१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १५ शुक्रबार २१:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हेलमेट नलगाई मोटरसाइकलमा सवार पूर्वयुवराज पारसको ट्राफिकसँग लफडा (भिडियो)  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १५ शुक्रबार २१:५५:००

ट्राफिक नियम उल्लंघन गरेर मोटरसाइकल चलाएका पूर्वयुवराज पारस शाहले ड्युटीमा खटिएका ट्राफिक प्रहरीसँग भनाभन र तानातान गरेका छन् । ट्राफिक प्रहरीले हेलमेट नलगाई हिँडेका शाहलाई रोकेपछि उनी प्रतिवादमा उत्रेका थिए । तनाव बढ्दै गएर नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले शाहलाई कुनै कारबाहीविनै छाडेको छ । 

चक्रपथस्थित महाराजगन्ज चोकको ट्राफिक व्यवस्थापनमा सदाझैँ शुक्रबार साँझ पनि ट्राफिक प्रहरी व्यस्त थिए । चोकमा बलेका ट्राफिक लाइटको संकेत पछ्याउँदै ट्राफिक प्रहरी सवारीसाधनलाई आउजाउको निर्देशन दिइरहेका थिए । 

ड्युटीमा खटिएका एक प्रहरी जवानका अनुसार यही क्रममा अमेरिकी दूतावासतर्फको सडक हुँदै एउटा मोटरसाइकल बत्तिँदै चोकतर्फ आयो । उनले भने, ‘अनियन्त्रित तरिकाले चलाएको मोटरसाइकलचालकको टाउकोमा हेलमेट थिएन । चोकमा उभिएका ट्राफिक प्रहरीले सिटी फुक्दै मोटरसाइकल रोक्न निर्देशन दिए । तर, मोटरसाइकलचालकले रोकिन छाँट देखाएन ।’

ती जवानका अनुसार नियमको उल्लंघन भएको देखिएपछि ट्राफिक प्रहरी मोटरसाइकलनजिक पुग्यो । उनले घटनाबारे थप सुनाए, ‘मोटरसाइकल रोक्न भन्यौँ । नमानेपछि ट्राफिक प्रहरीले साँचो थुत्यौँ । जब मोटरसाइकलचालक जंगिएर ट्राफिक प्रहरीतर्फ जाइलागे, बल्ल पो खुल्यो, हेलमेटविना मोटरसाइकल चलाउने पूर्वयुवराज शाह भएको तथ्य ।’ 

अर्का एक प्रहरीका अनुसार घटनास्थल रमितेका कारण एकाएक अस्तव्यस्त बन्यो । केहीले पारसको पक्षमा नारबाजीसमेत लगाउन थाले । वातावरण एकाएक नियन्त्रणभन्दा बाहिर गएपछि ट्राफिक प्रहरीले घटना विवरण माथिल्लो तहमा सर्कुलेसन गर्‍यो । उनले भने, ‘सहयोगका लागि घटनास्थलमा थप प्रहरी पुग्यो । नियन्त्रणमा लिन प्रहरी पारसतर्फ अघि बढ्यो । हिरासत हिँड्न प्रहरीले पारसलाई आग्रह गर्‍यो । तर, पारसले नजाने भन्दै अड्डी कसे ।’ 

ती प्रहरीले थपे, ‘दुई पक्षबीच केहीबेर विवाद चल्यो । सजिलै हिरासत जान सक्ने अवस्था नदेखिएपछि प्रहरीले पारसको हात समात्यो । तानेर भ्यानतर्फ लैजान खोज्यो । तर, पारस हिरासत कक्ष नजाने अडानमै कायम रहे । यही क्रममा प्रहरी र पारसबीच केहीबेर तानातान मात्र होइन भनाभनसमेत चल्यो ।’

यसवेलासम्म घटनास्थल भने रमितेको भिडले भरिसकेको थियो । एकएक गर्दै घटनास्थलमा पारसमा समर्थक पनि सहभागी भए । उनीहरूले पारसको पक्षमा हुटिङ गर्न थाले । प्रहरीको विरोधमा उनीहरू उत्रिए । घटना काबुभन्दा बाहिर जाने देखिएपछि प्रहरीले पारसलाई विनाकारबाही घटनास्थलबाट बिदा गरिदियो । 

घटनाबारे एक प्रहरी अधिकृतले भने, ‘ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापनमा व्यस्त थियो । यही क्रममा एउटा हेलमेट नलाएको मान्छे देखियो । रोकेर कारबाही गर्न खोज्दा उक्त व्यक्ति पारस शाह भएको खुल्यो । तैपनि हामीले उनलाई कारबाही गरेर छाड्ने पक्षमा थियौँ ।

पक्राउ गरेर नियन्त्रणमा लिने हाम्रो कोसिस जारी रह्यो । विवाद बढ्दै गएपछि घटना विवरण माथिसम्म पुग्यो । पछि छाडिदिन भन्दै माथिबाटै आदेश आयो । अनि हामीले ससम्मान छाडिदियौँ ।’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले घटनाबारे जानकारी नआएको बताए । 

भिडियो : https://www.facebook.com/nayapatrikaofficial/videos/546173856635219