मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवराज मैनाली दार्चुला
२०७८ श्रावण १९ मंगलबार १०:१७:००
Read Time : > 11 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सीमामा निरन्तर ज्यादती : छलफल गर्ने संयन्त्र तीन वर्षदेखि निष्क्रिय

Read Time : > 11 मिनेट
२०७८ श्रावण १९ मंगलबार १०:१७:००

सीमा सुरक्षालगायतका विषयमा भारतसँग छलफल गर्ने गृह मन्त्रालयका सचिव र सहसचिवस्तरका छुट्टाछुट्टै संयन्त्रको तीन वर्षदेखि बैठकसमेत बसेन

नियमित बैठक बसेको भए दार्चुलाको घटना नहुन पनि सक्थ्यो  : गोविन्द कुसुम, पूर्वगृहसचिव

गृहसचिवस्तरीय दुई देशको संयन्त्रको बैठक नबसेको धेरै वर्ष भयो जस्तो लाग्छ । यसले दुई देशबीच समस्या बढ्न सक्छ । नियमित बैठक बस्ने गरेको भए अहिले दार्चुलामा भएकोजस्तो गम्भीर घटना नहुन पनि सक्थ्यो । खुला सीमा भएकाले धेरै किसिमका समस्या र आपराधिक गतिविधि बढेका हुन सक्छन् । बैठक बसेर समस्याको गाँठो फुकाउनुपर्छ, संवाद नै भएन भने झन् समस्या बढ्दै जान्छ ।
 

सीमा क्षेत्रमा हुने समस्याका विषयमा भारतसँग छलफल गर्न गृह मन्त्रालयमातहत दुईवटा संयन्त्र छन् । तर, भारतीय ज्यादती बढ्दै गइरहँदा दुवै संयन्त्र भने वर्षौँदेखि निष्क्रिय छन् । तीन वर्षदेखि दुई देशका संयन्त्रको बैठकसमेत बस्न सकेको छैन । 

सीमापार सुरक्षालगायतका विषयमा नियमित छलफल गर्न गृहसचिवस्तरीय संयन्त्र छ । त्यस्तै, दुवै देशका गृहका सहसचिवस्तरको अर्को संयन्त्र पनि छ । तर, दुवै संयन्त्रको बैठक बस्न नसकेको मन्त्रालयले जनाएको छ । त्यसअघिसम्म सचिवस्तरीय संयन्त्रको बैठक प्रत्येक वर्ष बस्ने गरेको थियो ।

‘सचिवस्तरीय बैठकमा भारतले नै चासो दिएको छैन,’ मन्त्रालयका एक अधिकारीले भने, ‘कोरोनाको समयमा पनि भर्चुअल रूपमा भए पनि बैठक बस्नुपर्छ भन्ने हाम्रो जोड थियो, तर उताबाट चासो देखाइएन ।’ यसमा परराष्ट्र मन्त्रालयले पनि सक्रियता नदेखाएको गृहका अधिकारीहरू बताउँछन् । 

पछिल्लोपटक सचिवस्तरीय संयन्त्रको बैठक नेपालमा भएको थियो । उच्च सुरक्षा अधिकारीसमेत सहभागी रहने यस्तो बैठकमा सिमानाका समस्याबारे विस्तृत छलफल गरी समाधानका लागि पहल हुने गरेको थियो । 

त्यस्तै, नापी विभागका महानिर्देशकको नेतृत्वमा रहने ‘ब्राउन्ड्री वर्किङ ग्रुप’ र विभागका उपमहानिर्देशकको नेतृत्वमा हुने ‘बोर्डर वर्किङ ग्रुप’को बैठक पनि करिब दुई वर्षदेखि बस्न सकेको छ । यी संयन्त्रले खाससरी सीमा विवाद र पिलर मर्मतसम्बन्धी काम गर्दै आएको छ । 

‘दुई देशबीच रहेका संयन्त्रका बैठक नियमित बसेको भए राम्रो हुने थियो,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ‘तर, बैठक बस्न सकेको छैन ।’ पूर्वगृहसचिव गोविन्द कुसुमले दुई देशबीचका संयन्त्रका बैठक नियमित नबस्दा असमझदारी विकास हुने बताए । ‘गृहसचिवस्तरीय बैठक विगतमा हरेक वर्ष पालैपालो नेपाल र भारतमा बस्ने गरेको थियो,’ उनले भने, ‘बैठक नबसेको धेरै वर्ष भयो जस्तो लाग्छ । यसले दुई देशबीच समस्या बढ्न सक्छ ।’ 

