मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जीवन बस्नेत काठमाडौं
२०७८ श्रावण १४ बिहीबार ०९:१२:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुनकोसी–मरिन डाइभर्सनको ठेक्का प्रक्रिया बल्ल थालिँदै

Read Time : > 3 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७८ श्रावण १४ बिहीबार ०९:१२:००

- तराईको थप ७७ हजार हेक्टर जमिनमा सिँचाइ र ३१ मेगावाट विद्युत् उत्पादन हुने

- ३ महिनाभित्र चीनबाट टिबिएम मेसिन ल्याइने, चैतसम्ममा सुरुङ निर्माण थालिने, आयोजनाका लागि क्याम्प निर्माणलगायत व्यवस्थापनको काम सुरु

तराईमा थप ७७ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने र ३१ मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया सुरु हुने भएको छ । निर्माण कम्पनीले काम थाल्नुअघिको अहिले पूर्वतयारी सुरु गरिएको आयोजना निर्देशक सुशीलचन्द्र आचार्यले जानकारी दिए । आयोजना कार्यालयले जलविद्युत्को हेडवक्र्स, पावरहाउस, हाइड्रो मेकानिकललगायतका कामको ठेक्का प्रक्रिया सुरु गर्न लागेका हो । त्यसका लागि आवश्यक कागजात तयार गर्ने काम पूरा भइसकेको निर्देशक आचार्यले बताए । यसअघि हतार गरी पूर्वप्रधानमन्त्री केपी ओलीले २० फागुन ०७७ मै कमलामाई नगरपालिका–२, कुसुमटारमा आयोजनाको शिलान्यास गरेका थिए । 

विद्युत् उत्पादनका लागि मात्र ३१ अर्ब रुपैयाँ खर्च हुने विस्तृत आयोजना प्रतिवेदनले देखाएको छ । यसअघि ४६ अर्ब लाग्ने अनुमान गरिएको थियो । सुरुङ निर्माणको ठेक्का प्रतिस्पर्धामा ५ अर्ब रुपैयाँ घटेको र हेडवक्र्सको रिभ्यु गर्दा त्यसमा पनि लागत घटेको आयोजना निर्देशक आचार्यले जानकारी दिए । सिँचाइको काम गर्न भने अझै विस्तृत आयोजना प्रतिवेदन तयार भएको छैन । तर, अनुभवीहरूका अनुसार ३८ अर्ब रुपैयाँ लाग्न सक्नेछ । 

आयोजनाको डुबान क्षेत्रमा पर्ने सिन्धुलीतर्फको जग्गा प्राप्ति भइरहेको छ । त्यस्तै, रामेछापतर्फ जग्गाको मूल्यांकन भइरहेको छ । सिन्धुलीतर्फ करिब २१ हेक्टर जग्गा, भवन तथा रूखबिरुवालगायत प्राप्ति भइसकेको छ । रामेछापतर्फको २९ हेक्टरको मूल्यांकनको काम भइरहेको छ । 

१ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ

सुनकोसी–मरिन डाइभर्सन आयोजना निर्माणपछि तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषाका थप ७७ हजार हेक्टरमा सिँचाइ पुग्नेछ । अहिले यी जिल्लामा पहिलो चरणको बागमती सिँचाइ योजनाअन्तर्गत ४५ हजार हेक्टरमा सिँचाइ पुगिरहेको छ । सुनकोसी–मरिन डाइभर्सन आयोजना पूरा भएपछि कुल १ लाख २२ हजार हेक्टर जमिनमा भरपर्दो सिँचाइ सुविधा पुग्नेछ । आयोजना आर्थिक वर्ष ०७७/७८ मा सुरु गरी ०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

