मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ श्रावण १४ बिहीबार ०८:१७:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फ्रान्सलाई हराउँदै जापान क्वार्टरफाइनलमा 

Read Time : < 1 मिनेट
२०७८ श्रावण १४ बिहीबार ०८:१७:००

आयोजक जापानको यू–२३ फुटबल टोलीले बुधबार साँझ फ्रान्सलाई ४–० ले हराउँदै क्वार्टरफाइनल स्थान पक्का गरेको छ । ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा जापानले समूह एमा सर्वाधिक नौ अंक जोड्दै अन्तिम आठको स्थान पक्का गरेको हो ।

यस समूहबाट मेक्सिको उपविजेता हुँदै क्वार्टरफाइनलमा पुगेको छ । मेक्सिकोले ६ अंक जोडेको छ । समूह चरणबाटै बाहिरिएको फ्रान्सले तीन अंक मात्र हात पार्‍यो । प्रतिस्पर्धाको ७३औँ मिनेटमा फ्रान्स दश खेलाडीमा सीमित भयो । रान्डल मुयामीले रातो कार्ड व्यहोर्दा फ्रान्सले त्यसपछिको समयमा दश खेलाडीमा रहँदै जापानविरुद्ध प्रतिस्पर्धा गर्‍यो । 

उपाधि दाबेदार मानिएको फ्रान्सविरुद्ध जापानले पहिलो तथा दोस्रो हाफमा दुई–दुई गोल गरेको थियो । जापानका लागि टाकेफुसा कुबो, कोजी मियोसी, डाइजेन माइडा र हिरोकी सकाईले एक–एक गोल गरेका थिए । 

समूह एमै मेक्सिकोले अस्ट्रेलियालाई ३–० ले हराउँदै अन्तिम आठको स्थान सुरक्षित गरेको हो । मेक्सिकोका लागि अर्नेस्टो भेगा, हेनरी मार्टिन र लुइस रोमोले एक–एक गोल गरेका थिए । मध्यान्तरपछि मेक्सिको र अस्ट्रेलिया दश–दश खेलाडीमा सीमित भएका थिए । यसैगरी समूह डीबाट ब्राजिल क्वार्टरफाइनलमा पुगेको छ । रियो ओलम्पिक खेलकुद प्रतियोगितामा स्वर्णपदक जितेको ब्राजिल उपाधि रक्षा गर्न अग्रसर छ ।

ब्राजिलले साउदी अरेबियालाई ३–१ ले हराउँदै अन्तिम आठको स्थान पक्का गरेको हो । ब्राजिलको जितमा रिचार्लिसनले दुई गोल गरे । समूह डीमा ब्राजिलले ३ खेलमा ७ अंक हात पारेको छ । यस समूहबाट आइभरी कोस्टले अन्तिम आठमा स्थान बनाएको छ । आइभरीले ५ अंक जोड्यो । साउदी अरेबिया अंकविहीन हुँदै घर फर्कियो ।