिक रोबर्ट कार्लोसको कोठाबाट ज्याकेट चोरी गरेर घर लगिन् । त्यसवेलासम्म ज्याकेटको फल्स बटममा लुकाई राखिएको कोकिनको सन्दर्भमा उनलाई जानकारी थिएन । घरमा ज्याकेट खोलिन्, ज्याकेटभित्र रहेको सेता धुलो निकालिन् । सुरुमा उनलाई उक्त सेतो धुलो के हो भन्ने जानकारीसमेत भएन । उनले परीक्षण गर्ने योजना बनाइन् । यसका लागि उनले सुरज गुरुङको सहयोग लिइन् । पोखरा गएर उनले मुकुन्द खड्कामार्फत सेतो धुलोको परीक्षण गराए । सो धुलो महँगोमा बिक्री हुने कोकिन रहेको अञ्जुलाई जानकारी गराए । त्यसपछि अञ्जुले रातारात धनी बन्ने सपना देख्न थालिन् ।

कोकिन परीक्षणका लागि अञ्जुले छोरी रायलमार्फत नयाँ पुस्तासम्म पुर्‍याउने योजना बनाइन् । छोरीलाई प्रयोग गरेर केही परिमाणको कोकिन बेचिन् पनि । आम्दानी मनग्य हुने देखिएपछि उनले कारोबारका लागि अन्य सदस्य खोजिन् । त्यसका लागि उनले मुना तामाङ र रक्की आलेमगरलाई समूहमा राखिन् । यसमा सुरज पनि मिसिए । रक्कीले भारत गोवाका सन्दीप पटेलमार्फत मच्छिन्द्र धमला, मिराज ढकाल, सुदन शाक्यको समूह बनाए । सुरजमार्फत मुकुन्द खड्का, मन गुरुङ, रेशमबहादुर राना र एकराज गुरुङ अर्को टिम बन्यो । सोही समूहमार्फत अञ्जुले कोकिन बिक्री गर्दै आइन् । छोरी रायलमार्फत पनि नयाँ समूह बन्यो । यो समूहमा संलग्न सदस्य भने प्रहरीले पक्राउ गर्न सकेको छैन । ‘छोरीमार्फत बनेको समूहका सदस्य पहिचान खुलेको छ, तर पक्राउ गर्न सकिएको छैन । खोजीक्रम तीव्र पारिएको छ,’ एसएसपी थापाले भने ।

प्रहरी जवान पनि र्‍याकेडको सदस्य 
नेपाल प्रहरीका जवान हुन्– गोरखा आरुघाट– ६ का एकराज गुरुङ । उनको चिनजान थियो काठमाडौं रानीबारीका सुरोज गुरुङसँग । अञ्जुले सुरोजमार्फत प्रहरी जवान एकराजलाई पनि र्‍याकेडमा सामेल गरिन् । प्रहरीबाट बच्न सूचना संकलन गर्ने काम उनले एकराजमार्फत नै गर्थिन् । र्‍याकेडमा प्रहरी नै संलग्न भएपछि कारोबार गर्न अञ्जुलाई सजिलो पनि भएको थियो । मनग्य रकम आउने भएपछि एकराज पनि खुसी थिए । उनैमार्फत पकनाजोलस्थित होटेलमा गत ७ साउनमा कोकिनको कारोबार हुँदै थियो । प्रहरीले छापा मार्‍यो । घटनास्थलबाटै एकराज पनि पक्राउ परे ।