नियमित बैठक बस्ने गरेको भए अहिले दार्चुलामा भएकोजस्तो गम्भीर घटना नहुन सक्ने कुसुमको भनाइ छ । ‘खुला सीमा भएकाले धेरै किसिमका समस्या आउन सक्छन्, विविध किसिमका अपराध बढेका हुन सक्छन्,’ उनले भने, ‘बैठक बसेर समस्याको गाँठो फुकाउनुपर्छ, संवाद नै भएन भने झन् समस्या बढ्दै जान्छ ।’ 

नेपालमा प्रमुख जिल्ला अधिकारी र भारतका डिस्ट्रिक मेजिस्ट्रेडबीच हुनुपर्ने नियमित बैठकसमेत हुन नसकेको पूर्वसचिव कुसुमले बताए । नेपाल–भारतबीच करिब एक हजार आठ सय ५० किलोमिटर लामो खुला सीमा छ । जसका कारण दुवै देशले विभिन्न किसिमका समस्या झेल्दै आएका छन् । तर, समाधान गर्ने संयन्त्र निष्क्रिय हुँदा समस्या झन् बढ्ने गृह मन्त्रालयका अधिकारीहरूको चिन्ता छ । 

गृह मन्त्रालयको सीमा शाखामा अभिलेखसमेत छैन 
सीमासम्बन्धी विषयमा समन्वय, नियमन र निर्देशन गर्न गृह मन्त्रालयमा सीमा तथा अध्यागमन प्रशासन शाखा छ । तर, त्यहाँ सीमासम्बन्धी अभिलेखसमेत छैन ।गृह मन्त्रालयको यो शाखा हेर्दा पनि सीमासम्बन्धी विषयमा सरकार कति असंवेदनशील छ भन्ने प्रस्ट हुन्छ । उपसचिवको नेतृत्व रहने शाखामा दुई अधिकृत र दुई नायबसुब्बाको दरबन्दी छ । सीमाका समस्याबारे विस्तृत जानकारी भएका कर्मचारीसमेत शाखामा नभएको गृह मन्त्रालय स्रोत बताउँछ । 

मन्त्रालयका प्रवक्ता पोखरेलले पनि सीमा शाखा सशक्त हुन नसकेको बताए । ‘अहिले त सीमा शाखाले समन्वय गर्ने काम मात्र गर्दै आएको छ,’ उनले भने, ‘अब व्यवस्थित रूपमा अभिलेख राख्नेलगायतका जिम्मेवारी दिएर शाखालाई सशक्त बनाउँछौँ ।’ 

पूर्वगृहसचिव कुसुमले सीमा शाखामा दुई देशका सिमानामा भएका घटनाको विवरणसमेत नहुनु नेपालको कमजोरी प्रस्ट हुने बताए । ‘शाखामा कञ्चनपुर र सुस्ता क्षेत्रमा कहिले के भयो, छलफलमा के–के कुरा आएजस्ता विवरणसमेत राखिँदैन,’ उनले भने, ‘यस्तो भएपछि हामी द्विपक्षीय वार्तामा समेत कसरी बलियो साथ प्रस्तुत हुन सक्छौँ ?’ यो शाखाले सिडिओ र सीमावर्ती भारतका डिएमबीच हुने हरेक वार्ताको विवरण राख्ने र नियमित नियमनसमेत गर्नुपर्ने उनको भनाइ छ । 

दार्चुला घटनाको चार दिन : घटनास्थल पुगेर पनि प्रहरीले उठाएन मुचुल्का

संसदमा गृहमन्त्री बालकृष्ण खाणले भने– अहिले नै सरकारको धारणा सार्वजनिक गर्दा छानबिन प्रभावित हुन्छ

सुरक्षा निकायले बेपत्ता जयसिंह धामीको खोजी कार्य गरिरहेको छ । भारतीय सुरक्षाकर्मीलाई पनि आग्रह गरिएको छ । नागरिकले आफ्ना विचार राख्न पाउँछन् । जनप्रतिनिधिले पनि आफ्ना विचार, सूचना, धारणा प्रस्तुत गर्ने र त्यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ, लिन्छौँ । तर, हामी आफैँले छानबिन समिति बनाइरहेको अवस्थामा त्यसलाई प्रभाव पार्ने गरी राय दिन मिल्दैन । छानबिनबाट घटनाको सत्यतथ्य प्रतिवेदन आइसकेपछि त्यसमा उल्लेख भएका जुनसुकै अडान लिन पनि तयार छौँ । 

