मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवराज मैनाली काठमाडाैं
२०७८ श्रावण १५ शुक्रबार ०९:१४:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सशस्त्रमा अब चिफ इन्स्पेक्टर ! 

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७८ श्रावण १५ शुक्रबार ०९:१४:००

इन्स्पेक्टरमा भर्ना भएको पाँच वर्ष अवधि भएपछि स्वतः चिफ इन्स्पेक्टरमा बढुवा हुने प्रावधान राख्ने तयारी

प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी नायब उपरीक्षक (डिएसपी) बढुवामा देखिएको जामको समस्या हल गर्न सशस्त्र प्रहरी बलमा नयाँ पद सिर्जना गर्ने प्रस्ताव अघि बढेको छ । इन्स्पेक्टर र डिएसपीको बीचमा प्रमुख प्रहरी निरीक्षक (चिफ इन्स्पेक्टर) पद थप्न सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गृह मन्त्रालयमा प्रस्ताव गरेका छन् । 

सशस्त्र प्रहरी महानिरीक्षक खनालले केही दिनअघि गृहमन्त्री बालकृष्ण खाणलाई चिफ इन्स्पेक्टर पद थप्ने प्रस्ताव गरेको र त्यसमा मन्त्री पनि सकारात्मक रहेको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए । ‘अब प्रहरी नियमावली संशोधनमार्फत नयाँ पद थप्ने सहमति भएको छ,’ ती अधिकारीले भने, ‘यसले सशस्त्रमा देखिएको जामको समस्या केही हदसम्म समाधान हुन्छ ।’ 

गृहबाट मौखिक सहमति पाएपछि सशस्त्र प्रहरी मुख्यालयले नियमावली संशोधनको गृहकार्य थालेको छ । इन्स्पेक्टरमा भर्ना भएको पाँच वर्ष अवधि भएपछि स्वतः चिफ इन्स्पेक्टरमा बढुवा हुने प्रावधान नियमावलीमा राख्न लागिएको छ । 

सशस्त्र प्रहरीमा हाल इन्स्पेक्टरबाट डिएसपीमा बढुवा हुन १६ वर्षभन्दा धेरै लाग्ने अवस्था छ । ०६२ मा इन्स्पेक्टरमा भर्ना भएका ८९ जना अझै सोही पदमा छन् । उनीहरू डिएसपी हुन अझै एक वर्ष लाग्ने अवस्था छ । ०६४ मा भर्ना भएका सातौँ ब्याचका एक सय २५ जना इन्स्पेक्टर डिएसपी हुन २० वर्ष लाग्ने अवस्था आएको छ । इन्स्पेक्टरमा भर्ना भएका डिएसपीबाटै अवकाश पाउने अवस्था बनेको छ । 

सशस्त्र प्रहरीमा हाल इन्स्पेक्टरबाट डिएसपीमा बढुवा हुन १६ वर्षभन्दा धेरै लाग्ने समस्या, ०६२ मा इन्स्पेक्टरमा भर्ना भएका ८९ जना अझै सोही पदमा, ०६४ मा भर्ना एक सय २५ इन्स्पेक्टर डिएसपी हुन २० वर्ष लाग्ने अवस्था

केही वर्षयता नै सशस्त्र प्रहरीमा यो समस्या समाधानबारे छलफल हुँदै आए पनि कुनै निर्णय हुन सकेको छैन । यसका लागि अध्ययन कार्यदलसमेत बनेको थियो । त्यसका सुझाब कार्यान्वयन भएका छैनन् । 

नेपाली सेनामा सहायक सेनानीबाट भर्ना भएका छिट्टै उपसेनानी, सहसेनानी हुँदै सेनानीमा बढुवा हुन्छन् । तर, सशस्त्र प्रहरीमा भने दुई दशक लाग्ने अवस्था सिर्जना हुन लागेको छ । ३० वर्षे जागिरमा २० वर्ष एउटै पदमा बस्नुपर्ने भएपछि कर्मचारीमा चरम निराशा छ । यसले चेन अफ कमान्डमा समेत समस्या आउने थालेको सशस्त्र प्रहरी अधिकारीहरू बताउँछन् । माथिल्लो तहमा केही दरबन्दी थपेर यो समस्या समाधान गर्ने प्रयास भए पनि सरकारबाट सहयोग नहुँदा असफल भएको उनीहरूको भनाइ छ । 

सशस्त्र द्वन्द्वको समयमा वृत्ति विकास योजना नबनाई इन्स्पेक्टरको धेरै, तर माथिल्लो तहमा कम दरबन्दी कायम गर्दा अहिले समस्या आएको हो । सशस्त्रमा ०५९ बाट इन्स्पेक्टर भर्ना सुरु भएको हो । पहिलो ब्याचका इन्स्पेक्टर दुई वर्षमै डिएसपी भएका थिए, हाल उनीहरू एसएसपी भइसकेका छन् । तर, पाँच वर्षपछि भर्ना भएका भने अहिलेसम्म इन्स्पेक्टरमै छन् । 

नेपाल प्रहरीमा पनि जवानबाट हवल्दार तथा सइबाट इन्स्पेक्टर बढुवामा देखिएको समस्या समाधान गर्न बीचमा नयाँ दरबन्दी थप्ने प्रक्रिया अघि बढाइएको छ । सशस्त्रमा भने तल्लो तहमा बढुवाको समस्या छैन । सशस्त्रमा जवानबाट सहायक हवल्दार, हवल्दार र वरिष्ठ हवल्दारको पद छ भने सइ र इन्स्पेक्टरको बीचमा वरिष्ठ सइ पद राखिएको छ । नेपाल प्रहरीमा इन्स्पेक्टरबाट डिएसपी बढुवामा भने समस्या छैन, १० वर्षमै डिएसपीमा बढुवा हुने गरेका छन् । 

४२ सय दरबन्दी थप्ने प्रस्ताव
यस वर्ष सीमानाकामा एक सय २० वटा बोर्डर आउट पोस्ट (बिओपी) थप्ने सरकारको योजना छ । त्यसका लागि सशस्त्र प्रहरी बलले करिब चार हजार दुई सय दरबन्दी थप्न प्रस्ताव गरेको छ । एक बिओपीमा ३५ जनाको दरबन्दी हुन्छ । जसअनुसार एक सय २० बिओपीका लागि चार हजार दुई सय दरबन्दी थप्न प्रस्ताव गरिएको हो । 

हाल सीमा बिओपीको संख्या दुई सय २४ पुगेको छ । गत वर्ष अन्य कार्यालयमा कार्यरत सशस्त्र प्रहरीलाई लगेर बिओपी थपिएको थियो । बिओपीको संख्या बढेपछि मापदण्डअनुसार कुनै पनि बिओपी ३५ प्रहरी छैनन् । जसकारण अब बिओपी बढाउन जनशक्ति थप नगरी सम्भव नहुने सशस्त्र प्रहरी अधिकारीहरू बताउँछन् ।