१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
विदुर पौडेल सिन्धुली
२०७८ श्रावण १४ बिहीबार ०८:०७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सिन्धुलीमा युद्ध संग्रहालय, राष्ट्रपतिद्वारा उद्घाटन

Read Time : > 1 मिनेट
विदुर पौडेल, सिन्धुली
२०७८ श्रावण १४ बिहीबार ०८:०७:००

सिन्धुलीगढी युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । नेपाली सेनाले करिब सात करोड लगानीमा बनाएको युद्ध संग्रहालयको बुधबार राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् । 

नेपाल अंग्रेजको युद्धमा नेपालीले १८२४ सालमा विजय प्राप्त गरेको ऐतिहासिक सिन्धुलीगढीमा संग्रहालयको निर्माण गरिएको हो । उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले सिन्धुलीगढी युद्धमा हाम्रा पुर्खाहरूले देखाएको वीरता र संघर्षका कारण अहिले नेपालीले स्वतन्त्रपूर्ण जीवनयापन गर्न पाएको बताइन् । 

राष्ट्रपति भण्डारीले २५३ वर्षअघि नेपाल कब्जा गर्न आएको ब्रिटिस सेनामाथि नेपाली सेना र नेपाली नागरिकले गरेको संघर्षका कारण हामी आजसम्म नेपाल र नेपाली हुन पाएको बताइन् । संग्रहालय स्थापनाले यस क्षेत्र पर्यटकीय क्षेत्रका रूपमा विकास हुने र यसले आम्दानीको स्रोतसमेत बढ्ने उनले बताइन् । 

सिन्धुलीगढी युद्ध संग्रहालयको भवन निर्माण न्यु ड्रागन/सिद्धगढी जेभी कोटेश्वरले गरेको हो । भवनको डिजाइनर आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावट अल्टरनेट इन्फ्रास्टक्चर प्रालि धुलिखेलले गरेको हो ।

संग्रहालयमा युद्धकालीन अवस्थाका पत्रहरू, सिन्धुलीगढी युद्धको टाइम लाइन, सेनाको नजरमा युद्धको सिनारियो, सिन्धुलीगढी युद्धका डकुमेन्ट्रीहरू, चरणबद्ध युद्धका चित्रहरू, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अंग्रेजजहरूले प्रयोग गरेका तोप, नेपाली योद्धा, ब्रिटिस योद्धाहरू, नेपाली योद्धाका आर्ट तस्बिरहरू, मिथिला आर्ट, युद्धकालीन शिलालेखहरू, ऐतिहासिक दस्ताबेज, इतिहासका पुस्तकालय छन् । संग्रहालयमा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक, पृथ्वीनारायण शाहका दिव्योपदेशलाई समेत व्यवस्थित गरिएको छ ।

नेपाली सेनाको बर्दबहादुर गणले निर्माण व्यवस्थापनको जिम्मा लिएको युद्ध संग्रहालय सञ्चालनको जिम्मा भने कमलामाई नगरपालिकालाई दिइएको छ । सिन्धुलीगढी युद्ध संग्रहालयमा सुगौली सन्धिअघिको ग्रेटर नेपालको नक्सा तथा पछिल्लो चरणमा नेपाल सरकारले जारी गरेको नेपालको चुच्चे नक्सा (लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको) नक्सासमेत राखिएको छ । 

संग्रहालयको २४ कात्तिक ०७३ मा तत्कालीन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका थिए । संग्रहालयअगाडि सिन्धुलीगढी युद्धका योद्धाहरू वंशु गुरुङ, वंशराज पाण्डे, श्रीहर्ष पन्त र वीरभद्र उपाध्यायको संयुक्त सालिक निर्माण गरी प्रतिस्थापन गरिएको छ । 

असोज १८२४ मा सिन्धुलीगढीको युद्धमा काठमाडाैं कब्जा गर्न इस्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई वंशु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको थियो ।