गृह मन्त्रालयको छानबिन टोली कञ्चनपुर पुग्यो, आज दार्चुला जाँदै

गृह मन्त्रालयले गठन गरेको छानबिन टोली सोमबार साँझ बल्ल कञ्चनपुर पुगेको छ, मंगलबार दार्चुला जानेछ । घटनाको तीन दिनपछि आइतबार गृहले सहसचिव जनार्दन गौतमको नेतृत्वमा समिति गठन गरेको थियो । समितिमा दुवै प्रहरी, अनुसन्धान विभाग र जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रतिनिधि सदस्य छन् । प्रतिवेदन तयार गर्न समितिलाई १० दिनको समयावधि दिइएको छ । समिति घटनास्थल पुग्ने/नपुग्ने अझै अन्योल छ । 

जिल्ला छाडेर काठमाडौं हिँडे दार्चुलाका सिडिओ जोशी

दार्चुला घट्नाको अनुसन्धान गर्न गृह मन्त्रालयले छानबिन समिति पठाएको वेला दार्चुलाका सिडिओ सिद्धराज जोशी भने जिल्ला छोडेर हिँडेका छन् । शुक्रबार घटना हुँदा पनि उनी जिल्लामा थिएनन् । बैतडीको पाटन पुगेका उनी शनिबार दार्चुला फर्किएका थिए । दुई दिन जिल्ला बसेर सोमबार फेरि काठमाडौंका लागि हिँडेका छन् । सहायक सिडिओ ज्योत्सना भट्ट जोशीका अनुसार सिडिओ जोशी परीक्षाका लागि काठमाडौं गएका हुन् । 

एसएसबीले तुइनको डोरी काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामी (इन्सेटमा) । तुइनको फाइल तस्बिर

तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डोरी फुकालेपछि व्याँस गाउँपालिका– २ मालगाउँका जयसिंह धामी बेपत्ता भएको चार दिन बित्दासमेत प्रहरीले घटनास्थलको मुचुल्का उठाएको छैन । जब कि अनुसन्धान गर्न सदरमुकाम खलंगाबाट घटनास्थल पुगेको सुरक्षाकर्मीको टोली बयानका लागि प्रत्यक्षदर्शी तीनजनालाई लिएर सोमबार सदरमुकाम फर्किएको छ । 

गत शुक्रबार सदरमुकाम आउने क्रममा तुइन तर्दै गर्दा एसएसबीले डोरी खोलिदिएपछि जयसिंह बेपत्ता भएका थिए । सदरमुकामबाट काठमाडौं जाने उनको योजना थियो । परिवारका सदस्यले मृत्यु भएको आशंकामा शनिबार साँझ कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् । 

प्रहरी घटनास्थल पुगेर पनि मुचुल्का नउठाएपछि पीडित परिवार र स्थानीयले गम्भीर घटनामा राज्य संवेदनशील नभएको गुनासो गरेका छन् । ‘प्रहरी त्यहीँ पुगेर पनि घटनास्थलको मुचुल्का उठाएको छैन,’ बेपत्ता जयसिंहका भाइ नरेन्द्रसिंह धामीले भने, ‘यस्तो घटना भएको हो भनेरसमेत प्रहरीले अहिलेसम्म मुचुल्का बनाएको छैन ।’ 

स्थानीयदेखि प्रत्यक्षदर्शीसम्मलाई गाउँमै पुगेर भेटे पनि प्रहरीले फेरि प्रत्यक्षदर्शीलाई सदरमुकाम ल्याएकोमा पनि उनीहरूले आपत्ति जनाएका छन् । ‘छानबिन टोली फिल्डमा गएर अनुसन्धान गर्नुको साटो पीडित परिवार र प्रत्यक्षदर्शीलाई सदरमुकाम बोलाएर मानसिक दबाबमा राख्ने राज्यको नियति देखियो,’ नरेन्द्रले भने । 