३१ मेगावाट विद्युत् उत्पादन 
आयोजनाबाट तराईमा सिँचाइ मात्र नभएर ३१ मेगावाट (जडित क्षमता) विद्युत् उत्पादन गर्ने योजना छ । यसका लागि सिन्धुलीको खुर्कोट बजारदेखि करिब २ किलोमिटर माथितिर र सुनकोसी र तामाकोसीको दोभानदेखि करिब १ सय ५० मिटर तलतिर सुनकोसी नदीमा ब्यारेज निर्माण गरिनेछ । तामाकोसी र सुनकोसीको दोभान बेनीभन्दा केही तल सुनकोसी नदीमा १ सय ५८ मिटर लामो ब्यारेज निर्माण गरिनेछ । साथै, विद्युत् उत्पादनका लागि आवश्यक इन्टेक, डिसेन्डर तथा १३ दशमलव ३ किलोमिटर टनेल निर्माण गरिनेछ । टनेलको मोटाइ र लम्बाइ ५ दशमलव ५ मिटरको व्यास रहनेछ । उत्पादन भएको विद्युत् ४२ किलोमिटर प्रसारण लाइन निर्माण गरेर सर्लाहीको नवलपुरमा निर्माणाधीन सबस्टेसनमा जोडिनेछ । 

सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनीलाई, टिबिएम मेसिनले चैतदेखि सुरुङ खन्न सुरु गर्ने  
सुनकोसीको पानी मरिनमा पथान्तरण गर्ने आयोजनाको सुरुङ खन्ने ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङलाई दिइसकिएको छ । टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिबाट सुरुङ खनिनेछ । कम्पनीले मेसिन डिजाइनको अर्डर दिइसकेको र ३ महिनाभित्रमा तयार गरी नेपाल ल्याउने तयारी छ । त्यसपछि पनि त्यसलाई निर्माणस्थलमा ल्याएर जडान गर्न समय लाग्नेछ । आयोजना निर्देशकका अनुसार सुरुङ निर्माणको काम चैत ०७८ देखि थालिने सम्भावना छ । त्यसपछिको २७ महिनामा निर्माण सक्नुपर्नेछ । कम्पनीले १० अर्ब ५ करोड ६८ लाखमा सुरुङ खन्ने ठेक्का पाएको हो । 

सुनकोसीको ६७ क्युमेक्स पानी मरिनमा पथान्तरण
सुनकोसी नदीको पानीमध्ये ६७ क्युमेक्स (६७ घनमिटर प्रतिसेकेन्ड) पथान्तरण गरिनेछ । सुनकोसी र तामाकोसीको दोभान बेनीभन्दा केही तल सुरुङ खनिनेछ र सुरुङमार्फत ल्याइएको पानीलाई मरिन खोलामा खसालिनेछ । त्यो पानीलाई मरिन खोलाको बायाँ किनारमा निर्माण हुने पावरहाउसमा जम्मा गरिनेछ । त्यसपछि २५ किलोमिटर तल गएर मरिन खोला बागमती नदीमा मिसिन्छ र तराईका जिल्लाहरूमा सिँचाइको व्यवस्था मिलाइनेछ । आयोजनाको हेडवक्र्स संरचना खुर्कोटमा रहनेछ । विद्युत्गृह रहने स्थान कमलामाई नगरपालिका–२, कुसुमटार तोकिएको छ । 

स्थानीयलाई के छ व्यवस्था ? 
आयोजना सञ्चालनमा आएपछि सुनकोसी र तामाकोसी किनारमा बसोवास गर्ने समुदायका निम्ति आयआर्जनको प्रचुर सम्भावना रहेको आयोजना व्यवस्थापन पक्षको भनाइ छ । बहुउद्देश्यीय आयोजना भएकाले त्यस क्षेत्रमा माछापालनदेखि आन्तरिक तथा बाह्य पर्यटनको उल्लेख्य वृद्धि हुनेछ । साथै, मनोरञ्जन तथा ताल–जलाशयमा पर्यटन व्यवसायसमेत फस्टाउने अपेक्षा छ ।  