स्थानीय हरकसिंह कार्कीले प्रहरीले साक्षी सर्जिमिन र हस्ताक्षर केही नगराएको बताएका छन् । ‘हामीसँगै प्रहरी पनि महाकाली किनार पुगेका हुन्, तर मुचुल्का उठाइएको छैन । घटनास्थलमा साक्षी सर्जिमिन र हामीहरूको हस्ताक्षर केही गराएन,’ सोमबार सदरमुकाम पुगेका उनले भने । 

प्रहरीले भने शव नभेटिएसम्म मुचुल्का आवश्यक नपर्ने बताएको छ । ‘शव नभेटिएसम्म घटनास्थलको मुचुल्का आवश्यक पर्दैन । हामीलाई घटनास्थल थाहा छँदै छ । भारतपट्टि टुडीको रूख र वारि खाँबो खाडेर तुइनको तार लगाइएको देखिन्छ,’ घटनास्थल पुगेर फर्किएका जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नरेन्द्रबहादुर चन्द भने, ‘घटनास्थलको मुचुल्का जहिले बनाए पनि फरक पर्दैन ।’ 

बयानका लागि प्रत्यक्षदर्शीलाई सदरमुकाम ल्याइयो, प्रत्यक्षदर्शी भन्छन्– कहाँ फसेजस्तो भयो

बयानका लागि सोमबार सदरमुकाम ल्याइएका प्रत्यक्षदर्शी तुइनचालक कल्यान धामी तथा स्थानीय विक्रम रंकोली र अमिता धामी

गत शुक्रबार जयसिंह महाकालीमा तुइन तर्ने क्रममा एसएसबीले डोरी फुकालेको देख्ने प्रत्यक्षदर्शीहरूलाई प्रहरीले जिल्ला सदरमुकाम खलंगा झिकाएको छ । तुइन सञ्चालक कल्यानसिंह धामी तथा जयसिंहपछि तुइन तर्ने पालो पर्खिएका विक्रम रंकोली र अमिता धामीलाई प्रहरीले बयानका लागि झिकाएको हो ।

सदरमुकामबाट सशस्त्र प्रहरीका डिएसपी वीरसिंह धामी र नेपाल प्रहरीका इन्स्पेक्टर नरेन्द्रबहादुर चन्दलगायतको अनुसन्धान टोली शनिबार घटनास्थल गएको थियो । टोली सोमबार प्रत्यक्षदर्शी तीनजनालाई नै ल्याएर फर्किएको हो । दिउँसो साढे तीन बजे उनीहरूलाई दार्चुला पुलघाटबाट प्रहरीकै गाडीमा राखेर सीधै जिल्ला प्रहरी कार्यालय पुर्‍याइएको थियो । पत्रकार, अधिकारकर्मी, व्याँसका जनप्रतिनिधि, पीडितका आफन्तलगायतले प्रत्यक्षदर्शीहरूलाई भेट्न कोसिस गरे पनि प्रहरीले आनाकानी गरेका थिए । तर, सबैको दबाबपछि प्रश्न सोध्न नपाइने सर्तमा प्रत्यक्षदर्शीसँग भेट्न दिएको थियो । 

अनुसन्धानका लागि सुरक्षा अधिकारी घटनास्थल पठाउने, तर प्रत्यक्षदर्शीलाई सदरमुकाम झिकाएर आफन्तलाई समेत भेट्न नदिएर त्रास फैलाउन खोजेको भन्दै अधिकारकर्मी र पीडित परिवारले आपत्ति जनाएका छन् । बेपत्ता जयसिंहका भाइ नरेन्द्रसिंह धामीले भने, ‘भेट्न दिइरहेका थिएनन् । सबैले दबाब दिएपछि मात्रै भेट्न दिइयो ।’ व्याँस गाउँपालिका– ३ का वडाध्यक्ष उपेन्द्रसिंह धामीले पनि प्रत्यक्षदर्शी निकै डराएको बताए । ‘सबैतिरबाट फोन आउन थालेपछि उनीहरू मानसिक तनावमा छन्,’ उनले भने । 

दार्चुलाका डिएसपी मनोहरप्रसाद भट्टले काठमाडौंबाट आउने उच्चस्तरीय छानबिन टोलीले प्रत्यक्षदर्शीहरूसँग सोधपुछ गर्ने बताएको छ । ०५९ सालदेखि महाकालीमा तुइन सञ्चालन गरिरहेका कल्याणसिंह धामीको मन बेचैन छ । ‘यत्तिका वर्षसम्म तुइनमार्फत मान्छे तराएँ, अहिलेको जस्तो अवस्था कहिल्यै खेप्नुपरेन,’ सोमबार जिल्ला प्रहरी कार्यालयमा उनी भन्दै थिए, ‘फोन आएको आयै छ, कतिले के सोध्छन्, कतिले के सोध्छन् । मन होसमा छैन, जिउ भारी हुँदै गएको छ । जिन्दगीमा अब यो तुइनको काम गर्दिनँ ।’ कल्याणले दबाब महसुस गरिरहँदा उनको दायाँपट्टि रहेका विक्रम रंकोली र बायाँछेउ बसेकी अनिता धामी बोल्न सकिरहेका थिएनन् । उनीहरूका आफन्त ‘घटनाको यथार्थ जे हो, त्यही बोल्नुहोला’ भन्दै ढाडस दिइरहेका थिए ।

सीमामा एसएसबीका अनगन्ती ज्यादती

भारतीय सुरक्षाकर्मीले गरेका ज्यादतीका घटनाहरू

कञ्चनपुर

 २३ फागुन २०७३ : बेलौरी नगरपालिका– १०, भुडाका स्थानीय मजदुर कृष्ण रानालाई कुटपिट । 

२६ फागुन २०७३ :गोली प्रहार गरी पुनर्वास नगरपालिका– ४, का गोविन्द गौतमको हत्या । 

१० चैत २०७३ : भीमदत्त नगरपालिका– ९, ब्रह्मदेवका स्थानीय प्रेमसिंह नायक, केशवसिंह नायक, वीरसिंह ठगुन्ना, ठगुन्नाकी धर्मपत्नी कलापति ठगुन्ना र उनका छोरा हिक्मतसिंह ठगुन्नालाई कुटपिट । 

वैशाख २०७५ : पुनर्वास नगरपालिका– ९, बीचफाँटामा लगाएको तारबार उखेलिदिएको । नेपालको प्यारातालमा नेपाल पक्षबाट ठेक्का दिँदासमेत भारतीय वन विभागले एसएसबीको आडमा आधा माछा लिने गरेको । 

जेठ २०७५ पहिलो साता  : बेलौरी नगरपालिका– १०, भुडाका स्थानीय किसान खेमराज पन्तलाई खेती लगाउनबाट रोकेको । 

९ असार २०७५ : हतियारसहित आएका एसएसबीले पुनर्वास नगरपालिका– ८, पचुईमा हुलाकी सडक निर्माणमा अवरोध । त्यसयता चारपटक आएर हुलाकी सडकको काम अगाडि नबढाउन धम्की ।

चैत २०७६ : भीमदत्त नगरपालिका– ९, ब्रह्मदेवमा मुक्तहलियाका चार परिवारको घर निर्माण गर्दा अवरोध गरेको । 

असार २०७७ : ब्रह्मदेवमै सिद्धनाथ सामुदायिक वनले आफ्नै क्षेत्रमा वृक्षरोपण गर्दासमेत अवरोध गरेको । एसएसबीका अवरोधका बीच सामुदायिक वनले वृक्षरोपण गरेको थियो । २०७६ मै त्यहाँ नेपालतर्फको सडक र जेठ ०७८ मा कल्भर्ट निर्माणमा अवरोध गरेको ।

साउन २०७७ : हतियारसहित फिल्म शैलीमा आएर हुलाकी सडक अवरोध गरेको । बेलौरी नगरपालिका– १, फटैयाका स्थानीय मानबहादुर सुनार र कर्ण सुनारलाई लालपुर्जा भएको जमिन दुई दशकदेखि उपभोग गर्न नदिएको ।

२०७७ : बेलौरी– १०, मा सडकघाट क्षेत्रमा किसानलाई खेती भित्र्याउन अवरोध गरेको । 

कैलाली

चैत २०७३ : भारतको जंगलमा भैँसी चराएको निहुँमा कैलारी गाउँपालिका– ७, का तुलाराम चौधरीलाई पक्राउ गरी ५० हजार भारु जरिवाना तिराएर छोडेको ।
कार्तिक–मंसिर २०७४ मा दशगजामा विवाद हुँदा भजनी नगरपालिका– ३, मा स्थानीयको करिब १० बिघा जमिनमा ट्र्याक्टरद्वारा खनजोत गरेको । 