यस आयोजनाले मरिन नदी नियन्त्रण तथा मरिन नदी–किनारस्थित कृषक कुलोहरूको पुनर्स्थापना गर्ने गरी गुरुयोजनासमेत तयार गरेको छ । आयोजनाको कार्यान्वयनसँगै गुरुयोजनाको समेत कार्यान्वयन हुनेछ । मरिन नदी आसपासका बासिन्दाले समेत यस आयोजनाबाट लाभ पाउने आश्वासन दिएको छ । यसैगरी, आयोजनाको हेडवक्र्स (बाँधस्थल) निर्माणपश्चात् सुनकोसी र तामाकोसीतर्फ डुबानमा पर्ने जग्गाको सुरक्षाका लागि विस्तृत इन्जिनियरिङ डिजाइन कार्य सुरु गरिएको छ । यसले डुबानमा पर्ने जग्गाको सुरक्षाका साथै हात्तीटारस्थित करिब २७ हेक्टर जग्गाको उकास गरी वर्षौँदेखि भोगचलन गरिरहेका माझी समुदायलाई नै हस्तान्तरण गरिने योजना छ । 

किन डाइभर्सन आयोजना ?
देशको तराई क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिँचाइ आयोजनाहरू नदी वहाब प्रणालीमा आधारित छन् । महाभारत र चुरे क्षेत्रबाट उत्पत्ति भएका नदीहरूबाट विकास भएका अधिकांश सिँचाइ प्रणालीमार्फत वर्षायाममा सबै संरचना विकास भएको जमिनमा सिँचाइ सुविधा पुग्ने गरेको छ । तर, स्रोतमा पानीको उपलब्ध नहुँदा हिउँद र वसन्तमा थोरै जमिनमा मात्र सिँचाइ सुविधा पुग्छ । त्यसैले वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउन पानी बढी भएको हिमाली नदीबाट पानी नपुग भएको क्षेत्रमा डाइभर्सन गरेर पानी लैजानुपरेको सडक विभागका महानिर्देशक मधुकर राजभण्डारीले बताए । यसबाहेक जलाशयको निर्माण गरेर र भूमिगत जलस्रोतको विकास गरेर पनि सिँचाइ पुर्‍याउन सकिने विकल्प रहन्छन् । 

अहिलेसम्म भइरहेका र सम्पन्न भएका ९ काम 

१)     आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन भएको छ,  
२)     सुनकोसी–मरिन र सुनकोसी–कमला डाइभर्सनको तुलनात्मक अध्ययन गरी तत्काललाई सुनकोसी–मरिन निर्माणलाई प्राथमिकता तोकिएको छ, 
३)     वन तथा वातावरण मन्त्रालयबाट ७ माघ ०७६ मा आयोजनाको वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन स्वीकृत गरिएको छ,  
४)  हेडवक्र्स, पावरहाउस र अन्य संरचनाहरूको विस्तृत इन्जिनियरिङ अध्ययन कार्य भइसकेको छ,
५)     सिन्धुली जिल्लाको पावरहाउस र डुबान क्षेत्रको जग्गा प्राप्तिसम्बन्धी कार्य पूरा भएको छ भने रामेछाप जिल्लातर्फको डुबान क्षेत्रको जग्गाको मुआब्जा क्षतिपूर्तिको मूल्यांकनको कार्य भइरहेको छ, आयोजनाले जग्गा अधिग्रहण तथा मुआब्जा वितरणको काम गरिरहेको छ,  
६)     बिपी राजमार्ग पुनः अलाइन्मेन्ट गर्ने काम भइसकेको छ, 
७)     टनेल र सम्बन्धित संरचनाहरूको ठेक्काको कार्य अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जानकारी दिएको छ,  
८)     मरिन नदीको सिँचाइ र नदी नियन्त्रणसम्बन्धी गुरुयोजना तयारी कार्य भइरहेको छ,  
९)     सुनकोसी र तामाकोसी नदीको संरक्षण र नदी बेसिनमा सम्भाव्य सिँचाइको अध्ययन भइरहेको आयोजना प्रमुख सुशीलचन्द्र आचार्यले जानकारी दिए ।