२०७५ माघ : धनगढीसँगै जोडिएको कञ्चनपुरको पुनर्वास– ११, डोकेबजारस्थित दशगजानजिक अन्तर्राष्ट्रिय मान्यताविपरीत नेपालसँग समन्वय नगरी भारतको वन विभागले एसएसबी खटाएर ट्रेन्च निर्माण गरेको ।

२०७७ माघ : कैलारी गाउँपालिकाको सीमावर्ती बस्ती शिवरत्नपुरमा तारबार गर्न सिमेन्टका पोल लिएर गएको ट्र्याक्टर नेपालको सिमानास्थित मोहना नदीबाट नियन्त्रणमा लिएको । जनप्रतिनिधि र सुरक्षा निकायको समन्वयपछि छोडेको ।

- मोहना नदीमा माछा मार्न गएका कैलारी– ३, का हिरामणि चौधरी, जालुराम चौधरी, जंगबहादुर चौधरीसहित पाँचजनालाई नियन्त्रणमा लिएको । करिब १०–११ वर्षअघिको यो घटनामा उनीहरूलाई जनही आठ–आठ हजार भारु तिराएर छोडेको ।

दाङ

११ साउन : २०७१ भारतसँग सिमाना जोडिएको राजपुर गाउँपालिका वडा नम्बर– ७ स्थित भैसाही नाकामा भारतीय एसएसबीका जवानहरूबाट चौकीमै आएर नेपाली प्रहरीमाथि कुटपिट । कुटपिटबाट तत्कालीन प्रहरी हवल्दार हरिबहादुर बुढाथोकी र एक प्रहरी जवान घाइते । 

चितवन

माडी चितवनमा रहेको सोमेश्वर गढीमा हरेक चैतेदसैँमा लाग्ने मेलामा भारतीय फोर्स हतियारसहित नेपाल प्रवेश गर्ने गरेका छन् । त्यस समय नेपालीलाई फोटो खिच्नसमेत रोक लगाएको । 

पर्सा

- भारतीय सुरक्षा फौजको अवरोधले निर्माण भएको दुई वर्षसम्म सञ्चालन गर्न नसकिएको पर्सा ठोरीको ठुटेखोलाको पुल सञ्चालनमा १५ जेठ २०७७ मा भारतीयले अवरोध गर्दा विवाद ।

- त्यसको अघिल्लो दिन जनप्रतिनिधिको पहलमा सञ्चालन गरिएकोमा भारतबाट हतियारसहित बर्दीमा नेपाली भूमिमा छिरेका भारतीय सुरक्षाकर्मीले पुल सञ्चालनमा अवरोध ।

- २०६८ मै उक्त पुल बनाउन एसएसबीले अवरोध सिर्जना गरेको थियो । नेपाल भारतको संयुक्त सीमा सर्भे टोलीले २०७२ मा सर्वेक्षण गरी सीमास्तम्भ राखेपछि पुल निर्माणको काम सुरु भएको थियो । 

- १२ साउन २०७२ : नेपाली भूमिबाट बगेको कुलो भारतीयले जबर्जस्ती भत्काइदिएपछि पर्साको ठोरीमा नेपाली र भारतीयबीच झडप हुँदा नेपाल प्रहरीका जवानसहित चारजना नेपाली गम्भीर घाइते । 

- असार २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले रामको जन्मभूमि पर्सास्थित ठोरी रहेको अभिव्यक्ति दिएपछि नेपाल र भारत सीमा छुट्याउन सीता गुफा रहेको सुमेरु पहाडमा गाडिएको ४३६ नम्बरको पिलर उखेलेर भारतीय भूभागमा फालिएको अवस्थामा भेटिएको ।
ठोरी गाउँपालिका– २ मा पर्ने सीतागुफा रहेको पहाडको शिरमा भेटिएको थियो ।

सिराहा

- नेपालतर्फको दसगजा मिचेर भन्सार चेकपोस्ट सञ्चालन गर्दै आएको भारतीय पक्षले माघ दोस्रो हप्ता २०७६ मा भगवानपुर गाउँपालिका– ४ मा सशस्त्रको ड्युटी पोस्टसमेत बनाउन नदिएपछि स्थानीय बासिन्दाबाट सीमाक्षेत्रमा नाराबाजी ।

- त्यसलगत्तै नेपाल–भारत सीमा सर्वेक्षण टोली नम्बर २ जलेश्वरका नेपाली सर्वेक्षक उमेशकुमार र भारतीय सर्वेक्षक मञ्जुल अमगार्इंले स्थलगत अनुगमन गरेपछि २१ माघ गतेदेखि पोस्ट निर्माण सुचारु ।

- फागुन पहिलो हप्ता २०७५ मा भारतीय पक्षले जबर्जस्ती स्वागतद्वार बनाउन जेसिभी प्रयोग गरी निर्माण कार्य थालेपछि ठाढीका बासिन्दाबाट ढुंगामुढा, यद्यपि त्यसको करिब महिना दिनपछि भारतीय पक्षबाट पुनः निर्माण ।

- कोरोना महामारी सुरु भएसँगै नाका बन्द भएपछि सीमाक्षेत्रमा जबर्जस्ती गर्न खोज्ने भारतीयहरूसँग पटक–पटक झडप, लकडाउनमा लुकीछिपी नेपाल प्रवेश रोक्न खोज्दा १ वैशाख २०७७ मा सिराहा नगरपालिका १९ सोहर्वा र १२ वैशाखमा सिराहा नगरपालिका १७ माडर नाकामा सशस्त्र प्रहरीसँग झडप । 

- १ वैशाख २०७७ मा सिराहा नगरपालिका १९ सोहर्वामा दूध लिएर नेपालतर्फ प्रवेश गर्न खोजेका एक भारतीयलाई सशस्त्र प्रहरीले रोकेपछि सीमापारिबाट आएको करिब २०–२५ जनाको समूहसँग झडप । 

- १२ वैशाखमा भारततिरबाट गहुँ झार्ने थ्रेसर जडान गरिएको ट्र्याक्टर लिएर माडर नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकलाई फर्काउन खोज्दा सशस्त्र प्रहरी बल आउटपोस्ट माडरमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षकको टाउकोमा ढुंगा लाग्दा घाइते । 

सुनसरी

 ९ मंसिर २०७२ सुनसरीको कोसी गाउँपालिका हरिपुर गाउँमा नेपाल–भारत दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागेर चारजना नेपाली अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते । नेपाली भूमिमा प्रवेश गरेर गोली चलाएको सुपौल वीरपुरस्थित तत्कालीन एसएसबी ४५ बिग्रेडका कमान्डरले स्वीकार गरेका थिए । यस घटनामा नेपाल सरकारले भारतसँग कारण माग्यो, तर कुनै जवाफ भारतले नेपाललाई दिएन । उनीहरूले कुनै क्षतिपूर्ति, उपचार खर्च पनि पाएनन् । 

- नेपाली भूभागमा प्रवेश गरी गोली प्रहार गर्ने तत्कालीन सुपौल जिल्लाको शैलेशपुर प्रहरी बिटका विकान्त सारावतसहित ६ जनाको समूहविरुद्ध कारबाहीको माग राखेर सुनसरी प्रशासनमा किटानी जाहेरी दिए पनि गोली प्रहार गर्नेहरूविरुद्ध कुनै कानुनी कारबाही भएन । 

- सुनसरीको भन्टाबारीआसपासका क्षेत्रमा बसोवास गर्दै आएका नेपालीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गाउँ छाड्न धम्की दिँदै आएको छ । सुनसरीको कोसी गाउँपालिकास्थित हरिपुर, श्रीपुर सीमाक्षेत्रका गाउँमा बस्दै आएका नेपालीलाई भारतीय सुरक्षाकर्मीले सीमास्तम्भ सारेर भारतीय भूमिमा बसोवास गरेको भन्दै नेपालीलाई वास उठाउने धम्की दिने क्रम निरन्तर छ । 

मोरङ
- २२ असार २०७२ मोरङको विराटनगरसँग सिमाना जोडिएको भारतीय जोगबनी बजारबाट साइकलमा खाना पकाउने ग्यास लिएर आउँदै गरेका विराटनगर– २२ का ४५ वर्षका युसुुफ मियाँलाई पैसा माग्दा नदिएपछि एसएसबीका जवानले कुटपिट गरेका थिए ।

- २०७४ मोरङको जहदा गाउँपालिका– १ स्थित भुटाहामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमि मिचेर दुई सय मिटर लामो बाटो बनाएको थियो । अनि दशगजामा बस्ती पनि बसाएको थियो । तर, स्थानीयले नेपाली भूमिमा जबर्जस्ती बाटो बनाएको भनेर सशक्त प्रतिवाद गरेपछि एसएसबी पछि हटेको थियो । 

- साउन २०७८  विराटनगर महानगरपालिका– १७ इस्लामपुरमा भारतीय बजार जोगबनीबाट बगेर आएको पानी निकास गर्नका लागि स्थानीयलाई आफ्नै नेपाली भूमिमा नाला निर्माण गर्न एसएबीद्वारा रोक । वर्षाको समयमा भारतीय बजार जोगबनीबाट नेपालतर्फ दशगजामा नाला निर्माण गरेर भारतले पठाएको पानीको डुबानबाट जोगिन विराटनगर महानगरपालिकाले इस्लामपुर बस्तीमा नाला निर्माण थालेको थियो । 

- मोरङको शनिश्चरेमा भारतीय सीमावर्ती सिक्टी थानाका प्रहरी आएर एक नेपालीलाई पेस्तोल देखाएर मोटरसाइकलमा राखी अपहरणको प्रयास स्थानीयको प्रतिकारमा विफल ।

- सात वर्षअगाडि मोरङको रंगेली क्षेत्रमा भारतीय प्रहरीहरूले नेपालभित्र आएर कुटपिट ।

- १ जेठ २०६७ साँझ ९ बजे भारत अररिया जिल्ला कुवाडी थानाअन्तर्गत पर्ने गरैया गाउँस्थित लैलोखर बेस क्याम्पबाट सादा पोसाकमा हतियारसहित साँझ नेपाल छिरेका एसएबीका इन्स्पेक्टर हितेन्द्र सिंह र अर्का एकजना जवान नेपाल छिरे । उनीहरूले  मोरङको अमाहिवरियाती चौकीका हवल्दार शम्भु चौधरीसँग झगडा गर्दै उनको हत्या गर्ने प्रयास गरे । 

- झगडा छुट्याउन पुगेका दशगजा क्षेत्रमा बस्दै आएका धनपालथान गाउँपालिका– २ का ५५ वर्षीय वासुदेव साहमाथि भारतीय सुरक्षाकर्मीले रिस पोख्दै गोली हाने । स्थानीय समाजसेवीका रूपमा पनि चिनिएका सामान्य जनमन गरी आफ्नो परिवार पाल्दै आएका साह एसएसबीको गोलीबाट घटनास्थलमै मारिएका थिए ।

झापा

- झापाको पाठामारीमा नेपाली भूमिमा बस्दै आएका नेपालीलाई सात वर्षअघि एसएसबीले वासस्थान छाडेर जान २४ घन्टे धम्की दिएको । पछि नेपालले त्यो स्थानमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल राखेपछि अवस्थामा सुधार । 

- २०७२ मा भारतले अघोषित रूपमा नेपालमा नाकाबन्दी लगाएको समयमा नाकामा पुगेका झापाको भद्रपुरस्थित पृथ्वीनगरका स्थानीयलाई पेट्रोल तथा मट्टीतेल तस्करी गरेको आरोपमा एसएसबीले नेपाल प्रवेश गरेर सास्ती दियो । स्थानीयलाई पछ्याउँदै आएको एसएसबीले घर–घरमा गएर दुव्र्यवहार गरेपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भारतलाई बुझाएको थियो । 

इलाम

- नेपाली जमिन मिचेर सूर्योदय नगरपालिका– २ पशुपतिनगरमा भारतले पाँच वर्षअघि दशगजा मिचेर गुम्बा निर्माण, तर नेपाली जमिनभित्रै सन्दकपुर र माई–जोगमाई गाउँपालिकाको तुम्लिङमा भ्युटावर बनाउन खोज्दा भारतले भ्युटावर बनाउन दिएन । 

- इलामको सन्दकपुर गाउँपालिका– ५ कैयाकट्टामा दशगजाभन्दा ४५ मिटरभित्र स्थानीय यादिकी शेर्पालाई घर बनाउनसमेत भारतीय सीमासुरक्षा बलले रोक्यो । त्यसबारेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि एसएसबी पछि हट्यो । 

- इलामको पूर्वी सिमानामा २० रोपनीभन्दा बढी नेपाली भूभाग भारतले हडपेको अनुमान ।